• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026

बजार अनुगमन चाडपर्वमा मात्र किन ?

बजार अनुगमन चाडपर्वमा मात्र किन ?

  • ज्ञानमणि नेपाल कालोटोपी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी सातादेखि चाडपर्वलक्षित बजार अनुगमन गर्ने भएको छ । गत भदौ २३ र २४ गते देशभर भएको जेनजी आन्दोलनका कारण एक हप्ता पर सरेको बजार अनुमगन आगामी सातादेखि शुरु गर्ने तयारी रहेको महानगरले जानकारी दिएको छ । बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं महानगरकी उपप्रमुख सुनिता डङ्गोलको नेतृत्वमा अनुगमन गरिनेछ । अनुगमन टोलीले प्रदर्शनी मार्गस्थित टुकुचा तरकारी बजार, खसी बजार, खाद्य संस्थान, सुपथ बिक्री कक्षलगायतको अनुगमन गर्ने महानगरको तयारी छ ।

यता जेनजी आन्दोलन अघि भदौ १५ गतेपछि जिल्ला स्तरीय अनुगमन समिति काभ्रेले बजार अनुगमनलाई तिव्रता दिएको थियो । समितिको आयोजनामा बनेपामा बजार अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय काभ्रे, उद्योग वाणिज्य कार्यालय, धुलिखेल, बनेपा नगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, जिल्ला समन्वय समिति र काभ्रे उद्योग वाणिज्य संघको समन्वयमा बनेपामा बजार अनुगमन गरियो ।

विशेषगरि मसला, मिठाई, खाद्यान्न र किराना पसलहरुको अनुगमन गरिएको बनेपा नगरपालिकाकी उपप्रमुख विमला सापकोटाले जानकारी दिनुभयो । अनुगमनका क्रममा बनेपामा रहेका मसला पसलहरु दर्ता बिना सञ्चालन गरिएको पाइएको छ । यस्तै म्याद गुज्रिएका सामाग्री बेचिएको, सरसफाई नभएको तथा लेबल नभएको फेला परेकाले नष्ट गरिएको अनुगमन संयोजक एवं जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिनुभयो । अनुगमनका क्रममा बनेपामा रहेको काभ्रे बेकरी, चण्डेश्वरी ड्राई फुड र चण्डेश्वरी मसला तथा किराना पसललाई १० हजारका दरले जरिवाना गरिएको छ ।

चाडपर्वमा बजारमा नागरिकको भीड हुनु सामान्य नै हो । नागरिकको भीडसँगै सल्बलाउने गर्छन् , व्यापारीहरु । हरेक छुट र अफरको नाटक गर्दै नागरिकलाई झुक्याउने व्यापारीहरुको त के कुरा, सरकारले गर्ने भनेको बजार अनुगमन पनि नाम मात्रको हुने गरेपछि सधैंजसो नागरिक ठगीमा पर्ने गरेका छन् ।

हरेकजसो बजार यतिबेला महंगीले ग्रस्त छन् । एकातिर चार्डपर्वको बाहाना, अर्कातिर सामान अभावको मन्त्र जपाई । उत्पादन गर्ने किसानले भाउ पाउँदैन, न उपभोक्ताले सस्तोमा पाउँछन् । बिचौलियाहरुको हालीमुहाली छ । बिगत केही समययता दैनिक उपभोग्य वस्तुहरुको मूल्य ह्वातै बढेको तथ्यांक सार्वजनिक भएको छ । प्रत्येक वर्ष यसरी नै सामानको भाउ वढ्ने विषय नौलो होइन तर नौलो चाहिं यो हो कि सरकारले सधैं बजार अनुगमनलाई कडाइ गरेको बताइरहेको छ । तर उसको अनुगमनको प्रभाव शुन्यप्रायः छ । मानौं बजारमा मूल्यवृद्धि नियन्त्रण सरकारको कार्यक्षेत्रभित्रै पर्दैन ।

किन हुन्छ मूल्यवृद्धि ?
चाडपर्वमा हरेकजसो सामानको आवश्यकता पर्छ । नागरिक पैसा नभए ऋण गरेरै भएपनि सरसामान जुटाउन लाग्छन् । जसले गर्दा बजार अघिपछि भन्दा वढी नै भीडभाड हुन्छ । यही भीडभाडको मौका छोपी व्यापारीहरुको कमाउधन्दा शुरु हुन्छ । यही बेलामा गुणस्तरहिन सामान बेच्नेहरुको होडबाजी चल्छ भने वढी नै मूल्य तिरेरै भएपनि सामान किन्न उपभोक्ता तयार रहन्छन् । दैनिक उपभोग्य सामानको माग पनि अरुबेला भन्दा वढी हुन्छ । यही कारण विशेषगरि चाडपर्वहरुमा सामानको मूल्यवृद्धि हुने रोग पुरानै रोग हो । जसको स्थायी उपचार कहिल्यै हुने अवस्था देखिंदैन ।

