सिन्धुपाल्चोक । बागमती प्रदेश सरकार अन्तर्गतको सामाजिक विकास मन्त्रालय, प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद तथा मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित ३९० घण्टे मन्टेश्वरी तालिम सम्पन्न भएको छ । तालिम समापन कार्यक्रम मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका अध्यक्ष एवं मेलम्ची नगरपालिकाका उपप्रमुख प्रधानले महिला तथा युवाहरूको क्षमता विकास र आत्मनिर्भरताका लागि नगरपालिकाले निरन्तररूपमा सीपमूलक कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्नुभयो । उहाँले तालिममा सहभागीहरूले हासिल गरेको सीपलाई विद्यालय तथा समुदायमा प्रभावकारीरूपमा प्रयोग गरी गुणस्तरीय बाल शिक्षा प्रवर्द्धनमा योगदान दिनुपर्ने धारणा राख्नुभयो ।
त्यस्तै कार्यक्रमका अतिथी एवं मेलम्ची नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्रराज खरेलले प्रारम्भिक बाल शिक्षाको गुणस्तर अभिवृद्धिमा मन्टेश्वरी शिक्षाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्दै बालबालिकाको समग्र विकासमा योगदान पुर्याउन प्रशिक्षार्थीहरूलाई आग्रह गर्नुभयो । साथै, यस्ता सीपमूलक तथा व्यावसायिक तालिमहरूले स्थानीयस्तरमा दक्ष जनशक्ति उत्पादन गरी रोजगारी र स्वरोजगारका अवसर सिर्जना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
३९० घण्टे अवधिको उक्त मन्टेश्वरी तालिममा सहभागी प्रशिक्षार्थीहरूले प्रारम्भिक बाल शिक्षा, बाल मनोविज्ञान, शिक्षण विधि तथा बालमैत्री सिकाइ वातावरण निर्माणसम्बन्धी ज्ञान र व्यावहारिक सीप हासिल गरेको नगरपालिकाका रोजगार संयोजक रन्जन श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा इन्द्रावती क्याम्पसका सहायक क्याम्पस प्रमुख यादव दुलाल इन्द्रेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक देवी श्रेष्ठ, प्रशिक्षार्थी तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । समापन समारोहमा सफलतापूर्वक तालिम पूरा गरेका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो ।
प्रतिक्रिया