काठमाडौं । आफ्ना दिवंगत पितृलाई सम्झँदै श्रद्धा, तर्पण र पिण्डदान गर्ने सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि सुरु भएको छ । आश्विन कृष्णपक्षको प्रतिपदादेखि औँसीसम्म मनाइने सोह्रश्राद्ध यस वर्ष असोज ११ गते आइतबारदेखि सुरु भएर असोज २४ गते शनिबारसम्म चल्नेछ। हिन्दू धार्मिक परम्परामा पितृप्रति श्रद्धा व्यक्त गर्ने विशेष समयका रूपमा सोह्रश्राद्धलाई लिइन्छ। आश्विन कृष्णपक्षमा पर्ने विभिन्न तिथिअनुसार दिवंगत आफन्तको श्राद्ध गर्ने परम्परा रहेकाले यसलाई महालय श्राद्ध पनि भनिन्छ। ‘श्राद्ध’ शब्दले नै श्रद्धापूर्वक गरिने कर्म भन्ने अर्थ दिने धार्मिक ग्रन्थहरूमा उल्लेख छ। तिथिका आधारमा श्राद्ध गरिने भएकाले यसको सुरुवात र अन्त्य हुने मिति हरेक वर्ष एउटै हुँदैन।
पितृलाई सम्झने विशेष समय
धार्मिक मान्यताअनुसार सोह्रश्राद्धका समयमा दिवंगत आफन्त तथा पूर्वजप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने गरिन्छ। सङ्ग्रह ग्रन्थमा पिता, पितामह, माता, पितामही, प्रपितामही, सौतेनी आमा, मातामह, प्रमातामहलगायत परिवारका विभिन्न दिवंगत सदस्यलाई पितृका रूपमा स्मरण गरी महालय श्राद्ध तथा तर्पण गर्ने उल्लेख गरिएको छ। यसैगरी गुरु, शिष्य तथा आफ्ना अन्य आप्तजनलाई समेत पितृदेवताका रूपमा सम्झने धार्मिक परम्परा रहेको छ। धार्मिक विश्वासअनुसार कुशे औँसीदेखि नै पितृहरू आफ्ना सन्तानबाट तर्पण, जल तथा पिण्ड प्राप्त हुने प्रतीक्षामा रहने र सोह्रश्राद्धका समयमा गरिने कर्मबाट उनीहरूलाई तृप्ति मिल्ने विश्वास गरिन्छ।
कुन तिथिमा कसको श्राद्ध ?
सोह्रश्राद्धमा दिवंगत व्यक्तिको मृत्यु भएको तिथिअनुसार श्राद्ध गर्ने परम्परा छ। शुक्ल वा कृष्ण जुन पक्षमा मृत्यु भएको भए पनि सम्बन्धित तिथिमै श्राद्ध गर्ने चलन छ। धार्मिक परम्पराअनुसार कुमार अवस्थामा मृत्यु भएका व्यक्तिको पञ्चमी तिथिमा श्राद्ध गर्ने गरिन्छ। आश्विन कृष्णपक्षको नवमीलाई मातृ नवमी भनिन्छ। आमालगायत दिवंगत महिला आफन्तको श्राद्धका लागि मातृ नवमीलाई विशेष मानिन्छ। संन्यास लिएका पूर्वजको श्राद्ध एकादशी वा द्वादशीमा गर्ने परम्परा छ। त्यस्तै रुखबाट लडेर, चट्याङ लागेर, पानीमा डुबेर, आगलागी, विष सेवन, जङ्गली जनावरको आक्रमण, दुर्घटना वा अस्त्र–शस्त्रबाट मृत्यु भएकाहरूको श्राद्ध चतुर्दशीमा गर्ने धार्मिक मान्यता छ। कुन तिथिमा मृत्यु भएको हो भन्ने जानकारी नभएका पितृका लागि औँसीमा श्राद्ध गर्ने चलन रहेको छ।
सोह्रश्राद्धमा खानपान र आचरण
धार्मिक परम्पराअनुसार सोह्रश्राद्धको अवधिमा सात्त्विक भोजनलाई प्राथमिकता दिने गरिन्छ। मांसाहार, मदिरालगायत तामसी भोजन त्यागेर शुद्ध र सात्त्विक आहार ग्रहण गर्ने परम्परा छ। पितृको तिथि नआउँदासम्म संयमित जीवनशैली अपनाउने, नियमित स्नान गर्ने तथा व्यक्तिगत सरसफाइमा ध्यान दिने चलनसमेत रहेको छ। श्राद्धको दिन विशेष शुद्धता र संयम अपनाउनुपर्ने धार्मिक मान्यता छ। श्राद्ध कर्म पूरा नहुँदासम्म तेल लगाउन नहुने, अरूको अन्न ग्रहण नगर्ने तथा विभिन्न प्रकारका विलासिताका वस्तुबाट टाढा रहनेजस्ता परम्परागत नियमसमेत उल्लेख गरिएको पाइन्छ।
रामायणसँग जोडिएको पितृकार्यको प्रसङ्ग
पितृकार्यको महत्त्वसँग जोडेर धार्मिक कथाहरूमा भगवान् रामको प्रसङ्गसमेत उल्लेख गरिएको पाइन्छ। धार्मिक ग्रन्थमा पिता दशरथको निधनको खबर पाएपछि भगवान् रामले पुष्कर क्षेत्रमा पुगेर पितृका लागि श्राद्ध गरेको र ऋषिमुनिहरूलाई भोजन गराएको प्रसङ्ग आउने गर्दछ। पितृप्रतिको श्रद्धा र कर्तव्यलाई महत्व दिने हिन्दू धार्मिक संस्कारमा यस्ता प्रसङ्गहरूले श्राद्धलाई केवल कर्मकाण्डका रूपमा नभई पूर्वजप्रतिको स्मरण, श्रद्धा र पारिवारिक संस्कारसँग जोडिएको परम्पराका रूपमा प्रस्तुत गर्छन्।
परम्परासँगै बदलिँदो अभ्यास
सोह्रश्राद्ध धार्मिक संस्कारसँगै पुस्तौँदेखि चलिआएको पारिवारिक तथा सांस्कृतिक परम्परा पनि हो । पछिल्लो समय यसको विधि र अभ्यासमा ठाउँ, समुदाय तथा परिवारअनुसार केही फरकपन देखिए पनि पितृलाई सम्झने र उनीहरूप्रति श्रद्धा व्यक्त गर्ने मूल भावना भने निरन्तर रहेको छ। आजदेखि सुरु भएको सोह्रश्राद्ध अवधिमा देशभरका विभिन्न तीर्थस्थल तथा नदी किनारमा पितृको सम्झनामा तर्पण, पिण्डदान र श्राद्ध गर्ने श्रद्धालुको उपस्थिति बढ्ने गर्दछ ।
प्रतिक्रिया