चाडपर्व त मूल्य बढाउने बाहाना मात्रै हुन् । एकपटक बढिसकेपछि सामानको मूल्य घट्न मुस्किल छ । व्यापारीहरु यही मौकामा आफ्ना स्टक बसेका पुराना सामानहरु छुट र अफर भन्दै नागरिकलाई जबर्जस्ती भिडाउन खोज्छन् । जसले गर्दा बजारमा सामानको मूल्य बढ्छ ।

छुट र अफर सधैं किन हुँदैन ?
सरकारले नै चाडपर्वमा मात्र छुट दिने र अरुबेला नागरिकको ढाड सेक्ने नीति अबलम्बन गरेको छ । वर्षको साढे १० महिना नागरिकलाई महंगीले ढाड सेक्ने सरकार चाडपर्वको बाहाना बनाएर डेढ महिने सुपथ मूल्य पसलको नाटक गर्छ । यसवर्ष पनि देशका १११ स्थानमा सुपथ मूल्य पसलहरु संचालन भएका छन् । ७७ जिल्लामा १११ वटा पसल ? यो भन्दा वढी हाँस्यास्पद कुरा अरु के हुन सक्छ ? यसरी सरकारले त नागरिकका आँखामा छारो हाल्ने काम गर्दै आएको छ भने नाफामुखी व्यापारीहरुको चाला के हुन सक्ला ?

चाडपर्व त मूल्य बढाउने बाहाना मात्रै हुन् । एकपटक बढिसकेपछि सामानको मूल्य घट्न मुस्किल छ । व्यापारीहरु यही मौकामा आफ्ना स्टक बसेका पुराना सामानहरु छुट र अफर भन्दै नागरिकलाई जबर्जस्ती भिडाउन खोज्छन् ।

के के कारणले बजार प्रभावित हुन सक्छ ?
चाडपर्वका अतिरिक्त समाजमा व्याप्त भ्रष्टाचार, घुसखोरी, अनियमितता जस्ता सामाजिक अपराधका कारण पनि बजारमा महंगी निकै नै बढेको छ । समाजमा व्याप्त गरिबी एकातिर छँदैछ भने सरकारी बजार अनुगमन फितलो अर्कातिर उस्तै छ । सरकारी अनुगमनकर्मीहरु बजारमा जान्छन् तर दूर्भाग्य व्यापारीहरुले नै लखेट्छन् । कतिपय ठाउँमा त व्यापारीसँग नै अनुगमनकर्मीहरु मिलेर रकम लेनदेन गर्ने गरेको समाचारहरु पनि आउने गरेका छन् । मानौं अनुगमनकर्मीहरुको यो कमाइ खाने भाँडो जस्तै हो । यसले गर्दा महंगी घट्नुको सट्टा झन बढेको प्रष्ट छ । सरकारको बजार अनुगमन नाम मात्रको हुँदा नागरिक महंगीको मारमा पर्नुपरेको छ भने बजारमा विचौलिया र कालाबजारीहरुको कब्जा पनि उस्तै बढेको छ ।

के के मा बढेको छ मूल्य ?
यतिबेला कुनैपनि सामान छैन, जसको बजारमा मूल्य नबढेको होस् । सुनदेखि नुनसम्म बढेकै छ । अझै तरकारीको मूल्य त धेरैले बढेको पाइएको छ। यस्तै दूधको मूल्य पनि बढेको छ । कपडाजन्य वस्तुको भाउ पनि छोइनसक्नु छ । खसीबोकाको मूल्य पनि उस्तै बढेको छ । चाडपर्व आउँछ , मानौं सामानको मूल्य बढाउनकै लागि आउँछ जस्तै अनुभव हुन थालेको छ । चाडपर्वमा यो चाहिँ सामान सस्तोमा पाइयो भन्ने कोही नागरिक छैनन् । सरकारको अनुगमन नाम मात्रैको जस्तै पनि छैन । अनुगमन टोली व्यापारीहरुसँग सेटिङ्ग मिलाउँछन् , आफ्नो दुनो सोझ्याउँछन् अनि खल्ती भर्दै बाटो लाग्छन् । नागरिकले कसको विश्वास गर्ने ?

चाडपर्वमा कति खर्च हुन्छ ?
एक तथ्यांकअनुसार दशैं, तिहार, छठ लगायतका अन्य चाडपर्वमा अरु बेलामा भन्दा निकै धेरै खर्च हुने गरेको छ । बताइए अनुसार एकवर्षको देशको कूल बजेटभन्दा धेरै खर्च चाडपर्वमा मात्र हुने गरेको छ । एकातिर उपभोक्ताबीच सामान किन्ने अस्वस्थ प्रतिश्पर्धा, अर्कातिर ऋण गरेरै भएपनि चाडपर्व त मान्नै पर्यो नि भन्ने मानसिकताले गर्दा खर्चको सीमा अधिक भएको हो । हुनेखानेहरुका लागि त जति खर्च भएपनि सामान्य नै हो । तर बिहान खाए बेलुका के खाने भन्ने अवस्था भएकाहरुले यस्तो खर्च कसरी धान्न सक्लान् ? यस्तो अवस्थामा सरकारले प्रभावकारी कदम चालेर बजारमा भएको मूल्यवृद्धि रोक्ने हो भने मात्र नागरिकले राहत पाउँछन् , सरकार भएको आभास पाउँछन् । नत्र त उही हो, व्यापारीहरु मात्रै मोटाउँछन् , बिगत जस्तै , भविष्यमा पनि ।

अर्थशास्त्रको अन्तर्राष्ट्रिय मान्यता
सामान्य अर्थमा कुनै पनि वस्तुको बजार माग धेरै भएपछि त्यसको मूल्य पनि बढ्छ र माग कम हुँदा मूल्य पनि घट्छ । विश्वका नागरिक जब सामानको अभाव हुन थाल्छ, त्यसको विकल्प खोज्न थाल्छन् । मानौं बजारमा प्याजको मूल्य बढेको छ वा अभाव हुँदैछ भने उपभोक्ताहरु त्यसको विकल्प के होला भनेर त्यतातिर लाग्छन् । तर नेपालमा भने विल्कुलै विपरित छ । यहाँ कुनै सामानको भाउ बढ्न लाग्यो भने हामी विकल्प खोज्दैनौं, बरु त्यही सामानको स्टक राख्न महंगोमै भएपनि सामान जुटाउनेतिर सोच्न थाल्छौं । परिणामस्वरुप बजारमूल्य बढ्छ र कालोबजारी पनि उस्तै बढ्छ । यो गलत संस्कारको अन्त्य हुने हो भने बजार सामान्य अवस्थामै रहन्छ ।

के होला समाधान ?
बजारमा भइरहेको अत्याधिक मूल्यवृद्धि रोक्नका लागि सर्वप्रथम उपभोक्ता सजग हुनुपर्छ । जसको अभाव हुँदैछ त्यही वस्तुको खोजी गर्ने र स्टक राख्ने प्रवित्ती छ उपभोक्तामा । त्यसको विकल्प के हुन सक्ला भनेर ध्यान दिने हो भने मूल्यवृद्धि कम हुन सक्छ । त्यस्तै सरकारी संयन्त्र पनि नाम मात्रको जस्तो हुने होइन । कालाबजारीहरुसँग जस्तोसुकै परिस्थितीमा पनि नझुक्ने र सामानको गुणस्तर चेकजाँच गर्न पहल गर्ने हो भने बजारमा अहिले भइरहेको अवस्थाको अन्त्य हुन्छ ।

यस्तै उपभोक्ताले पनि चाडपर्वमा मात्र सामान किन्ने होइन, केही हप्ता पहिले नै आफूलाई चाहिने सामानको जोहो गर्ने हो भने बजारमा भीड कम हुन्छ र अस्वस्थरुपमा बढीरहेको मूल्यवृद्धि पनि घट्न जान्छ । सरकारले गर्ने भनिएको बजार अनुगमन पनि चाडपर्वमा मात्र गर्ने होइन, सधैं नै यस्तो छड्के अनुगमन गर्ने हो भने बढीरहेको बजार मूल्य आफैं नियन्त्रण हुन्छ । यसतर्फ सम्बन्धित निकाय, विशेषगरि उपभोक्ताकर्मी, नागरिक र सरकार सक्रिय रहनु आवश्यक छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ आश्विन ८, बुधबार १२:०९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP