• २०८३ भाद्र १५ | Mon, 31 Aug 2026

मिथिलामा छठ पर्वकाे चहलपहल सुरु

मिथिलामा छठ पर्वकाे चहलपहल सुरु

जनकपुरधाम । आजदेखि मिथिलामा औपचारिकरूपमा छठ पर्व सुरु भएको छ। मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ। यहाँ रहेका गङ्गासागर, अरगजासर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरीलगायतमा सजावटको काम भइरहेको हाे।

यो वर्ष प्रतिअर्घ्य ६०० रुपैंयाँ निर्धारण गरिएको छ । गङ्गासागरको घाटमा अहिले पण्डाल लगाउने काम अन्तिम चरणमा रहेको छ भने झिलीमिली बत्तीको काम बाँकी रहेको छ। गङ्गासागरमा तीन वटा समितिले सजावटको काम गर्ने गरेको छ । यस पोखरीमा हिन्दूहरू मात्र नभई मुस्लिम समुदायका पनि केही व्यक्तिहरू रहने गरेका छन् ।

शान्ति सुरक्षाका लागि प्रहरीसँग पनि समन्वय गरिएको छ। यस पोखरीमा पाँच हजारभन्दा बढी अर्घ्य रहने गरेको र यो प्रत्येक वर्ष बढ्ने गरेको छ। मिथिलाञ्चल क्षेत्रमा मनाइने पर्वहरू पूर्णरूपले घरेलु उत्पादनमा निर्भर रहेकाले आफ्नै खेतबारीमा उत्पादन गरेको गहुँ, चामललगायतको व्यवस्था गरेर त्यसलाई धोइ पखालेर आफ्नै घरमा रहेको जाँतोमा पिसेर त्यसको पिठोबाट छठको सामग्रीहरू बनाउने गरिन्छ ।

त्यस्तै, यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्नेहरूको बजारमा भीड लागेको छ । जनकपुरधामको बजारहरूमा बाँसबाट र माटोबाट बनेको सामग्रीहरू जताततै बिक्री भइरहेको छ । छठपर्वमा बाँस तथा माटोबाट बनेको सामानहरू शुद्ध मानिने भएकोले यसको माग अहिले बजारमा बढेको छ। मिथिलानीहरू अहिले माटोबाट बनेको घैँटो, हात्ती त्यस्तै बाँसबाट बनेको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपतीलगायतको सामान किन्नमा व्यस्त छन् ।

चार दिनसम्म मनाइने छठपर्व भोलिदेखि औपचारिकरूपमा सुरु हुँदैछ । चार दिनको यस पर्वमा बर्तालुले दुई दिन बिना अन्नपानीको भोकै बस्नु पर्दछ । यस पर्व अन्तर्गत पहिलो दिन आज ‘नहाय–खाए’ हुनेछ । दोस्रो दिन आइतबार दिनभरि उपवास बसी रातिमा ‘खीर’ बनाई देउतालाई चढाएर खानेछन्। यस विधिलाई ‘खरना’ भनिन्छ।

त्यस्तै, मूल दिन सोमबार ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नको पिठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हात्ती, सूप, कनसुपती, कलशसहितको घैँटोलगायत सामग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अर्घ्य दिइन्छ । यस्तै, छठपर्वको अन्तिम दिन मङ्गलबार बिहानपख उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर पर्वको समापन गरिनेछ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक ८, शनिबार ०३:१३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP