मण्डनदेउपुर, काभ्रे । दीगो कृषि प्रणालीको प्रवर्द्धन र कृषकहरूको पेसागत स्वास्थ्य सुरक्षालाई केन्द्रमा राख्दै #MDM र #TGH को आर्थिक तथा प्राविधिक सहयोगमा ग्रामीण विकासका लागि किसान संस्था (#FRDEV) तथा चण्डेनीमण्डन साना किसान कृषि सहकारी संस्था, मण्डनदेउपुरको साझेदारीमा सञ्चालनमा रहेको परियोजनाले स्थानीयस्तरमा सकारात्मक परिवर्तन ल्याउँदै आएको छ ।
यसै परियोजनाबाट लाभान्वित कृषक हुन्—मण्डनदेउपुर नगरपालिका वडा नं. १० निवासी शंकरप्रसाद नेपाल । परियोजनामार्फत प्रदान गरिएको तालिम र प्राविधिक मार्गदर्शनको आधारमा उहाँले प्लास्टिक टनेल प्रविधि, उन्नत बीउबिजन तथा अर्गानिक (जैविक) खेती प्रणाली अवलम्बन गर्न थाल्नुभएको छ ।
पहिले परम्परागत तरिकाले खेती गर्दै आउनुभएका नेपालले अहिले कुनै पनि रासायनिक विषादी तथा मलको प्रयोग नगरी पूर्णरूपमा जैविक विधिबाट खेती गर्न सफल हुनुभएको छ । उहाँले ‘सृजना’ जातको टमाटर उत्पादन गर्नुभएको छ, जुन अहिले बजार पठाउनका लागि तयार अवस्थामा रहेको छ । विशेषगरी, जिवामृत (झोलमल) तथा विभिन्न जैविक मलहरूको प्रयोगले पनि उच्च उत्पादन लिन सकिन्छ भन्ने कुरा उहाँको अभ्यासले प्रमाणित गरेको छ । “रासायनिक मल र विषादीबिना पनि राम्रो उत्पादन लिन सकिन्छ भन्ने कुरा मैले यस परियोजनाबाट सिकेँ,” उहाँले भन्नुभयो।
उहाँले चण्डेनीमण्डन साना किसान कृषि सहकारी संस्थाप्रति विशेष धन्यवाद व्यक्त गर्दै भन्नुभयो, “यस्तो प्रभावकारी कार्यक्रममार्फत हामी किसानलाई जोडेर क्षमता विकास गर्ने अवसर प्रदान गर्नुभएकोमा सहकारी संस्थाप्रति हार्दिक आभार व्यक्त गर्दछु ।”
उहाँको सफलताले अन्य किसानहरूलाई पनि प्रेरणा दिएको छ । जैविक खेतीप्रति बढ्दो आकर्षण, स्वास्थ्यप्रति सचेतना र वातावरण संरक्षणको दृष्टिकोणले यस परियोजनाले ग्रामीण समुदायमा दीगो विकासको मार्ग प्रशस्त गरिरहेको छ ।
यस परियोजनाले कृषकहरूलाई आत्मनिर्भर बनाउँदै सुरक्षित, स्वस्थ र गुणस्तरीय कृषि उत्पादनतर्फ उन्मुख गराउन महत्वपूर्ण योगदान पुर्याइरहेको छ। भविष्यमा यस्ता कार्यक्रमहरूलाई अझ विस्तार गर्दै थप किसानहरूलाई समेट्ने लक्ष्यसमेत राखिएको छ।
प्रतिक्रिया