• २०८३ श्रावण ११ | Mon, 27 Jul 2026

‘मधु आचार्य प्राविधिक ज्ञान भएका राजनीतिज्ञ मात्र होइनन्, समाजशास्त्रीय दृष्टि राख्ने नेता पनि हुन्’

‘मधु आचार्य प्राविधिक ज्ञान भएका राजनीतिज्ञ मात्र होइनन्, समाजशास्त्रीय दृष्टि राख्ने नेता पनि हुन्’

बनेपा । नेपाली कांग्रेसको इतिहास लोकतान्त्रिक मूल्यको इतिहास हो भन्ने कुरा कुनै अतिशयोक्ति होइन । बीपी कोइरालादेखि “सन्त” जीवन जिएर राजनीति गरेका कृष्णप्रसाद भट्टराईसम्म, असंख्य सहिदहरूको बलिदान र असङ्ख्य कार्यकर्ताको निःस्वार्थ समर्पणले कांग्रेसलाई केवल पार्टी होइन, जिउँदो विचारको परम्परा बनाएको छ । व्यक्तिगत स्वतन्त्रता, सामाजिक जिम्मेवारी र राष्ट्रिय समृद्धिको त्रिकोणीय सूत्रमा उभिएको यो परम्परा नेपाली लोकतन्त्रको आधारस्तम्भ मध्ये मुल हो ।

तर विडम्बना के छ भने, यिनै मूल्य बोकेको दलभित्र आन्तरिक लोकतन्त्रको स्वर भने धेरै पछिसम्म सशक्त रूपमा प्रतिध्वनित हुन सकेन । निर्वाचित महासचिव, उपसभापति जस्ता व्यवस्था धेरै पछि मात्रै प्रष्टरूपमा संस्थागत हुँदै गए, तर यी क्रमिक सुधारले युवापुस्ताले मागेको गहिरो परिवर्तनलाई भने समेट्न सकेनन् । पार्टी संरचना, नेतृत्व चयन र नीति निर्माणको प्रक्रियामा व्यापक सहभागितामूलक लोकतन्त्र र पारदर्शिता चाहिने माग बारम्बार उठिरहे, तर कार्यान्वयनको गति सुस्त रह्यो ।

जेनजीको आन्दोलन नेपालमा हुनु धेरै अघि नै, कांग्रेसभित्रका युवा र मध्यम–पुस्ताले पार्टीलाई “समाजका हरेक वर्ग घुलमिल हुने मेल्टिङ पट (melting pot)” बनाउने माग उठाइसकेका थिए । सहभागीतामुलक लोकतन्त्र, प्राथमिक निर्वाचन (Primary), सदस्यता व्यवस्थापनमा पारदर्शिता, क्षेत्र–जिल्ला-नगर-वडा तहसम्म खुला प्रतिस्पर्धाको संस्कृतिबारे गम्भीर छलफल होस् भन्ने आवाज उठिरहे । तर ती आवाजहरू क्षणिक “चर्चा” मा मात्र सिमित रहे, “निर्णय” र “कार्यान्वयन” मा रूपान्तरण हुन सकेनन् ।

यही पृष्ठभूमिमा मधु आचार्य जस्ता नेताको भूमिका महत्वपूर्ण देखिन्छ । उहाँ ती थोरै नेताहरू मध्ये एक हुनुहुन्छ, जसले पार्टीको विधान, संरचना र संस्कृतिमा मूलगामी सुधारको प्रस्ताव खुला र निरन्तररूपमा उठाइरहनुभयो । उहाँको स्वर केवल काभ्रे वा काठमाडौं केन्द्रीत थिएन ؛कांग्रेसभित्रका धेरै परिवर्तन चाहने युवा, नेता, विद्यार्थी, पेशागत समूह र मध्यम–पुस्तासँग उहाँको चाहना र असन्तोष मिल्थ्यो । त्यसैले गगन थापा, विश्वप्रकाश शर्मा जस्ता दोस्रो पुस्ताका नेताहरूले अघि सारेका सुधार एजेण्डासँग पनि मधु आचार्यको विचारिक धड्कन मिल्दोजुल्दो रह्यो । दललाई केवल ऐतिहासिक पूँजीमा होइन, नयाँ पुस्ताको आकाङ्क्षामा टेक्नुपर्ने तर्कमा मधु आचार्यको सदा जोड रह्यो ।

पार्टीभित्र परिवर्तनको यहि एजेण्डालाई राष्ट्रिय तहमा जोड्ने प्रयत्न मधु आचार्यले व्यवहारमै पनि गरे । उनले देशभरका जिल्लाहरू चाहार्दै, कांग्रेसका विभिन्न तहका नेताहरू, कार्यकर्ताहरू र समर्थकसँग भेटघाट गर्दै “पार्टी परिवर्तन”, “जागरण” र “आन्तरिक लोकतन्त्र” को बहस फैलाउनुभयो । विशेष महाधिवेशनको माग होस्, विधान परिमार्जनको प्रस्ताव होस् वा संगठनलाई व्यापक छलफलको प्लेटफर्म बनाउने पहल होस, यी कामहरू केवल नेपथ्यको गुनासो बनेर नबसून् भन्ने चिन्ताले उनलाई गाँउ, शहर, तराई–पहाड–हिमालसम्म डोहोर्यायो ।

विशेष अधिवेशनको तयारी, त्यसको संगठन र सञ्चालनमा उनले खेलेको भूमिका सम्झँदा, उनलाई महाभारतको कृष्ण–अर्जुन सन्दर्भले सम्झन मन लाग्न सक्छ । सत्ता–संस्थागत राजनीतिक “रथ” माथी चर्चित अर्जुन नेताहरू आकर्षणको केन्द्रमा देखिन्छन्, तर त्यो रथलाई रणनीतिक युद्धभूमिदेखि शान्तिपथसम्म संस्थापन गर्न कृष्ण रुपमा एउटा भुँइमान्छे–रथचालकको धैर्य, रणनीति र समर्पण थोरैले मात्र देख्छन् । विशेष अधिवेशनको दौरान मधु आचार्यले आफूलाई त्यो किसिमको रथचालकको भूमिकामा उभ्याए जहाँ आफ्नो अहंभन्दा ठूलो लक्ष्य पार्टीको रूपान्तरण बन्यो र त्यसको नतिजा जगजाहेर छ । नेपाली कांग्रेसले पुनर्जिवन पाएको छ । नयाँ ऊर्जा पाएको छ ।

काभ्रेको सन्दर्भमा मधु आचार्यको व्यक्तित्व र पृष्ठभूमि अझै रोचक छ । सरल र विनम्र जीवनशैली जसले युवापुस्तालाई “नेतृत्व भनेको दूरी होइन, नजिकको मित्र” हो भन्ने सन्देश दिन्छ । उहाँको पहिचान हो- बीपी र कृष्णप्रसाद जस्तो जीवन–दृष्टिको आधुनिक संस्करण जस्तो, जहाँ राजनीतिक अभ्यास र निजी सादगीबीच घनिष्ठ सम्बन्ध हुन्छ ।

उनी इञ्जिनियरको पृष्ठभूमिबाट आएका व्यक्ति हुन् । नेपालजस्तो देशमा, जहाँ पूर्वाधारको निर्माण केवल सडक, पुल र भवनको कुरा होइन, दीगो रोजगारी, क्षेत्रीय सन्तुलन र वातावरणीय न्यायसँग जोडिएको विषय हो, त्यहाँ योजना र प्रविधिको भाषा बुझ्ने राजनीतिक नेतृत्वको आवश्यकता झन् महत्त्वपूर्ण बन्छ । इञ्जिनियरको दृष्टिले समस्या देख्ने नेता विकासका परियोजना केवल ठेक्का र कमिसनको कोणबाट होइन, “डिजाइन–क्षमता–समय–गुणस्तर” को समष्टिगत नाताबाट विश्लेषण गर्न सक्छन् ।

अवश्य पनि, कुनै पनि उम्मेदवार त्रुटिरहित हुँदैन, न कुनै व्यक्तिमा परिवर्तनको सम्पूर्ण उत्तर लुकेको हुन्छ । तर राजनीतिक विश्लेषकको दृष्टिले, काभ्रेमा मधु आचार्य जस्ता नेताको उदयलाई “व्यक्तिगत महत्वाकाङ्क्षा” भन्दा धेरै, “दलभित्र लोकतान्त्रिक रूपान्तरण, नीति–आधारित बहस र युवापुस्ताको आकाङ्क्षा” सँग जोडेर हेर्न आवश्यक छ ।

मधु आचार्य केवल प्राविधिक ज्ञान भएका राजनीतिज्ञ मात्र होइनन् । समाजशास्त्रीय दृष्टि राख्ने, विविधता र असमानता दुवैलाई नजिकबाट बुझेका व्यक्ति पनि हुन् । हाम्रो समाज एकैचोटी समृद्ध पनि छ र भोकाएको पनि; शिक्षित पनि छ र बेरोजगार पनि । एक वर्गमा उपभोग–संस्कृति मौलाएको छ, अर्को वर्गमा अझै एक छाक र उपचारको चिन्ता भारी छ । महिलाले प्रतिनिधित्व पाएकै छैनन, निर्णय गर्ने तहमा अझै पुराना ढाँचा बलिया छन् । यस्तो जटिल समाजलाई पढ्न नजाने एकातिर उपवुर्जुकले विकासलाई केवल “आँकडाको खेल” बनाइदिन्छन्, जहाँ वृद्धि दर बढ्यो भने सब ठिक छ भन्ने भ्रम पालिन्छ ।

अर्कोतिर वास्तविक विकासको बाटोदेखि टाढा, चर्को राष्ट्रियता र लोकप्रियतावादी संस्कृतिको विगविगीमा, समाजले सहि-गलत नै ठम्याउन नसक्ने अवस्थाको सिर्जना गर्दै आम मतिभ्रमको निर्माण हुने परिस्थिती बन्ने देखिन्छ । त्यसैले, मधु आचार्य जस्ता नेताको विशेषता के हो भने, उनीहरु यी विरोधाभासलाई नजिकबाट बुझ्न सक्ने र त्यसलाई नीति तथा कार्यक्रमको भाषामा रूपान्तरण गर्ने क्षमता र ल्याकत राख्दछन् । समाजको नशा (nerves) बुझ्ने संवेदनशीलता, राजनीतिक सोच र विकास नीतिको प्राविधिक समझ एउटै व्यक्तिभित्र भेटिनु हाम्रो स्थानीय र राष्ट्रिय राजनीति दुवैका लागि दुर्लभ अवसरको रूपमा हेर्न सकिन्छ ।

भूगोल, जातीयता, पेशा, शिक्षा र प्रवासन, सबै दृष्टिले काभ्रे स्वयं विविधताले भरिएको जिल्ला हो । यहाँका मतदाताले विगत केही दशकमा विभिन्न धारा–प्रवाहका नेताहरूलाई मौका दिए, अनेक आशा–निराशा भोगे । अबको चरणमा, काभ्रेलाई केवल “निर्वाचन क्षेत्र” होइन, परिवर्तनको प्रयोगशाला बनाउन सक्ने नेतृत्वको खोजी हुनु स्वाभाविक हो । आन्तरिक लोकतन्त्रको माग गर्दै पार्टीभित्रै संघर्ष गरेको, संगठनलाई तलदेखि माथिसम्म जागरण गरेको, नयाँ पुस्तासँग संवाद गर्ने संस्कार विकास गरेको, अनुशासित जीवनयापन गर्ने पात्रको उपस्थिती यस अर्थमा काभ्रेभित्र नयाँ राजनीतिक अध्याय सुरु गर्ने सम्भावना बोकेर आएको देखिन्छ ।

अवश्य पनि, कुनै पनि उम्मेदवार त्रुटिरहित हुँदैन, न कुनै व्यक्तिमा परिवर्तनको सम्पूर्ण उत्तर लुकेको हुन्छ । तर राजनीतिक विश्लेषकको दृष्टिले, काभ्रेमा मधु आचार्य जस्ता नेताको उदयलाई “व्यक्तिगत महत्वाकाङ्क्षा” भन्दा धेरै, “दलभित्र लोकतान्त्रिक रूपान्तरण, नीति–आधारित बहस र युवापुस्ताको आकाङ्क्षा” सँग जोडेर हेर्न आवश्यक छ । नेपाली कांग्रेसको ऐतिहासिक मूल्य, सहिदहरूको सपना र पुरानो नेतृत्वले बनाएको संस्थागत पूँजीलाई नयाँ पुस्ताको ऊर्जासँग जोड्ने सेतुको रूपमा उहाँको भूमिकाबारे बहस हुनु आजको अवश्यकता हो ।

अन्ततः, काभ्रेवासी मतदाताले कुन प्रकारको नेतृत्व चाहन्छन् ? यो निर्णय उनीहरूको हो । तर विकल्पको विश्लेषण गर्ने बेला, केवल पार्टी प्रतीक वा पुरानो परिचय होइन, उम्मेदवारको जीवन–शैली, विचार, संघर्षको इतिहास, संगठनमा परिवर्तनका लागि गरिएको जोखिम र भविष्यका लागि देखाइएको स्पष्ट दृष्टिलाई पनि गम्भीररूपमा तौलिन जरुरी छ । मधु आचार्य जस्ता व्यक्तित्वलाई त्यसैको आधारमा मूल्याङ्कन गर्ने प्रक्रिया नै स्वस्थ लोकतन्त्रतर्फको कदम हो । जहाँ मत केवल भावनाले होइन, विश्लेषण र सम्झनाले पनि निर्देशित हुन्छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ माघ २०, मंगलवार १४:४५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP