• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

सिक्रेदोभान पुलबाट यातायात सञ्चालनको तयारी, खानीखोलादेखि हेटौंडासम्मको यात्रा सहज हुने

सिक्रेदोभान पुलबाट यातायात सञ्चालनको तयारी, खानीखोलादेखि हेटौंडासम्मको यात्रा सहज हुने

खानीखोला । काभ्रेकाे खानीखोला गाउँपालिकाको केन्द्रदेखि बागमती प्रदेशको राजधानी हेटौंडा जोड्ने महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको सिक्रेदोभान पुलबाट यातायात सञ्चालनको तयारी भएको छ । बागमती नदीमाथि निर्माण गरिएको उक्त पुल सञ्चालनमा आएपछि खानीखोलाबासीलाई हेटौंडासम्मको आवागमनमा थप सहजता हुनेछ ।

पुल सञ्चालनमा आएपछि विशेषगरी तालढुंगादेखि हेटौंडासम्मको यात्रा सहज हुने अपेक्षा गरिएको छ । वर्षायाममा पानीको बहाव अत्यधिक भएका दिनबाहेक सामान्य अवस्थामा यातायात सञ्चालन गर्न सकिने भएकाले खानीखोलासँगै वर्षापछि महाभारत क्षेत्रका बासिन्दाले समेत प्रत्यक्ष लाभ लिन सक्नेछन् ।

खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले विगत चार वर्षदेखिको निरन्तर प्रयासले सार्थकता पाउन लागेको भन्दै खुसी व्यक्त गर्नुभएकाे छ । उहाँले पुल निर्माण तथा सञ्चालनका लागि सहयोग गर्ने प्रदेश सरकार, जिल्ला पूर्वाधार विकास कार्यालय (काभ्रे–मकवानपुर), प्रदेशका माननीय सदस्यहरू, छिमेकी बागमती र महाभारत गाउँपालिका, खानीखोला गाउँपालिकाका जनप्रतिनिधि तथा सम्बन्धित निर्माण कम्पनीलाई धन्यवाद दिनुभयाे ।

अध्यक्ष थिङले तालढुंगा क्षेत्रका सक्रिय युवाहरूले पुर्‍याएको सहयोगी भूमिकाको समेत प्रशंसा गर्दै आफ्ना प्रयासप्रति निरन्तर शुभेच्छा र समर्थन व्यक्त गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएकाे छ । यद्यपि पुल सञ्चालनमा आए पनि आयोजना पूर्णरूपमा सम्पन्न हुन केही काम बाँकी रहेको गाउँपालिकाले जनाएको छ । केही स्थानमा एप्रोच सडक निर्माण तथा करिब एक किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ । ठूला सवारीसाधन सहजरूपमा सञ्चालन गर्न बाटोका एक–दुई स्थानमा थप स्तरोन्नति गर्नुपर्ने अवस्था रहेको अध्यक्ष थिङले कालाेटाेपी डटकमसँग बताउनुभयाे ।

बाँकी कामसमेत छिट्टै सम्पन्न गराउन गाउँपालिकाले सम्बन्धित निकायसँग समन्वय र पहल जारी राखेको जनाएको छ । सिक्रेदोभान पुल सञ्चालनमा आएपछि लामो समयदेखि सडक तथा यातायातको सहज पहुँचको प्रतीक्षामा रहेका खानीखोलाबासीका लागि प्रदेश राजधानी हेटौंडासँगको सम्पर्क थप मजबुत हुने विश्वास गरिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ श्रावण ३१, आईतवार १४:०६
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP