काभ्रे । पनौती नगरपालिका–५, धनेश्वरका सुन्दर थापाको निधनपछि उहाँकी एक मात्र छोरी समीक्षा थापाले बुबाको काजकिरिया (१० किरिया) गरिरहनुभएको छ । छोरीले नै बुबाको काजकिरिया गरेसँगै उहाँको यो कदमले समाजमा छोरा र छोरी समान हुन् भन्ने महत्वपूर्ण सन्देश दिएको छ ।
समीक्षाले बुबाको निधनपछि आफैँ काजकिरियामा सहभागी भएर छोरी पनि आमाबुबाको समान सन्तान हुन् भन्ने व्यवहारिक सन्देश दिनुभएको छ । उहाँको यस कदमले छोरा र छोरीबीच गरिने विभेदकारी सोच तथा रूढीवादी मान्यतालाई पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।
परम्परागत रूपमा नेपाली समाजमा अभिभावकको काजकिरिया छोरा वा पुरुष सन्तानले मात्र गर्नुपर्ने मान्यता रहँदै आएको छ । तर समयसँगै समाजको सोच, आवश्यकता र चेतनामा परिवर्तन हुँदै गएकाले यस्ता परम्परालाई पनि सकारात्मक रूपमा परिमार्जन गर्दै लैजानुपर्ने आवाज उठ्दै आएको छ ।
संस्कार र संस्कृति समाजको पहिचानसँग जोडिएका महत्वपूर्ण पक्ष हुन् । पुस्तौँदेखि चलिआएका परम्पराको संरक्षण गर्दै समय, परिस्थिति र सामाजिक आवश्यकता अनुसार त्यसमा सकारात्मक परिवर्तन गर्नु पनि समाजको दायित्व हो । सन्तानले चाहेमा छोरीले पनि आफ्ना आमाबुबाको काजकिरिया गर्न सक्छिन् भन्ने मान्यतालाई स्वीकार गर्दै लैजान सके यसले लैङ्गिक समानताको व्यवहारिक आधार बलियो बनाउने देखिन्छ ।
समीक्षाका बुवा सुन्दर थापाको भदौ २८ गते असामयिक निधन भएको हो । उहाँको निधनले परिवार, आफन्त तथा शुभेच्छुकहरूलाई दुःखी बनाएको छ । दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजन तथा आफन्तहरूले शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरेका छन् । समीक्षाको यो कदमलाई सामाजिक रूपान्तरण र समानताको सकारात्मक प्रयासका रूपमा लिँदै उहाँलाई साथ, सहयोग र हौसला प्रदान गर्नुपर्नेमा स्थानीय तथा शुभेच्छुकहरूले जोड दिएका छन् ।तस्बीरः जिएन सापकाेटा
प्रतिक्रिया