भूमिका : गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन परिणामलाई केवल जुनकुनै राजनीतिक दल या बिचारको हार या जीतको सामान्य राजनीतिक घटनाका रूपमा मात्रै बुझ्नु पर्याप्त हुँदैन । चुनाव कुनै एक दिनको प्रक्रिया भए पनि त्यसको परिणाम समाजभित्र लामो समयदेखि सञ्चित राजनीतिक व्यवहार, आर्थिक संरचना, सामाजिक अपेक्षा र नयाँ पुस्ताको मनोविज्ञानको संयुक्त अभिव्यक्ति हो । जहाँ तत्कालीन प्रमुख दलहरूको व्यवहार र संगठनात्मक अवस्था मात्र होइन, नेपाली समाजभित्र भइरहेको गहिरो सामाजिक, राजनीतिक र मनोवैज्ञानिक परिवर्तनलाई पनि प्रतिबिम्बित गर्दछ । यस दृष्टिले हेर्दा निर्वाचन परिणाम वास्तवमा वर्तमानमा विद्यमान समाजले राजनीतिक शक्तिहरूलाई दिएको एउटा त्यो सन्देश हो कि – के बदलिनुपर्छ? के सुधारिनुपर्छ ? र भविष्यको बाटो कता जान सक्छ ?
अर्को कुरा, निर्वाचन समीक्षा पुराना राजनीतिक दलको हकमा केवल संगठनात्मक कमजोरी, चुनावी रणनीति वा आन्तरिक र बाह्रय तालमेल वा गठबन्धनको गणितमा एकांकी समीक्षामा मात्र सीमित रहनु हुँदैन । यसलाई समाजको बदलिएको संरचना, विश्व राजनीतिक परिवेश, डिजिटल युगको प्रभाव र राजनीतिक विचारधारात्मक संकटसँग जोडेर पनि हेर्न आवश्यक छ।
यसर्थ नेपालको वर्तमान राजनीतिक अवस्थालाई बुझ्न एउटा रूपक उपयोगी हुन्छ—रोग र उपचारको रूपक । अहिले देखिएको निर्वाचन परिणाम वास्तवमा लक्षण हो; वास्तविक रोग अझ गहिरो छ । यदि रोगको सही पहिचान नगरी लक्षण मात्र उपचार गर्ने प्रयास गरियो भने समस्या समाधान होइन, अझ जटिल बन्न सक्छ।
१. निर्वाचन समीक्षा: लक्षण र वास्तविक रोग
निर्वाचनपछि आफूमा अपेक्षाकृत परिणाम नआएपछि सबै दलभित्र हुने अधिकांश समीक्षा प्राय संगठनात्मक प्रश्नमा केन्द्रित हुने गर्छ । जस्तै: कहाँ संगठन कमजोर थियो ? कसले चुनावमा सक्रिय भूमिका खेल्यो या खेलेन ? कहाँ तालमेल सफल वा असफल भयो ? कहाँ उम्मेदवार चयनमा गलत या ठिक भयो ? निर्वाचनसम्बन्धी प्राविधिक काम, नेतृत्व र कार्यविभाजन भयो या भएन ? वास्तवमा यी सबै प्रश्नहरू महत्त्वपूर्ण छन्, तर यी प्रायः समस्याको सतह मात्र हुन् । वास्तविक प्रश्न भनेको यो हो कि – किन लामो समयदेखि विद्यमान राजनीतिक आन्दोलन र परिवर्तनको नेतृत्व गरेका दलहरूलाई जनताले विकल्पको रूपमा हेरेनन ? र एकाएक रास्वपा जस्तो राजनीतिक दल र नेतृत्व अगाडि आयो ।
राजनीतिक विज्ञानको दृष्टिकोणबाट हेर्दा चुनावी परिणाम प्रायः दीर्घकालीन सामाजिक प्रक्रियाको परिणाम हुन्छ । मतदाताले मतदान गर्ने बेला केवल उम्मेदवारको व्यक्तिगत गुण मात्र होइन, शासनको समग्र अनुभव, आर्थिक अवस्था, सामाजिक अपेक्षा र भविष्यप्रतिको विश्वासलाई पनि ध्यानमा राख्छन् । तर, यहीँनेर अर्को रोचक कुरा के भयो भने, यसपटक त्यो निरन्तरता भंग भयो । अब सवाल रहन्छ- यो किन भयो ? यदि समीक्षा केवल संगठनात्मक कमजोरीमा सीमित रह्यो भने वास्तविक रोगको राजनीतिक शल्यक्रिया हुँदैन । त्यसैले निर्वाचन परिणामलाई विद्यमान शासन ब्यवस्थाको डेलीभरी, आर्थिक संरचना, राजनीतिक संस्कार र समाजको पछिल्लो विकसित मनोविज्ञानसँग जोडेर हेर्नुपर्छ ।
२. ऐतिहासिक राजनीतिक उपलब्धि; ब्यवस्थाको परिवर्तन तर अवस्थाको नजरअन्दाज :
नेपालको आधुनिक राजनीतिक इतिहासमा जसरी प्रजातान्त्रिक आन्दोलन र उपलब्धिमा नेपाली काँग्रेसको मुख्य भूमिका रह्यो त्यसैगरी मुलुकको पछिल्लो राजनीतिक आन्दोलन र उपलब्धिहरूमा वामपन्थी आन्दोलनको महत्वपूर्ण भूमिका रहेको छ । विशेषगरी जनयुद्ध र ०६२/६३ को दोस्रो जनआन्दोलनको परिणामस्वरूप देशको राजनीतिक संरचनामा व्यापकरूपमा परिवर्तन भयो । मुख्यतः राजतन्त्र समाप्त भयो र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । समानुपातिक समावेशी प्रणाली, सामाजिक न्याय र धर्मनिरपेक्षता कायम भयो। वर्गीय, क्षेत्रीय, जातीय, लैङ्गिक, भाषिक, धार्मिक जस्ता उत्पीडनको अन्त्य र अधिकार प्राप्तिको प्रक्रिया पाइपलाइनमा आयो । साथै मुलुकमा शासकीय स्वरूपको बहस पनि अगाडि ल्यायो ।
यी ऐतिहासिक परिवर्तनहरू केवल शासन प्रणालीमा परिवर्तनका घटना मात्र थिएनन्; यी त राज्यको शक्ति संरचना र सामाजिक सम्बन्धहरू पुनर्संरचना गर्ने प्रक्रियाहरू पनि थिए । तर राजनीतिक परिवर्तनपछि पनि दलहरूको नेतृत्वबाट भएको राज्य सञ्चालनको व्यवहारिक पक्षमा अपेक्षित परिणाम देखिएन । अर्थात, ब्यवस्था परिवर्तनसँगै जनताको अवस्थामा नजरअन्दाज हुँदा जनविश्वास क्रमशः कमजोर हुँदै गयो।
३. विश्व परिवेश र युवाहरूको विद्रोही मनोविज्ञान:
नेपालको राजनीतिक अवस्थालाई बुझ्न अन्तर्राष्ट्रिय परिवेशलाई नजरअन्दाज गर्न सकिँदैन । पछिल्ला केही वर्षमा विश्व राजनीतिमा एउटा स्पष्ट र शक्तिशाली प्रवृत्ति देखा परेको छ कि- युवा पुस्ताको नेतृत्वमा उभिएका आन्दोलनहरूले केवल सडक तताउने काम मात्र गरेका छैनन्, बरु कतिपय अवस्थामा प्रत्यक्षरूपमा सत्ता परिवर्तनसमेत गराएका छन् । उदाहरणका रूपमा श्रीलंकामा २०२२ को आर्थिक संकटपछि जनआन्दोलनले शासन परिवर्तन गरायो । बंगलादेशमा विद्यार्थी आन्दोलनले राजनीतिक व्यवस्थामाथि प्रश्न उठायो । त्यस्तै पेरू, केन्या, फ्रान्स, थाईल्याण्ड जस्ता कतिपय देशहरूमा पनि असन्तोष र विद्रोहको आन्दोलन कुनै न कुनै रूपमा भए ।
यी घटनाहरूले एउटा साझा संकेत दिन्छन् कि —नयाँ पुस्ता पुरानो राजनीतिक ढाँचासँग सन्तुष्ट छैन । विश्वव्यापीरूपमा अहिलेको युवा पुस्ता पारदर्शिता, दक्ष शासन, छिटो परिणाम र अवसरको समानता अपेक्षा गर्छ । यदि राजनीति प्रणालीले यी अपेक्षाहरू त्यसअनुसार पूरा गर्न सकेन भने असन्तोष तीव्र बन्न सक्छ।
४. नेपालभित्रको असन्तोष: उपलब्धि, डेलिभरी र निराशाबीचको द्वन्द्व:
राजनीतिक विज्ञानमा “delivery crisis” भन्ने अवधारणा निकै महत्वपूर्ण मानिन्छ । यसको अर्थ हो—राजनीतिक प्रणालीले जनताको अपेक्षा अनुसार परिणाम दिन नसक्नु । नेपालको सन्दर्भमा पनि यही समस्या देखिन्छ । पछिल्ला दुई दशकमा संविधान निर्माण, संघीय संरचना, समावेशी प्रतिनिधित्व जस्ता महत्वपूर्ण उपलब्धि त प्राप्त भए । तर जनताको दैनिक जीवनमा अपेक्षित परिवर्तन आएन, र यो महशुस व्यापकरूपमा फैलियो ।
नेपालको पछिल्लो निर्वाचन पहिलो कुरा गत भाद्र २३ र २४ को घटना पश्चात मुलुकमा ब्याप्त विभिन्न अङ्कल, आशङ्का, अनिश्चितता तथा षड्यन्त्रको पृष्ठभूमिमा उत्पन्न असमान्य स्थितीलाई पुनः एउटा लिकमा लिएर आउने काम भएको छ । यो निर्वाचनको परिणाम नै कुनै दलको अन्तिम पराजय वा विजय होइन, तर एउटा गम्भीर राजनीतिक सन्देश भने अवश्य हो। आजको समयले केवल नारा होइन, स्पष्ट विचार, व्यवहारिक कार्यक्रम र विश्वसनीय नेतृत्व मागिरहेको छ।
यहाँ मुख्य असन्तोषका क्षेत्रहरू: बेरोजगारी र वैदेशिक रोजगारीमा निर्भरता, भ्रष्टाचार र राजनीतिक संरक्षणवाद, दलभित्रको गुटबन्दी, सार्वजनिक सेवाको ढिलासुस्ती, विकास योजनाको कमजोर कार्यान्वयनहरू हुन् । यसले दल र उनीहरूको शासनमा एउटा गम्भीर आक्षेप लाग्यो कि— पुराना दल र नेताहरूको नेतृत्वमा राजनीतिक परिवर्तनले संस्थागत संरचना त बदल्यो, तर जनताको जीवनस्तर अपेक्षाअनुसार बदल्न सकेन अर्थात उनीहरू लागेनन् ।
५. डिजिटल युग र एल्गोरिदमको राजनीति :
आजको राजनीति केवल सभा र र्यालीमा सीमित छैन । डिजिटल प्लेटफर्महरूले जनमत निर्माणको स्वरूप नै बदलिदिएका छन् । विशेष गरी -TikTok, Facebook,YouTube जस्ता प्लेटफर्महरूले सूचना प्रसारको गति र प्रभाव दुवैलाई तीव्र बनाएका छन्, र राजनीति बुझ्ने तरिका परिवर्तन गरेका छन् । एल्गोरिदमले भावनात्मक र छोटो सन्देशलाई छिटो फैलाउँछ । यसले गर्दा गहिरो वैचारिक बहसभन्दा प्रतिकात्मक राजनीति र छवि निर्माण प्रभावशाली बन्न थालेको छ । यसले राजनीतिक प्रतिस्पर्धाको स्वरूप नै परिवर्तन गरिरहेको छ।
६. चुनाव चिन्ह र प्रतिकात्मक राजनीति :
हालको निर्वाचनमा एउटा रोचक प्रवृत्ति देखियो—धेरै मतदाताले उम्मेदवार र पार्टीभन्दा चुनाव चिन्हलाई प्राथमिकता दिए । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्ह युवा पुस्तामा परिवर्तनको प्रतिक बन्यो । यसले केही यस्तो रोचक अवस्था सिर्जना गर्यो कि— भोट कसलाई हालियो भन्दा घण्टीलाई । घण्टी कुन पार्टीको चुनाब चिन्ह हो भन्दा घण्टी पार्टीको, अथवा बालेनको । तपाईंको क्षेत्रको उम्मेदवार को ? कहाँको ? कस्तो ? भन्दा थाहा छैन, अथवा घण्टी हो ।
जसले गर्दा अनुभवी र आवश्यक नेताहरू पनि पराजित भए भने, अपेक्षाकृत अपरिचित उम्मेदवारहरू पनि विजयी भए । यहाँसम्म कि- रास्वपाको उम्मेदवार नै नभएको र रद्ध भएको स्थानमा पनि घण्टी पक्षको फराकिलो अन्तरको भोट खस्यो । यसले एउटा महत्वपूर्ण संकेत दिन्छ कि— मतदाताले व्यक्तिभन्दा परिवर्तनको लागि आफ्नो आक्रोशलाई मतदान गरे । अर्को कुरा जनताको आशा, अपेक्षा र पुरानो दलप्रतिको असन्तोषको यति ठूलो जिम्मेवारीको भारी बोकेर आएको राष्ट्रिय स्वतन्त्र पार्टी र यसको नेतृत्वलाई आगामी दिन कम चुनौतीपूर्ण छैन ।
७. कम्युनिष्ट आन्दोलनको भविष्य: रूपान्तरण, ध्रुवीकरण र पुस्तान्तरण:
आजको समाज विज्ञान, प्रविधि र सूचना क्रान्तिका कारण तीव्ररूपमा परिवर्तन भइरहेको छ । त्यसैले राजनीतिक संगठन र विचार पनि समयानुकूल परिवर्तन हुनुपर्छ । यसका लागि आवश्यक पक्षहरू: खुला र लोकतान्त्रिक संगठन, डिजिटल युगअनुकूल राजनीतिक संचार, युवाको नेतृत्व विकास र नीति निर्माणमा विशेषज्ञताको प्रयोगको आवश्यकता छ । यसै सन्दर्भमा नेपालको कम्युनिष्ट आन्दोलन अहिले ऐतिहासिक मोडमा उभिएको छ। यदि यस आन्दोलनलाई भविष्यमा प्रभावशाली बनाइराख्ने हो भने तीनवटा आधारभूत परिवर्तन आवश्यक देखिन्छ।
पहिलो, कम्युनिष्ट आन्दोलन समयानुकूल बुझाइमा रूपान्तरित हुनुपर्छ । आजको डिजिटल अर्थतन्त्र, वैश्वीकरण र सूचना प्रविधिको युगमा पुरानो राजनीतिक भाषाशैली र संगठनात्मक ढाँचाले मात्र समाजलाई सम्बोधन गर्न सक्दैन ।
दोस्रो, कम्युनिष्ट शक्तिहरूले साना–साना “छुट्टाछुट्टै राजनीतिक पसल” चलाउने प्रवृत्ति त्यागेर विचार र कार्यक्रमका आधारमा ध्रुवीकृत हुन आवश्यक छ ।
तेस्रो, नेतृत्वको पुस्तान्तरण अपरिहार्य छ। नयाँ पुस्तालाई केवल कार्यकर्ता होइन, नीति निर्माण र नेतृत्वमा पनि क्रमशः जिम्मेवारी हस्तान्तरण गर्नुपर्छ ।
यदि यस्तो रूपान्तरण सम्भव भयो भने कम्युनिष्ट आन्दोलन अझै पनि नेपालको सामाजिक न्याय र समानताको राजनीतिक एजेन्डालाई अघि बढाउने फेरि पनि प्रमुख शक्ति बन्न सक्छ । समयानुकूल राजनीतिक बुझाई र रूपान्तरण नै आजको समाजमा निरन्तर अपडेट र फिट हुनु हो
८. माक्सवादको विकास र नयाँ चुनौती :
माक्सवाद स्थिर सिद्धान्त होइन; यो समाज परिवर्तनसँगै विकसित हुने विचारधारा हो । कार्ल मार्क्सको समयमा औद्योगिक पूँजीवाद मुख्य विषय थियो । आज भने विश्व डिजिटल पूँजीवाद, कृत्रिम बुद्धिमत्ता, प्लेटफर्म अर्थतन्त्र र डेटा अर्थ व्यवस्थाको युगमा प्रवेश गरिसकेको छ । यस अवस्थामा माक्र्सवादको पुनर्व्याख्या गर्न आवश्यक छ।
समयानुकूल विकास गर्नु नै माक्र्सवादको जगेर्ना गर्नु हो। यसका लागि आवश्यक छ: डिजिटल अर्थतन्त्रको विश्लेषण, असमानताको नयाँ रूपहरूको अध्ययन, श्रम बजारको परिवर्तनको अध्ययन, सामाजिक न्याय र लोकतान्त्रिक संस्थाहरूको सुदृढीकरण । यसरी समयानुकुल माक्र्सवादलाई जीवन्त विचारका रूपमा विकास गर्न सकियो भने यो अझै पनि सामाजिक न्याय र समतामूलक विकासको सशक्त वैचारिक आधार बन्नेछ ।
हालको निर्वाचनमा एउटा रोचक प्रवृत्ति देखियो—धेरै मतदाताले उम्मेदवार र पार्टीभन्दा चुनाव चिन्हलाई प्राथमिकता दिए । विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्ह युवा पुस्तामा परिवर्तनको प्रतिक बन्यो । यसले केही यस्तो रोचक अवस्था सिर्जना गर्यो कि— भोट कसलाई हालियो भन्दा घण्टीलाई । घण्टी कुन पार्टीको चुनाब चिन्ह हो भन्दा घण्टी पार्टीको, अथवा बालेनको । तपाईंको क्षेत्रको उम्मेदवार को ? कहाँको ? कस्तो ? भन्दा थाहा छैन, अथवा घण्टी हो ।
९. नयाँ पुस्तासँग संवादको चुनौती
आजको पुस्ता सूचना प्रविधिको युगमा हुर्किएको छ । रिल, छोटो भिडियो र डिजिटल बहसमार्फत राजनीति बुझ्ने पुस्तालाई पुरानो शैलीमा विचारधारा सिकाउन कठिन छ । त्यसैले राजनीतिक दलहरूले डिजिटल माध्यम, नयाँ शिक्षण विधि र खुला वैचारिक बहसमार्फत युवा पुस्तासँग संवाद गर्नुपर्ने आवश्यकता छ।
निष्कर्ष: आगामी बाटो :
नेपालको पछिल्लो निर्वाचन पहिलो कुरा गत भाद्र २३ र २४ को घटना पश्चात मुलुकमा ब्याप्त विभिन्न अङ्कल, आशङ्का, अनिश्चितता तथा षड्यन्त्रको पृष्ठभूमिमा उत्पन्न असमान्य स्थितीलाई पुनः एउटा लिकमा लिएर आउने काम भएको छ । यो निर्वाचनको परिणाम नै कुनै दलको अन्तिम पराजय वा विजय होइन, तर एउटा गम्भीर राजनीतिक सन्देश भने अवश्य हो। आजको समयले केवल नारा होइन, स्पष्ट विचार, व्यवहारिक कार्यक्रम र विश्वसनीय नेतृत्व मागिरहेको छ।
यदि राजनीतिक शक्तिहरूले समयको यो संकेत बुझेर आत्मसमीक्षा, रूपान्तरण र आफूलाई नयाँ पुस्तासँग अन्तरघुलित गर्न सके भने भविष्य अझै खुला छ । किनकी इतिहासले बारम्बार देखाएको छ कि- राजनीतिमा कुनै पनि परिणाम अन्तिम हुँदैन; समयको संकेत बुझ्ने क्षमता नै भविष्य निर्धारण गर्ने शक्ति हुन्छ ।
प्रतिक्रिया