• २०८३ जेष्ठ १५ | Fri, 29 May 2026

प्रकृतिको काखमा कविताको उत्सव, पिर्केढुङ्गामा गुञ्जिए सिर्जनाका स्वर

प्रकृतिको काखमा कविताको उत्सव, पिर्केढुङ्गामा गुञ्जिए सिर्जनाका स्वर

काभ्रे । नेपाली कविताको प्रवर्द्धनमा समर्पित संस्था ‘काव्य-कम्पनी’ले काभ्रेको नालामाथि अवस्थित रमणीय पर्यटकीय स्थल पिर्केढुङ्गामा राष्ट्रिय तथा स्थानीय स्रष्टाहरूको सहभागितामा विशेष कविता-उत्सव सम्पन्न गरेको छ ।

प्रकृतिको खुला काखमा आयोजित उक्त कार्यक्रममा १८ जना कविहरूले कविता, मुक्तक र गजल प्रस्तुत गर्दै साहित्यिक वातावरणलाई जीवन्त बनाएका थिए । कार्यक्रममा कवि हरिहर तिमल्सिनाले ‘घर फिर्ने बाटो’, श्रीराम दाहालले ‘वैराग्य’, नवराज उत्साहीले केही गजलका शेर, रामसुन्दर देउजाले ‘खोयाको फिलिङ्गो’, केशब ज्ञवाली ‘आगत’ले ‘समतुल्य’, नवराज रायमाझीले ‘ट्रान्जिट’, शकुन्तला जोशीले ‘वरको बोट’, उपेन्द्र दाहालले ‘अनुभूति र धर्तीमाता’, दियेशरत्न शाक्यले ‘नालन्द’, हरिप्रसाद चौलागाईंले ‘जून उदाए’, रञ्जु दाहालले ‘आमा मरेको दिन’, शिव आर्यले ‘दोरदोर’, जुमन किरणले केही मुक्तक, प्रकाश दाहालले अभिनयसहितको कविता, दिनेश खरेलले ‘हराएको कवि’, विश्व सिग्देलले ‘जङ्गल गइरहेको मान्छेलाई’ तथा प्रोल्लास सिन्धुलीयले ‘शहरको वृद्धालय’ शीर्षकका रचना प्रस्तुत गरेका थिए ।

समकालीन पुस्ताका सक्रिय र चर्चित कविहरूद्वारा कविताको उत्थान तथा सिर्जनात्मक अभियानलाई नयाँ ढङ्गले अघि बढाउने उद्देश्यसहित ‘काव्य-कम्पनी’ स्थापना गरिएको संस्थाका परिकल्पनाकारमध्येका एक आख्यानकार तथा कवि प्रोल्लास सिन्धुलीयले जानकारी दिए । उनका अनुसार यो संस्थाको पहिलो औपचारिक सार्वजनिक कार्यक्रम हो ।

काव्य-कम्पनीमा नियात्राकार तथा छन्दकवि रञ्जु दाहाल, कवि विश्व सिग्देललगायत स्रष्टाहरूको नेतृत्व रहेको छ । संस्थाले आगामी दिनमा आफ्नो साहित्यिक अभियान देशभर विस्तार गर्ने दीर्घकालीन योजना बनाएको कवि रञ्जु दाहालले बताइन् । कवि प्रोल्लास सिन्धुलीयका अनुसार यो अभियान केवल कविता वाचनमा सीमित नभई ओझेलमा परेका प्रतिभाशाली कविहरूको खोजी र सिर्जनात्मक ऊर्जालाई उजागर गर्ने उद्देश्यले अघि बढाइएको हो । कार्यक्रमको सञ्चालन कवि विश्व सिग्देलले गरेका थिए ।

विशेषता के थियो भने कार्यक्रम कुनै सभा हल वा बन्द कोठामा नभई प्रकृतिको खुला अँगालोमा आयोजना गरिएको थियो । सहभागी कविहरू शेराबाट करिब एक घण्टाको ठाडो उकालो पैदल यात्रा गर्दै पिर्के ढुङ्गासम्म पुगेका थिए । विशाल ढुङ्गामाथि बसेर कविता वाचन भइरहँदा कहिले चर्को घाम त कहिले वर्षाको फुहारले कार्यक्रमलाई अझ रोमाञ्चक बनाएको थियो ।

कार्यक्रमपश्चात् पिर्केढुङ्गामुनिको तपस्थलीमा श्रीराम दाहालको नेतृत्वमा प्रारम्भिक चरणमा रहेको ‘स्वयम्भू वेदान्त विद्यापिठ’ले सहभागीहरूलाई खाजासहित विदाइ गरेको थियो । यसअघि ९ गते नै नाला पुगेको काव्य-कम्पनी टोलीले सोही साँझ काव्यसन्ध्याको आयोजना गर्नुका साथै मध्यरातमा ब्रह्मदेव पार्कसम्म काव्य चर्चा गर्दै यात्रासमेत सम्पन्न गरेको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ १०, आईतवार २१:१२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP