• २०८३ भाद्र ३ | Wed, 19 Aug 2026

५१ वर्षपछि भुम्लुका नागरिकको हातमा लालपूर्जा, अध्यक्ष भुजेलले पनि लिए जग्गाधनी प्रमाणपत्र

५१ वर्षपछि भुम्लुका नागरिकको हातमा लालपूर्जा, अध्यक्ष भुजेलले पनि लिए जग्गाधनी प्रमाणपत्र

ज्ञानमणि नेपाल कालाेटाेपी
भुम्लु, काभ्रेपलाञ्चोक । पाँच दशकभन्दा लामो समयदेखि जग्गाधनी प्रमाणपत्रको पर्खाइमा रहेका काभ्रेकाे भुम्लु गाउँपालिका–७ र ८ का नागरिकको लामो प्रतीक्षा अन्त्य भएको छ । भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले पनि आफ्ना वडावासीले लालपूर्जा पाएपछि मात्र आफूले जग्गाधनी प्रमाणपत्र लिने गरेको संकल्प पूरा गरेका छन् ।

लालपूर्जा प्राप्त गरेपछि अध्यक्ष भुजेलले आफूले गरेको संकल्प र चुनावी बाचा पूरा गर्न निरन्तर गरेको मिहेनत, प्रयास र संघर्षको प्रतिफल प्राप्त हुँदा आत्मसन्तुष्टि महसुस भएको बताए । “सबै नागरिकले जग्गाधनी पूर्जा प्राप्त गरेपछि मात्र अन्तिममा आफूले पनि जग्गाधनी पूर्जा लिने संकल्प गरेको थिएँ । त्यसैले आज मैले पनि जग्गाधनी पूर्जा प्राप्त गरेको छु ।,” उनले भने ।

उनका अनुसार भुम्लु–७ का ६१० र भुम्लु–८ का करिब ९०० गरी जम्मा १ हजार ६१० परिवारका करिब ९ हजार कित्ताको जग्गाधनी प्रमाणपत्र बनाउन सफल भएको छ । यस कार्यमा करिब ९० प्रतिशत सफलता प्राप्त भएको उनले कालाेटाेपी डटकमसँगकाे कुराकानीमा बताए । अध्यक्ष भुजेलले यो उपलब्धि कुनै एक व्यक्तिको प्रयासबाट मात्र सम्भव नभएको भन्दै समग्र नागरिकको निरन्तरको प्रयास, सहयोग र धैर्यको प्रतिफल भएको बताए ।

भुम्लुका हालका वडा नम्बर ७ र ८ का बासिन्दा विसं २०३२ सालदेखि नै जग्गाधनी प्रमाणपत्रको पर्खाइमा थिए । तत्कालीन भुम्लु र फलाँटे गाविसअन्तर्गत रहेका यी क्षेत्रमा नापजाँचको काम भए पनि लामो समयसम्म जग्गाधनी प्रमाणपत्र वितरण हुन सकेको थिएन । गत वर्ष भदौ ३ गते भुम्लु गाउँपालिकामा आयोजित लालपूर्जा वितरण कार्यक्रममा अध्यक्ष भुजेलले आफू पनि लालपूर्जाविहीन नागरिक रहेको पीडादायी अवस्था सुनाएका थिए । त्यतिबेला आफू जन्मिनुभन्दा सात वर्षअघिदेखि सुरु भएको समस्या अन्त्य हुन लागेको भन्दै उनले सबैको सहयोगबाट मात्रै यो सम्भव भएको बताएका थिए । लामो प्रतीक्षा र संघर्षपछि गत वर्ष भदौ ३ गते वडा नम्बर ७ का १७७ जना र वडा नम्बर ८ का २४६ जनालाई लालपूर्जा वितरण गरिएको थियो । तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले यहाँका नागरिकलाई लालपूर्जा वितरणको सुरुवात गरेका थिए ।

पाँच दशक लामो संघर्षको अन्त्य
साबिकको फलाँटे र भुम्लुटार गाविसमा विसं २०३२ सालमै नापजाँच सम्पन्न भए पनि जग्गाधनी प्रमाणपत्र बाँडफाँट हुन सकेको थिएन । सीमाना विवाद, नापीमा भएका त्रुटि, कागजात अद्यावधिकको अभाव, भूकम्प तथा महामारीलगायतका कारण स्थानीयवासीले आफूले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गाको स्वामित्व प्रमाणित गर्ने प्रमाणपत्र पाउन सकेका थिएनन् । लालपूर्जा नभएकै कारण स्थानीयले घरजग्गा धितो राखेर ऋण लिन तथा जग्गा किनबेच गर्नसमेत समस्या भोग्दै आएका थिए । कतिपयले भूकम्पपीडितका रूपमा पाउने राहतसमेत प्राप्त गर्न सकेनन् । लामो समयसम्म लालपूर्जा पाउने आशामा बसेका कतिपय स्थानीयले जीवन नै त्यागिसकेको स्थानीयको भनाइ छ ।

यस समस्याको समाधानका लागि २०७१ जेठ २५ गतेदेखि स्थानीय तहमा नापी टोली परिचालन गरी काम अघि बढाइएको थियो । साबिक पिपलटार गाविस हुँदादेखि नै खेतीयोग्य जमिनका रूपमा प्रयोग हुँदै आएको ‘टार’ क्षेत्र पिपलटार गाविस विभाजन भएपछि भुम्लुटार र फलाँटे दुवै गाविसमा परेको थियो । खेतीयोग्य जमिनमा दुवै गाविसले दाबी गरेपछि सीमाना विवाद उत्पन्न भएको थियो । विसं २०३२ सालमा नापी गर्न गएको टोली र दुवै गाविसका नेतृत्वबीचको विवादका कारण नापीको काम अघि बढ्न सकेन ।

विसं २०३५ सालमा पुनः प्रयास भए पनि काम सम्पन्न हुन नसकेपछि स्थानीयवासीको लालपूर्जा प्राप्त गर्ने सपना झनै लम्बिएको थियो । तर, दशकौँ लामो प्रयास, स्थानीयवासीको निरन्तर दबाब तथा सम्बन्धित निकायको पहलपछि अहिले भने भुम्लु–७ र ८ का अधिकांश नागरिकको हातमा जग्गाधनी प्रमाणपत्र पुगेको छ । यससँगै पाँच दशकभन्दा लामो समयदेखि कायम रहेको लालपूर्जाविहीन अवस्थाको अन्त्य भएको अध्यक्ष भुजेलले कालाेटाेपी डटकमसँग बताएका छन् ।

तस्बीरः प्रेमबहादुर भुजेल



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र ३, बुधबार २२:०३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP