सिन्धुपाल्चाेक । मेलम्ची नगरपालिकामा विपद् पूर्वसूचना तथा निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन ‘इन्स्ट्यान्ट पोर्टल’सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ । RIMES (Regional Integrated Multi-Hazard Early Warning System) को सहकार्य तथा USAID/अमेरिकी सहयोगमा आयोजित कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको अध्यक्षता रहेकाे थियाे । कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, वडा अध्यक्ष, पत्रकारलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा RIMES नेपाल कार्यक्रम प्रमुख पूजा शाक्य र RIMES थाइल्यान्ड कार्यालयका अमितप्रसाद नायकको समेत सहभागिता थियो ।
कार्यक्रममा RIMES नेपाल कार्यक्रम प्रमुख पूजा शाक्यले इन्स्ट्यान्ट पोर्टलको उद्देश्य, संरचना र प्रयोगबारे जानकारी दिँदै विभिन्न स्रोतबाट प्राप्त मौसम, जलवायु, जलविज्ञान तथा विपद्सम्बन्धी तथ्याङ्कलाई एकीकृत विश्लेषण गरी निर्णय लिन सहयोग गर्ने डिजिटल प्रणाली नै ‘Decision Support System’ भएको बताउनुभयो । उहाँका अनुसार RIMES ले एसिया र अफ्रिकाका विभिन्न देशमा पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन काम गर्दै आएको छ । नेपालमा जल तथा मौसम विज्ञान विभागले यसको अपनत्व लिएको र दक्षिण एसियामा नेपालसहित बंगलादेश, पाकिस्तान तथा श्रीलंकामा कार्यक्रम लागू गरिएको उनले जानकारी दिनुभयो ।
इन्स्ट्यान्ट पोर्टलले Numerical Weather Prediction (NWP) मोडलमार्फत मौसमको दुई सातासम्मको पूर्वानुमान उपलब्ध गराउने तथा दिनमा चार पटक पूर्वानुमान अपडेट गर्ने कार्यक्रममा जानकारी दिइयो । पोर्टलले विश्वभरबाट प्राप्त ठूलो परिमाणको मौसमसम्बन्धी तथ्याङ्कलाई विश्लेषण गरी करिब ९ किलोमिटर रिजोलुसनमा पूर्वानुमान उपलब्ध गराउने बताइएको छ ।
सफ्टवेयर डेभलपर अनुप अधिकारीले सहभागीलाई इन्स्ट्यान्ट पोर्टल कसरी प्रयोग गर्ने भन्नेबारे व्यवहारिक प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले RIMES को कार्यक्रमले सरकार तथा स्थानीय तहलाई विपद् व्यवस्थापनमा सहयोग पुगेको भन्दै यस्ता कार्यक्रमलाई नगरपालिकाले निरन्तरता दिने बताउनुभयो ।
त्यस्तै सहभागी अमरनाथ आचार्यले विपद् व्यवस्थापनको क्षेत्र निकै व्यापक र प्राविधिक भएकाले सिक्न बाँकी धेरै रहेको बताउनुभयो । विगतमा विपद् आउनुअघि सूचना प्राप्त गर्ने अवस्था कमजोर भए पनि अहिले पूर्वसूचना प्रणालीका कारण समयमै जानकारी पाउन सकिने अवस्था बनेको उहाँको भनाइ थियो ।
नगर उपप्रमुख उमा प्रधानले विपद्ले मेलम्चीलाई पटक–पटक चुनौती दिइरहेको उल्लेख गर्दै पूर्वानुमान हेरेर सम्भावित जोखिमबारे जानकारी लिन सक्ने माध्यमका रूपमा इन्स्ट्यान्ट पोर्टल उपयोगी बनेको बताउनुभयो । यद्यपि पूर्वसूचनालाई गाउँ–टोलसम्म प्रभावकारीरूपमा पुर्याउनु अझै चुनौती रहेको उहाँले बताउनुभयो ।
कार्यशालाले स्थानीय तहका अधिकारी तथा जनप्रतिनिधिको पूर्वसूचना प्रणालीसम्बन्धी क्षमता अभिवृद्धि गर्दै विपद्को जोखिम न्यूनीकरण, सूचना साझेदारी, समन्वय तथा तथ्यमा आधारित निर्णय प्रक्रियालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । कार्यक्रमको सञ्चालन मेलम्ची नगरपालिकाको विपद् शाखा प्रमुख सबुना गमालले गर्नुभएको थियो ।
प्रतिक्रिया