• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

बडा दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिंदै

बडा दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिंदै

काठमाडौँ । बडा दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदैछ । घटस्थापना गरेसँगै देवीका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा अनुसार आज चन्द्रघण्टाको पूजा गर्न लागिएको हो ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ । चन्द्रघण्टाको पूजा आराधनाले साधकमा वीरता र निर्भयताको साथमा सौम्यता र विनम्रताको विकास हुने धार्मिक विश्वास छ ।

चन्द्रघण्टालाई पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रघण्टा देवीको शीरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो देखिने हुँदा यी देवीलाई चन्द्रघण्टा भनिएको धर्मशास्त्रहरुमा उल्लेख छ । उनी क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी प्रवृत्ति नास गर्न र सज्जनको रक्षा गर्न अवतरण गरेको श्रीमददेवीभागवत लगायतका ग्रन्थमा उल्लेख छ ।

यसैबीच दशैंको तेस्रो दिन आज पनि देवी मन्दिरहरुमा पूजा गर्नेहरुको भीड लागेको छ । राजधानीभित्र गुह्येश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभा भगवती, तलेजुभवानी, विजेश्वरी, नक्साल भगवती, भद्रकाली, इन्द्रायणीसहितका मन्दिरहरुमा दर्शनार्थीहरूको पूजा गर्नेहरुको चहलपहल छ ।

उपत्यका बाहिर धरानको दन्तकाली, भोजपुरको सिद्धकाली, ताप्लेजुङको पाथिभरा, गोरखाको मनकामना, काभ्रेकाे चण्डेश्वरी र पलाञ्चाेक भगवतीलगायतका शक्तिपीठहरुमा पनि भक्तजनहरुको घुइँचो छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ आश्विन २७, मंगलवार ०६:३१
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP