• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

‘बाढी प्रभावितको उद्धार र राहतमा राज्यका सबै संयन्त्र परिचालित छन्’: प्रधानमन्त्री

‘बाढी प्रभावितको उद्धार र राहतमा राज्यका सबै संयन्त्र परिचालित छन्’: प्रधानमन्त्री

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाहले बाढीपहिरो प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गर्दै प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार र राहतमा खटिएका निकायसँग प्रत्यक्ष जानकारी लिएका छन् । नुवाकोटको अवस्था अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालन गरिएको बताएका छन् । उनले अहिले सरकारको पहिलो प्राथमिकता प्रत्येक नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनु रहेको बताए ।

प्रधानमन्त्री शाहका अनुसार खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका गरी १३ हजार २ सय ९५ सुरक्षाकर्मी परिचालन भएका छन् । त्यसमध्ये नेपाल प्रहरीका ७ हजार २ सय ५०, नेपाली सेनाका ४ हजार २ सय र सशस्त्र प्रहरी बलका १ हजार ८ सय ४५ जना छन् । उद्धार तथा राहत कार्यमा नेपाली सेनाको Joint Operation Committee, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) को Quick Action Team तथा प्रधानमन्त्री कार्यालयको Rapid Action Team मार्फत निरन्तर समन्वय र अनुगमन भइरहेको प्रधानमन्त्री शाहले जानकारी दिए ।

६९ हवाई उडानबाट ३५१ जनाको उद्धार
बाढीपहिरो प्रभावित क्षेत्रमा हवाई तथा स्थलमार्गबाट उद्धार कार्य जारी रहेको छ । प्रधानमन्त्रीका अनुसार आज मात्रै ६९ वटा हवाई उडानमार्फत ३५१ जनाको उद्धार गरिएको छ । थप हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ भने निजी हेलिकप्टरलाई समेत सरकारी कमान्ड तथा समन्वय प्रणालीअन्तर्गत उद्धार र राहतमा परिचालन गरिएको छ । हवाई उद्धारमा बिरामी, गर्भवती तथा सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई प्राथमिकता दिइएको छ । रसुवा, नुवाकोट र धादिङलगायतका प्रभावित क्षेत्रमा फसेका नागरिक तथा सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा सार्ने काम पनि जारी रहेको छ । तत्काल करिब ३ हजार ५ सय जनालाई बसोबास गराउन विद्यालय तथा सार्वजनिक र सामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको छ ।

तीन जिल्लामा साढे दुई करोड राहत रकम
प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन रसुवामा १ करोड, नुवाकोटमा १ करोड र धादिङमा ५० लाख रुपैयाँ परिचालन गरिएको प्रधानमन्त्री शाहले बताए । चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस, ब्ल्याङ्केटलगायतका राहत सामग्री १० ट्रक प्रभावित क्षेत्रमा पठाइएको छ । थप खाद्य तथा गैरखाद्य सामग्री हेलिकप्टरमार्फत समेत प्रभावित क्षेत्रमा पुर्‍याउने काम भइरहेको छ। प्रभावित क्षेत्रमा अस्थायी राहत शिविर सञ्चालन गरी खाना, खानेपानी तथा आवश्यक आधारभूत सेवाको व्यवस्था गरिएको छ । नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लब तथा अन्य स्वयंसेवी संस्थाका संयन्त्र पनि उद्धार र राहतमा परिचालित छन् । रेडक्रसबाट मात्रै करिब ३० हजार जनालाई पुग्ने राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको जनाइएको छ ।

अस्पताललाई तयारी अवस्थामा राखियो
विपद् प्रभावित तथा घाइतेको उपचारका लागि स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (HEOC) सक्रिय गरिएको छ । वीर अस्पताल, ट्रमा सेन्टर, शिक्षण अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल तथा प्रहरी अस्पताललाई तयारी अवस्थामा राखिएको छ । वीर अस्पताल र ट्रमा सेन्टरमा १ सय–१ सय तथा पाटन अस्पतालमा ६० वटा आपत्कालीन शय्या तयार गरिएको छ । आवश्यकताअनुसार मेडिकल टोली, औषधि, एम्बुलेन्स तथा रक्तसञ्चार सेवा परिचालन गरिएको छ । प्रधानमन्त्री शाहले प्रभावित तथा घाइते नागरिकको निःशुल्क उपचार सुनिश्चित गरिएको बताए। ट्रमा सेन्टर, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल (TUTH) लगायतका अस्पतालबाट आवश्यक औषधि र उपकरणसहित मेडिकल टोली परिचालन गरिएको छ । धुलिखेल अस्पताललगायतका स्वास्थ्य संस्थालाई समेत तयारी अवस्थामा राखिएको छ ।

