सिन्धुपाल्चोक । ‘सिन्धुको पानी, सिन्धुपाल्चोककै लगानी’ को अवधारणा अनुरुप भोटेकोशी-५ जलबिद्युत आयोजना शुरु भएको छ।सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे क्षेत्रमा कालिका इनर्जी लिमिटेडले निर्माण गरिरहेको भोटेकोशी–५ जलविद्युत आयोजनाले स्थानीय समुदायको हितलाई उच्च प्राथमिकता दिँदै ४६ मेघावाटको आयोजना निर्माण कार्य शुरु गरेको हो ।
विद्युत उत्पादन गर्ने माध्यम मात्र नभई, स्थानीय विकास, रोजगारी, पर्यावरण संरक्षण र दीर्घकालीन समृद्धिको एउटा महत्वपूर्ण आधार बन्दै गएको सिन्धुपाल्चोकमै जन्मिएका जलबिद्युत व्यवसायी मोहनबिक्रम कार्कीले बताए । आयोजनाको डिजाइन गर्दा रक क्लास (ढुंगा तथा भूगर्भको अवस्था) को विस्तृत अध्ययन गरी बस्ती पूर्णरूपमा सुरक्षित हुने गरी संरचना निर्माण गरिएको छ । कुनै पनि जोखिमलाई न्यूनीकरण गर्न वैज्ञानिक तथा प्राविधिकरूपमा सबल डिजाइन तयार पारिएको छ ।
आयोजनाले सबै कानुनी, प्राविधिक तथा प्रशासनिक प्रक्रिया पूरा गरेको छ । प्रभावित क्षेत्रका बासिन्दाको मागलाई अधिकतम सम्बोधन गर्दै बाह्रबिसे बजार क्षेत्र, कल्लेरी, खरिबोटे, जम्बू, नेपालगाउँ, सिरिसे र सिगार्चेका स्थानीय सरोकारवालाहरूसँग सम्झौता भइसकेको छ । एजी रिसर्च एण्ड ट्रृनिग प्रालिमार्फत अतिप्रभावित क्षेत्रका घरधुरी सर्वेक्षण गरी रिपोर्टसमेत तयार पारिएको छ । आयोजनाले भविष्यमा स्थानीयहरूका उचित माग आएमा थप सम्झौता गर्न पनि तयार रहेको जनाएको छ । आयोजनाले खानेपानीको सम्भावित प्रभावलाई ध्यानमा राखी खानेपानीका योजनाहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।
यसबाहेक, हिउँदको समयमा खोलामा कम्तीमा २० प्रतिशत पानी (आयोजनाले खोलामा १० प्रतिशत छोड्ने र बाँकी खोला-खोल्साबाट) निरन्तर बग्ने व्यवस्था मिलाइएको छ । आयोजनाको सुरुङ्गबाट ५० क्युसेक पानी जाने भएकाले उच्च बाढीको अवस्थामा समेत बाह्रबिसे क्षेत्रलाई थप सुरक्षित बनाउने अपेक्षा गरिएको छ । आयोजनाले निर्माण चरणमा प्रवेश गर्दा नै ८२ जनाभन्दा बढी स्थानीय युवाहरूलाई रोजगारी दिइरहेको छ । कामदार छनोट गर्दा सीप, क्षमता र योग्यतालाई प्राथमिकता दिइएको छ ।

यसबाहेक, आयोजनामा प्रयोग हुने मेशिन तथा उपकरणहरू सम्भव भएसम्म स्थानीयबाटै उपलब्ध गराइएको छ, जसले स्थानीय व्यवसायीलाई समेत फाइदा पुर्याएको छ । यो आयोजना ३० वर्ष पश्चात् नेपाल सरकारलाई निःशुल्करूपमा हस्तान्तरण हुने भएकाले यो सरकारकै सम्पत्ति हो । आयोजना सञ्चालन अवधिभर सरकारलाई आयोजनाले कर तथा रोयल्टीहरु बुझाउने छ, जसको हिस्सा स्थानीय तहलाई समेत प्राप्त हुनेछ ।
स्थानीय बासिन्दाहरूलाई १० प्रतिशत शेयरको ग्यारेन्टी गरिएको छ भने संस्थापक शेयरमा पनि स्थानीयलाई प्राथमिकता दिइने आयोजनाले जनाएको छ । आयोजनाको नेतृत्व मोहनविक्रम कार्कीले गरेका छन् । उनले अघिल्ला आयोजनासमेत तोकिएको लागत र समयसीमाभन्दा अगाडि नै सम्पन्न गरेका छन् ।
कालिका इनर्जी लिमिटेडले यो आयोजनालाई ‘सिन्धुपाल्चोकको पानी, सिन्धुपाल्चोककै लगानी’ को अवधारणामा अगाडि बढाएको छ । आयोजनाले सम्भावित जोखिमलाई सम्बोधन गर्न रकमको प्रबन्धसमेत गरेको छ । आयोजना पूरा भएपछि सिन्धुपाल्चोक जिल्लाको विद्युत उत्पादन क्षमता थप बृद्धि हुनुका साथै स्थानीय अर्थतन्त्र चलायमान हुने, रोजगारी बढ्ने र विकासको नयाँ ढोका खुल्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया