सिन्धुपाल्चाेक । रसुवा, नुवाकोट लगायत क्षेत्रमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारका लागि फ्रेण्ड्स अफ हिमालयन चिल्ड्रेनले करिब २३ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ ।
संस्थाले रसुवाको धुन्चे, त्रिशूली र बेत्रावती क्षेत्रमा पुगेर बाढी प्रभावित परिवारलाई दाल, चामल, सोलार तथा विभिन्न किसिमका भाँडाकुँडालगायत आवश्यक सामग्री वितरण गरेको हो । विपद्का कारण दैनिक जीवन प्रभावित भएका परिवारलाई तत्काल आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले राहत वितरण गरिएको संस्थाका अध्यक्ष अनिल तामाङले जानकारी दिनुभयो ।
राहत वितरण कार्यक्रममा फ्रेण्ड्स अफ हिमालयन चिल्ड्रेन, अस्ट्रेलियाका अध्यक्ष सोम तामाङको समेत उपस्थिति रहेको थियो । उहाँसहित संस्थाका प्रतिनिधिहरूले प्रभावित परिवारसँग प्रत्यक्ष भेट गरी उनीहरूको अवस्था बुझ्दै राहत सामग्री हस्तान्तरण गर्नुभएको थियो ।
संस्थाले लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएको र विभिन्न समयमा आइपर्ने प्राकृतिक विपत्ति तथा मानवीय संकटमा समेत सहयोग गर्दै आएको संस्थाका कुमार तामाङले बताउनुभयो । बालबालिकाको शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर काम गर्दै आएको संस्थाले विपद्को समयमा पनि पीडित नागरिकको दुःखमा साथ दिने प्रयास गर्दै आएको उहाँको भनाइ छ ।
विपद्को समयमा प्रभावित परिवारलाई सहयोग गर्नु मानवीय दायित्व भएकाले आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोग र सेवाका कार्यक्रमलाई निरन्तरता दिइने संस्थाले जनाएको छ ।
प्रतिक्रिया