दूरसञ्चार सेवा पुनःस्थापनामा प्राथमिकता
विपद्का कारण नेपाल टेलिकमका ३८ र Ncell का ३२ गरी कम्तीमा ७० वटा टावर तथा साइट बन्द भएको प्रधानमन्त्री शाहले जानकारी दिए । प्राविधिक टोली, जेनेरेटर तथा ब्याट्री हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्‍याएर दूरसञ्चार सेवा पुनःस्थापनाको काम भइरहेको छ । प्रभावित नागरिकलाई तत्काल सञ्चार सुविधा उपलब्ध गराउन नेपाल टेलिकमले दैनिक २ जीबी डाटा, ५० एसएमएस तथा निःशुल्क भ्वाइस कल सुविधा उपलब्ध गराएको छ । Ncell ले समेत निःशुल्क भ्वाइस, डाटा तथा एसएमएस सुविधा उपलब्ध गराएको जनाइएको छ ।

सडक, पुल, विद्युत् र खानेपानी पुनःसञ्चालनमा जोड
सडक, पुल, खानेपानी, विद्युत् तथा दूरसञ्चारलगायत अत्यावश्यक पूर्वाधारको तत्काल पुनःसञ्चालनलाई सरकारले उच्च प्राथमिकता दिएको छ । सम्बन्धित मन्त्रालय, विभाग तथा निकायलाई आवश्यक जनशक्ति, उपकरण र स्रोत परिचालन गरी क्षतिग्रस्त संरचनाको क्षति मूल्यांकन तथा पुनःसञ्चालनको काम तीव्र बनाउन निर्देशन दिइएको प्रधानमन्त्री शाहले बताए । नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा OPGW तथा विद्युत् संरचनाको पुनःस्थापनाको काम अघि बढाइएको छ। उद्धार तथा राहत कार्यमा प्रत्यक्ष सहयोग पुर्‍याउने संरचनालाई प्राथमिकताका साथ पुनःसञ्चालन गरिँदैछ ।

इन्धनको अभाव हुन नदिने व्यवस्था
प्रभावित क्षेत्रमा इन्धनको अभाव हुन नदिन आवश्यक व्यवस्था गरिएको छ । नुवाकोटका भैरवी, सूर्यमती तथा पञ्चकन्या आयल स्टोरमा डिजल २३ हजार लिटर र पेट्रोल ६ हजार लिटर मौज्दात रहेको जनाइएको छ । त्यसैगरी आज थप १५ हजार लिटर डिजल र १५ हजार लिटर पेट्रोल पठाइएको छ । हवाई इन्धन ८ हजार लिटर मौज्दात रहेकोमा थप ९ हजार लिटर पठाइएको प्रधानमन्त्री शाहले जानकारी दिए ।

ड्रोनबाट क्षतिको मूल्यांकन
प्रभावित क्षेत्रको वास्तविक अवस्था र क्षतिको यथार्थ विवरण संकलन गर्न ड्रोन सर्वेक्षण तथा स्थलगत मूल्यांकन भइरहेको छ । फसेका नागरिक, अवरुद्ध सडक तथा पहुँचको अवस्था पहिचान गरी उद्धार र राहतलाई थप लक्षित र प्रभावकारी बनाउने प्रयास भइरहेको छ । सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । भोटेकोशी तथा त्रिशूली नदीको बहाव, सम्भावित पहिरो तथा अन्य जोखिमको निरन्तर निगरानी भइरहेको जनाइएको छ । रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनका जोखिमयुक्त नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग परिचालन
उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य संस्था, रेडक्रस, स्वयंसेवी संस्था तथा विकास साझेदारबीच निरन्तर समन्वय भइरहेको प्रधानमन्त्री शाहले बताए । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय तहलाई आवश्यकता पहिचान गरी तत्काल प्रतिकार्य गर्न निर्देशन दिइएको छ । विपद्का कारण मृत्यु भएका व्यक्तिका परिवारलाई प्रचलित कानूनबमोजिम आर्थिक सहायता उपलब्ध गराउने तथा मृतकको पहिचान र शव व्यवस्थापनलाई व्यवस्थितरूपमा अघि बढाइएको पनि प्रधानमन्त्रीले जानकारी दिए ।

विपद्पछिको राहत तथा पुनःस्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग परिचालन भइरहेको छ । भारतबाट राहत सामग्री प्राप्त भएको तथा अमेरिका, युरोपेली संघ (EU), विश्व स्वास्थ्य संगठन (WHO), अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (IFRC) लगायतका अन्तर्राष्ट्रिय साझेदारसँग आवश्यक सहयोग र समन्वय भइरहेको जनाइएको छ । प्रधानमन्त्री शाहले निजी क्षेत्र तथा नागरिकस्तरबाट प्राप्त सहयोगलाई समेत एकीकृत रूपमा परिचालन गरिरहेको बताए ।

‘हामी अहिले पनि काममै छौँ’
प्रधानमन्त्री शाहले अबको सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई तत्काल राहत, सुरक्षित बसोबास तथा क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको शीघ्र पुनःस्थापनामा केन्द्रित रहेको बताए । उनले उद्धार तथा राहत कार्यका लागि आवश्यक स्रोत र साधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै भने, “हामी अहिले पनि काममै छौँ । यो संकटको घडीमा सरकार प्रभावित नागरिकसँगै छ । उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन् ।”



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र ११, बिहीबार २०:२२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP