ज्ञानमणि नेपाल कालोटोपी
बनेपा। लागूऔषधविरुद्धको अन्तर्राष्ट्रिय दिवस (जुन २६) को अवसरमा आयोजित सप्ताहव्यापी सचेतना कार्यक्रम आजदेखि शुभारम्भ गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपक गौतमले उद्घाटन गर्दै लागूऔषधको सेवनले व्यक्तिको भविष्य मात्र नभई समाज र राष्ट्रलाई समेत गम्भीर असर पार्ने भएकाले यसको नियन्त्रण तथा न्यूनीकरणमा सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख रविन कार्कीले सप्ताहव्यापी कार्यक्रमको उद्देश्य तथा विभिन्न गतिविधिबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालयका तर्फबाट योगिता खनालले सवारी चालकहरूले मादक पदार्थ तथा लागूपदार्थ सेवन गरेको छ कि छैन भन्ने परीक्षणका क्रममा देखिने चुनौतीबारे जानकारी दिनुभयो । त्यसैगरी सवारी चालकका तर्फबाट श्रीराज थापाले आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले लागूपदार्थ सेवन परीक्षण केही जटिल भए पनि नियमितरूपमा चेकजाँच भइरहेको जानकारी दिँदै असार १२ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी कार्यक्रमबारे समेत प्रकाश पार्नुभयो ।
असार ६ गतेदेखि सुरु भएको उक्त कार्यक्रम असार १२ गते समापन हुनेछ । कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण निकाय तथा व्यक्तिहरूप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।
लागूऔषध सेवनले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई असर गर्ने भएकाले यसको रोकथाम र नियन्त्रण सबैको साझा दायित्व भएको वक्ताहरुले बताएका थिए।
प्रतिक्रिया