बनेपा । शब्दयात्रा प्रकाशनले सञ्चार क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै कालोटोपी डटकमलाई २०८३ सालको ‘शब्दयात्रा हरिगोपाल प्रधान कदरपत्र’ प्रदान गर्ने भएको छ । शब्दयात्रा प्रकाशनले आगामी कात्तिक १४ गते शनिबार दिउँसो १२ः३० बजे आफ्नो सभाकक्षमा आयोजना गर्ने कार्यक्रममा कदरपत्र समर्पण गर्ने जनाएको छ । कर्पोरेट खबर डटकमका संस्थापक सम्पादक उज्ज्वलजङ्ग पराक्रम शाह र बिजनेस पोस्ट डटकमका सम्पादक तथा आर्थिक लेखक रिसब गौतम पनि उक्त कदरपत्रबाट सम्मानित हुने भएका छन् ।
काभ्रे जिल्लालाई केन्द्रमा राखेर स्थानीयदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार सामग्री प्रकाशन गर्दै आएको कालोटोपी डटकमले छोटो समयमै जिल्लाको सञ्चार क्षेत्रमा आफ्नो फरक पहिचान बनाएको छ । गत वर्ष भदौ १६ गतेदेखि सञ्चालनमा आएको यस अनलाइनले काभ्रे, सिन्धुपाल्चोक, काठमाडौंलगायत देश तथा विदेशका समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्दै आएको छ ।
कालोटोपी डटकमले समसामयिक, सामाजिक, आर्थिक, मनोरञ्जन, खेलकुद, साहित्य, सहकारी, कृषि तथा विविध क्षेत्रका घटनाक्रमलाई पाठकमाझ पुर्याउँदै आएको छ । विशेषगरी स्थानीय समुदायका विषय, आम नागरिकका समस्या र भूईंमान्छेका आवाजलाई प्राथमिकता दिँदै आएको यस अनलाइनले छोटो अवधिमै पाठकमाझ विश्वास र लोकप्रियता हासिल गर्ने प्रयास गरिरहेको छ ।
कालोटोपी डटकमका सञ्चालक तथा सम्पादक ज्ञानमणि नेपाल कालोटोपी (ज्ञानेन्द्र नेपाल) हुन् । काभ्रेको मण्डनदेउपुर नगरपालिका–१० स्थायी ठेगाना भएका नेपाल हाल बनेपामा बसोबास गर्दै आएका छन् । पत्रकारितामार्फत समाजका विविध विषय उजागर गर्ने, स्थानीय आवाजलाई स्थान दिने र पाठकलाई समसामयिक सूचना उपलब्ध गराउने उद्देश्यसहित अघि बढिरहेको कालोटोपी डटकमले आफ्नो योगदानको कदर गर्दै कदरपत्र प्रदान गर्न लागेकोमा शब्दयात्रा प्रकाशनप्रति आभार व्यक्त गरेको छ ।
साहित्य, भाषा, संस्कृति र समाजका विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको शब्दयात्रा प्रकाशन स्थापना भएको १५ वर्ष पुगेको छ । यस अवधिमा संस्थाले सयौँ व्यक्ति तथा संस्थालाई सम्मान र पुरस्कृत गरिसकेको छ । आगामी दिनमा पनि यस्ता सम्मानका कार्यक्रमलाई निरन्तरता दिइने संस्थाका अध्यक्ष हरि मञ्जुश्रीले जानकारी दिएका छन् । सञ्चार माध्यमको योगदानको सम्मान गर्ने यस्ता कार्यक्रमले पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार, व्यावसायिक र जनमुखी बनाउन प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया