• २०८३ असार ३१ | Wed, 15 Jul 2026

काभ्रेको मण्डनदेउपुरलाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन नगर घोषणा

काभ्रेको मण्डनदेउपुरलाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन नगर घोषणा

ज्ञानमणि नेपाल कालोटोपी
महादेवस्थान, काभ्रे । काभ्रेको मण्डनदेउपुर नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन नगर घोषणा गरिएको छ । आइतबार नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन नगर घोषणा गरिएको हो । नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रममा नगरभित्रका सामुदायिक विद्यालयका शिक्षक, शिक्षिका, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विभिन्न वडाका वडाध्यक्षहरु, विद्यार्थीहरु एवं सरोकारवालाहरुको उपस्थित थियो । जसको अध्यक्षता नगरपालिकाका कार्यबाहक प्रमुख विष्णुमणि नेपालले गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यबाहक प्रमुख नेपालले नगरका सबै वडा र सबै विद्यालयले अनिवार्य र निःशुल्क शिक्षा घोषणा गरिसकेकाले नगरपालिकाले यसलाई संस्थागत गर्नका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले नगरपालिका सहयोगी सबैप्रति आभार व्यक्त गर्दछ भन्नु हुँदै शिक्षा क्षेत्रमा यो अभियान नगरकै ठूलो सफलता भएको बताउनुभयो । आगामी दिनमा पनि यसलाई निरन्तरता दिने गरि काम गर्न उहाँले सरोकारवाला सबैमा अनुरोध पनि गर्नुभएको छ ।

कार्यक्रममा उपस्थितहरुलाई स्वागत गर्दै नगरका सामाजिक विकास समितिका संयोजक एवं वडानम्बर ८ का वडाध्यक्ष निरञ्जन विष्टले कार्यक्रमको उद्देश्यका बारेमा जानकारी दिनुभएको थियो । उहाँले नगरको लामो समयको प्रयासपछि अनिवार्य तथा निःशुल्क शिक्षा नगर घोषणा गर्न सफल भएको बताउनुभयो ।

नगरस्तरिय बाल संजालकी संयोजक रोशनी रम्तेलले अनिवार्य तथा निःशुल्क नगर घोषणा हुनु गौरवको कुरा भएको र यसबाट आफूहरु निकै खुशी भएको बताउनुभयो । कार्यक्रममा वडानम्बर १२ स्थित बागदेवी माविका प्रधानाध्यापक हिमाल केसीले अनिवार्य तथा निःशुल्क नगर घोषणा एउटा चुनौतीको विषय रहेको उल्लेख गर्दै अझै पनि विद्यालयहरुमा धेरै समस्याहरु भएकाले नगरले ती समस्याहरु समाधानका लागि उल्लेख्य भूमिका निभाउनु पर्नेमा जोड दिनुभयो ।

डेडीथुम्का माविका प्रधानाध्यापक शिवकुमार पौडेलले विद्यालयहरुमा भएका धेरै समस्याहरु मध्ये विजुली वत्ती र पानीलगायतको बिल नगरपालिकाले तिरिदिने हो भने निकै सहजिकरण हुने र विद्यार्थी तथा अभिभावकहरुमा कुनै शुल्क लिनु नपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नगरका नीति तथा योजना आयोगका उपाध्यक्ष गोकुल गौतम, नगर शिक्षा समितिका सदस्य ध्रुर्व काफ्ले, नेपाली कम्युनिष्ट पार्टीतर्फबाट डिल्लीप्रसाद आचार्य, नेकपा एमालेका तर्फबाट झलक पौडेल, नेपाली कांग्रेसका नगर सभापति कश्यपप्रसाद पौडेललगायतले नगरपालिकाले विभिन्न सूचकहरु पूरा गरेपछि आज अनिवार्य तथा निःशुल्क शिक्षा नगर घोषणा भएको उल्लेख गर्दै यसले नगरले शिक्षा क्षेत्रमा गरेको लगानीले सफलता पाएको बताउनुभएको थियो । तर अझै पनि उल्लेख्य उपलब्धी लिनका लागि विभिन्न समस्याहरु रहेका र यसप्रति नगरले गर्नुपर्ने कामहरु धेरै भएको बताउनुभयो ।

नगरपालिकाका प्रवक्ता एवं वडानम्बर ३ का वडाध्यक्ष पुरुषोत्तम बजगाईंले नगरपालिका शिक्षा क्षेत्रमा थप लगानी गरि नागरिकले पाउनु पर्ने अनिवार्य र निःशुल्क शिक्षाका लागि निरन्तरता दिन प्रतिबद्ध रहेको बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले सबैका गुनासो र सुझाव तथा सल्लाह अनुसार आगामी दिनमा अघि बढ्ने बताउँदै आउने आर्थिक वर्षबाटै लागू हुने गरि सबै विद्यार्थीको परीक्षामा लाग्ने खर्च नगरपालिकाले बेहोर्ने घोषणा गर्नुभयो । उहाँले यसका नाममा विद्यालयहरुले लिइरहेको परीक्षा शुल्क अबदेखि नलिन भन्दै थप सुधारका कामहरु के गर्न सकिन्छ भन्नेमा नगरपालिकाले ठोस निर्णय गर्ने बताउनुभयो ।

कार्यक्रममा सेवा निवृत्त शिक्षक केशव सापकोटालाई दोसल्ला ओडाएर सम्मान र बिदाइका साथै अनिवार्य तथा निःशुल्क शिक्षा घोषणाका लागि सहयोग गर्ने सबै वडाहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रम शिक्षा शाखा प्रमुख बिनोद कार्कीले संचालन गर्नुभएको थियो । नगरपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा नगर घोषणाका लागि नगरका ७ हजार ३५६ वटा घरधुरी सर्वेक्षण गरिएको शाखा प्रमुख कार्कीले कालाेटाेपी डटकमलाई जानकारी दिनुभयो ।



कालोटोपी कालोटोपी    
  • २०८३ जेष्ठ ३१, आईतवार १७:२५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP