सिन्धुपाल्चाेक । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाले आर्थिक सहयोग गर्ने भएका छन् । मेलम्ची नगरपालिकाका जनप्रतिनिधि, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, विद्यालय कर्मचारीलगायत नगरपालिकासँग सम्बन्धित कर्मचारीको तीन दिन बराबरको तलब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।
रसुवाको भोटेकोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायतका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । सरकारले समेत प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा सहयोग गर्न अपिल गरेको छ । विपद्को यस घडीमा प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकासँग सम्बन्धित सम्पूर्ण कर्मचारीको तीन दिन बराबरको तलब सहयोग गर्न लागिएको नगर प्रमुख तामाङले बताउनुभयो ।
इन्द्रावतीले बाढी पीडितका लागि १० लाख रुपैयाँसहित १ दिनको पारिश्रमिक सहयोग गर्ने
यस्तै रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूका लागि सिन्धुपाल्चाेककै इन्द्रावती गाउँपालिकाले पनि १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले बिहीबार (२०८३ भाद्र ११ गते) एक प्रेस विज्ञप्ति जारी गर्दै २०८३ भाद्र १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण भएको अकल्पनीय जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सहयोगको घोषणा गरेको हो ।
विज्ञप्ति अनुसार गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट नगद १० लाख रुपैयाँ उपलब्ध गराइनेछ । यसका साथै इन्द्रावती गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक तथा विद्यालय कर्मचारीहरूका तर्फबाट १ दिनको पारिश्रमिक बराबरको रकम राहत कोषमा सहयोग गर्ने निर्णय भएको छ । विज्ञप्तिमा बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरिएको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ता नागरिकहरूको तत्काल खोजी तथा उद्धारका लागि सम्बन्धित पक्षसँग अनुरोध गरिएको छ ।
विपद्को यस कठिन समयमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार, राहत तथा पुनस्थापनाका लागि सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संघ–संस्था, सामाजिक अभियन्ता, निजी क्षेत्र र आम नागरिकलाई एकजुट हुन इन्द्रावती गाउँपालिकाले हार्दिक अपिलसमेत गरेको छ ।
प्रतिक्रिया