भकुण्डेवेँशी । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काभ्रे क्षेत्र नं १ का उम्मेदवार एवं नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सचिव गुणराज मुक्तानले शिक्षा क्षेत्रका सवाल सशक्तरुपमा उठाउन आफू उपयुक्त पात्र भएको बताएका छन् ।
नेपाल शिक्षक संघ नमोबुद्ध नगर कार्यसमितिको सातौं प्रतिनिधी सभा, प्रतिनिधी सभा सदस्य उम्मेदवारसँग शैक्षिक अन्तरक्रियासहितको कार्यक्रममा बोल्दै उनले शिक्षक हकहित र शिक्षा क्षेत्रका सवालहरु आफूले संसदमा जोडदार उठाउने भएकाले विजयी गराइदिन अनुरोध गरे ।
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्षसमेत रहेका मुक्तानले विद्यालय, विद्यार्थी, शिक्षक, शिक्षा क्षेत्रका समस्याबारे आफू जानकार भएको भन्दै संसदमा प्रतिनिधित्व हुन सके ती सवालले प्राथमिकता पाउने बताए ।
नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले आफूले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको भन्दै त्यसले नतिजा सुधार भएको बताए ।
कार्यक्रममा रोशी गाउँपालिका अध्यक्ष एवं नेपाली कांग्रेस प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति दिनेश लामाले स्थानीय सरकारको कार्यक्षेत्रमा शिक्षा परेपछि सिमित श्रोतका बाबजुद स्थानीय तहले काम गरिरहेको बताए ।

नेपाल शिक्षक संघ संघीय कार्यसमितिका उपममहासचिव एवं प्रवक्ता नारायणप्रसाद तिमल्सिनाले नेपाली कांग्रेस सरकारमा हुँदा शिक्षकका मागहरु केही सम्बोधन भएको तर्क गर्दै शिक्षा क्षेत्रको पक्षमा काम गर्न जनप्रतिनिधीहरुलाई अनुरोध गरे ।
कार्यक्रममा नेपाल शिक्षक संघ वाग्मती प्रदेशका महासचिव राजेशराज महत, काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिका अध्यक्ष शम्भुप्रसाद घिमिरे, सचिव दिलकुमार लामा, संघीय प्रतिनिधी किशोर अधिकारी, तेमाल अध्यक्ष ग्याञ्जा लामा, रोशी अध्यक्ष सुवर्ण राय, नमोबुद्ध नगर कार्यसमितिका अध्यक्ष दिनेशप्रसाद अधिकारी, उपाध्यक्ष बिमल खनाल, सचिव रमेशप्रसाद न्यौपाने लगायतले शिक्षकका हकहितका लागि स्थानीय सरकार र जनप्रतिनिधीहरुले नीति, योजना र कार्यक्रम तर्जुमा गर्नुपर्ने बताए ।
प्रतिक्रिया