चौतारा । आर्थिक ऐन २०८३ ले विभिन्न क्षेत्रमा दिएको कर छुट तथा सहुलियतबारे जानकारी पाएपछि सिन्धुपाल्चोकका उद्योगी तथा व्यवसायी उत्साहित भएका छन् । करसम्बन्धी व्यवस्था, छुट तथा सहुलियतबारे जानकारी गराउने उद्देश्यले चौतारामा करदाता शिक्षा कार्यक्रम आयोजना गरिएको हो । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको समन्वयमा आन्तरिक राजस्व कार्यालय धुलिखेलले चौतारामा रहेको राजस्व कार्यालयको शाखा कार्यालयमा करदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा चौतारा तथा आसपासका क्षेत्रका उद्योगी, व्यवसायी तथा करदाताको सहभागिता रहेको थियो ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय धुलिखेलका निमित्त प्रमुख कर अधिकृत लक्ष्मण ढुंगानाले करसम्बन्धी विद्यमान व्यवस्था, सहुलियत तथा करदाताले पालना गर्नुपर्ने प्रक्रियाबारे जानकारी गराए । उनले उद्योग वाणिज्य संघसँगको समन्वयमा करसम्बन्धी नयाँ व्यवस्था र सहुलियतबारे व्यवसायीलाई नियमितरूपमा जानकारी गराउनुपर्नेमा जोड दिए । उनले आर्थिक ऐनले प्रदान गरेका सहुलियत तथा सुविधाको समयमै उपयोग गर्न आग्रह गर्दै पुस मसान्तसम्म उपलब्ध हुने सहुलियत सेवाबारे आफ्ना सदस्य तथा व्यवसायीलाई आवश्यक सूचना प्रवाह गर्न कार्यक्रममा सहभागीलाई आग्रह गरे ।
कर प्रशिक्षक टीकाराम शर्माले स्थायी लेखा नम्बर (पान) दर्ता, राजस्व दाखिला, पान खारेजी तथा आर्थिक ऐन २०८३ मा व्यवस्था गरिएका कर छुट र सहुलियतका विषयमा प्रशिक्षण दिएका थिए । करसम्बन्धी प्रक्रिया र कानुनी व्यवस्थाबारे समयमै जानकारी राख्दा व्यवसायीलाई अनावश्यक झन्झट तथा जरिवानाबाट बच्न सहयोग पुग्ने उनले बताए । कार्यक्रममा उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय सिन्धुपाल्चोकका कार्यालय प्रमुख त्रिपुरारी बखरेलले सिन्धुपाल्चोकमा सवारी साधनको लाइसेन्स दर्ताबाहेक कार्यालयबाट हुने अन्य अधिकांश सेवा उपलब्ध गराउने गरी बागमती प्रदेश सरकारले संगठन तथा व्यवस्थापन (ओएनएम) तयार गरेको जानकारी दिए । यसले जिल्लाका सेवाग्राहीलाई प्रदेशस्तरीय सेवा लिन अन्यत्र जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको उनले बताए ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका उपाध्यक्ष उजारसिंह तामाङले संघले आयोजना गर्ने कार्यक्रमलाई व्यवसायीले सक्रियता र चासोका साथ लिनुपर्ने बताए । व्यवसायीका समस्या समाधान तथा आवश्यक जानकारी उपलब्ध गराउन संघले सम्बन्धित निकायसँग समन्वय गर्दै आएको उनको भनाइ थियो । उनले संघले समय–समयमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्यसूची निर्धारण तथा सार्वजनिक गर्दै आएको उल्लेख गर्दै संघले उपलब्ध गराएको मूल्यसूचीमा आवश्यक परिवर्तन गर्नुपरेमा सम्बन्धित व्यवसायीले संघसँग परामर्श गरेर मात्र मूल्य कायम गर्न आग्रह गरे ।
उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य कुमार थापाले सहजीकरण गरेको कार्यक्रममा संघका सल्लाहकार रविन गौतमले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा चौतारा बहुमुखी क्याम्पसका पूर्वप्रमुख नगेन्द्रप्रसाद दंगाल, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका कार्यालय प्रमुख ईश्वरीप्रसाद चालिसे, साना तथा मझौला व्यवसायी महासंघ सिन्धुपाल्चोकका अध्यक्ष हरिकुमार श्रेष्ठ, सिन्धुपाल्चोक फुटबल संघका अध्यक्ष अमृतमान श्रेष्ठलगायत उद्योग तथा व्यवसायिक फर्मका प्रतिनिधि र करदाताको सहभागिता रहेको थियो।
प्रतिक्रिया