• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

काभ्रेका बालबालिका र जनप्रतिनिधिबीच संवादः बालबालिकाले धक फुकाएर राखे आफ्ना जिज्ञासा

काभ्रेका बालबालिका र जनप्रतिनिधिबीच संवादः बालबालिकाले धक फुकाएर राखे आफ्ना जिज्ञासा

ज्ञानमणि नेपाल कालाेटाेपी
धुलिखेल, काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाका बालबालिका र जनप्रतिनिधिबीच प्रत्यक्ष संवाद गराउने उद्देश्यले ‘काभ्रेपलाञ्चोक जिल्लाका बालबालिकासँग जनप्रतिनिधि कार्यक्रम–२०८३’ सम्पन्न भएको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा बिहीबार धुलिखेल नगरपालिका सभा हलमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहका बालबालिका, जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा सरोकारवालाबीच प्रत्यक्ष संवाद भएको हो ।

जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिसस उपप्रमुख, विभिन्न पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, जनस्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख, विभिन्न पालिकाका वडाध्यक्षहरू, विद्यालयका शिक्षक तथा विद्यार्थी र पालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा बालबालिकाहरूले शिक्षा, स्वास्थ्य, बालअधिकार, स्थानीय तहका सेवा–सुविधा तथा आफूले भोगिरहेका विभिन्न समस्यासँग सम्बन्धित जिज्ञासा र सुझाव जनप्रतिनिधिसमक्ष खुलेर राखेका थिए । बालबालिकाले राखेका प्रश्न तथा जिज्ञासाको जवाफ सम्बन्धित पालिका प्रमुख तथा महिला तथा बालबालिका शाखाका प्रतिनिधिहरूले दिएका थिए ।

कार्यक्रममा जिल्ला बाल सञ्जालका अध्यक्ष आयुष न्यौपानेले सहभागीहरूलाई स्वागत गर्दै बालबालिका र जनप्रतिनिधिबीच एक–अर्काका परिपूरकका रूपमा सम्बन्ध विकास हुनुपर्नेमा जोड दिए । बालबालिकाले आफ्ना जनप्रतिनिधिलाई भेटेर आफ्ना विचार र समस्या राख्न पाउने वातावरण निर्माण गर्नुपर्ने उनको भनाइ थियो । ‘कुनै बालबालिका गरिब परिवारमा जन्मिए पनि उसका सपना गरिब हुँदैनन्,’ न्यौपानेले भने, ‘अवसर पाए उसले पनि राम्रो काम गर्न सक्छ । दौड सबैले एउटै ठाउँबाट सुरु गर्न नसकिएला, तर उद्देश्य र गन्तव्य एउटै हुनुपर्छ ।’ बालबालिकाका सवाल र समस्यामा जिल्ला बाल सञ्जाल सहयोग गर्न सदैव तयार रहेको उनले कालाेटाेपी डटकमसँग बताए ।

कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले निजी र सामुदायिक शिक्षाबीचको विभेद अन्त्य गर्दै दुवै क्षेत्रको शिक्षा समान गुणस्तरको हुनुपर्नेमा जोड दिए । उनले देशलाई ‘ठूला मान्छे’ भन्दा असल मान्छेको आवश्यकता रहेको धारणा राखे । ‘अंक बढी ल्याउनु मात्र सफल हुनु होइन,’ गौतमले भने, ‘देशले असल मान्छे खोजेको छ, ठूलो मान्छे होइन । धेरै ठूला मान्छे भएकैले देश बिग्रिएको हो ।’ उनले निदाएको मानिसलाई ब्युँझाउन सकिने तर निदाएको नाटक गर्नेलाई ब्युँझाउन नसकिने उदाहरण दिँदै बालबालिकाले शिक्षा र जीवनमा सकारात्मक सोचका साथ अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले बालबालिकाको क्षेत्रमा गरिएको लगानी कहिल्यै खेर नजाने बताइन् । उनले देशको जनसंख्याको उमेरगत तथ्याङ्क प्रस्तुत गर्दै पछिल्लो समय जन्मदर घट्दै गएकोप्रति चिन्ता व्यक्त गरिन् । बालबालिकाको अधिकार संरक्षण र विकासका लागि राज्यका सबै निकाय जिम्मेवार हुनुपर्ने बताउँदै उनले प्रशासनसँग सम्बन्धित कुनै गुनासो वा समस्या भए निर्धक्क रूपमा राख्न आग्रह गरिन् । त्यस्ता गुनासा तथा समस्या समाधानका लागि आफ्नो तर्फबाट आवश्यक सहयोग रहने उनको प्रतिबद्धता थियो ।

बालबालिका र जनप्रतिनिधिबीच प्रत्यक्ष संवादका लागि आयोजना गरिएको कार्यक्रमले स्थानीय तहमा बालबालिकाका सवाललाई नीति, योजना तथा निर्णय प्रक्रियासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने सहभागीहरूले बताएका छन् । कार्यक्रम जिल्ला समन्वय समितिमा शाखा अधिकृतका रूपमा कार्यरत ज्योति सापकोटाले सञ्चालन गरेकी थिइन् ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण २८, बिहीबार १९:२०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP