काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण क्षेत्र तथा सार्वजनिक र सरकारी जग्गामा बनेका अवैध बस्ती हटाउने सरकारको अभियान अन्तर्गत शनिबार थापाथली र गैरीगाउँ क्षेत्रमा घरटहरा भत्काइएको छ । वास्तविक सुकुम्बासीलाई बिचल्ली नपार्ने प्रतिबद्धतासहित अघि बढाइएको अभियानमा ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौं महानगरपालिकाका नगर प्रहरी परिचालित भएका थिए । बस्ती खाली गर्नुअघि शुक्रबार साँझसम्म माइकिङमार्फत सूचना दिइएको थियो ।
काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित वागमती नदी किनार, वडा नं ९ को गैरीगाउँ–सिनामंगल क्षेत्र तथा वडा नं ३१ को शान्तिनगर क्षेत्रमा रहेका संरचना डोजर लगाएर हटाइएको हो । सोही क्रममा कागेश्वरी मनोहरा–८ को गोठाटार बुद्धचोक र वडा नं ९ को मनोहरा टोलमा रहेका बस्ती हटाउने काम भने अवरोधका कारण पहिलो दिन स्थगन गरिएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका अनुसार शान्तिनगरमा ४७६, गैरीगाउँमा १६२ र थापाथलीमा १४३ अवैध घरटहरा थिए । त्यस्तै गोठाटारमा ७७ र मनोहरा टोलमा १३ संरचना सरकारी जग्गामा बनेका छन् ।
संयुक्त सुरक्षाकर्मीको टोलीले संरचना हटाउने क्रममा बस्तीवासीलाई सामान सार्न सहयोग पनि गरेको थियो । थापाथली क्षेत्रका ६८ परिवार सरकारको सम्पर्कमा आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दशरथ रंगशालामा पुर्याएर विवरण संकलन गरिएका उनीहरुलाई काठमाडौं महानगरपालिकाले अस्थायीरूपमा सुन्दरीघाटस्थित राधास्वामी सत्संग आश्रममा बसोबासको व्यवस्था मिलाएको छ । त्यहाँ राखिएका सामान सुरक्षितरूपमा राखिएको जनाइएको छ ।
सुकुम्बासी भन्दै नदी किनार अतिक्रमण गरेर वर्षौंदेखि बसेकाहरुमध्ये निकै न्यून संख्यामा परिवार आफ्नो घरजग्गा र दिगो आम्दानी नभएका भेटिँदा सरकारको मनोबल बढेको छ । थापाथली र गैरीगाउँको सुकुम्बासी बस्तीका धेरैजसो परिवार शुक्रबार नै विभिन्न स्थानमा डेरा खोजेर सरिसकेको खुलेको छ ।
सरकारले वास्तविक सुकुम्बासीको पहिचान गर्ने प्रक्रिया आइतबारदेखि शुरु गर्ने तयारी गरेको छ । प्रारम्भिक प्रमाणीकरणपछि योग्य ठहरिएका परिवारलाई दुई साताभित्र नागार्जुन–१ स्थित सरकारी अपार्टमेन्टमा स्थानान्तरण गरिने योजना छ । त्यसपछि दीर्घकालीन पुनर्वासको प्रक्रिया अघि बढाइने सरकारको भनाइ छ । यसका लागि नागार्जनुमा रहेको अपार्टमेन्ट सफाइसँगै बस्नयोग्य बनाउने काम पनि अघि बढाइएको छ ।

यसैबीच भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा खोला किनाराको सुकुम्बासी बस्तीमा पनि ठूलो संख्यामा परिवारले बस्ती छाडेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार आइतबार दिउँसोसम्म करिब ८० प्रतिशत घरटहरा खाली भइसकेका छन् । उक्त बस्तीमा ७७७ घरटहरा र १ हजार ६ सयभन्दा बढी जनसंख्या बसोबास गर्दै आएको तथ्यांक छ ।
प्रहरीका अनुसार बस्तीमा रहेका धेरै संरचना दुईतले पक्की घरसमेत छन् भने अधिकांश जस्तापाता र ब्लकले बनेका टहरा हुन् । केही व्यक्तिहरूले टहरा तथा घर भाडामा लिएर बसेको दाबी पनि गरेका छन् । बस्तीका स्थानीयले राज्यले उचित व्यवस्थापन र क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । उनीहरूले दीर्घकालीन समाधान बिना बस्ती हटाउँदा समस्या झन् जटिल बन्ने बताएका छन् ।न्युज२४ दैनिकबाट
प्रतिक्रिया