• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

काभ्रेको बेथानचोकमा ३६९ वटा पानीका मुहान पहिचान

काभ्रेको बेथानचोकमा ३६९ वटा पानीका मुहान पहिचान

काभ्रे । काभ्रेको बेथानचोक गाउँपालिकामा ३६९ वटा पानीका मुहान पहिचान भएका छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ICIMOD) ले गरेको सर्वेक्षणपछि गाउँपालिकाभित्र रहेका ३६९ वटा पानीका मुहान पहिचान गरिएको हो ।

गाउँपालिकाको समन्वयमा सम्पन्न सर्वेक्षणबाट स्थानीयस्तरमा रहेका पानीका स्रोतको अवस्थाबारे महत्वपूर्ण तथ्यांक प्राप्त भएको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिचान भएका मुहानको संरक्षण, उचित व्यवस्थापन तथा दिगो उपयोगका लागि अब थप योजनाबद्ध रूपमा काम गर्न सहज हुनेछ ।

अध्यक्ष अधिकारीले पानीका मुहान संरक्षणसँगै पानीको पुनर्भरण बढाउनेतर्फ समेत ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले जलवायु परिवर्तन तथा बढ्दो पानीको संकटका कारण भविष्यमा पानीका स्रोत थप संवेदनशील बन्न सक्ने भएकाले अहिले नै मुहान संरक्षणमा सबैको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो ।

“पहिचान भएका मुहानको संरक्षण गर्ने, पानीको पुनर्भरण बढाउने र भावी पुस्ताका लागि स्वच्छ तथा पर्याप्त पानी सुनिश्चित गर्ने जिम्मेवारी हामी सबैको हो,” अध्यक्ष अधिकारीले भन्नुभयो । बेथानचोकमा पहिचान भएका पानीका मुहानलाई व्यवस्थित रूपमा संरक्षण र उपयोग गर्न सके खानेपानीको दीर्घकालीन समस्या समाधानमा सहयोग पुग्नुका साथै कृषि, वातावरण संरक्षण र स्थानीय जनजीवनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

गाउँपालिकाले पानीका मुहान संरक्षणलाई प्राथमिकतामा राख्दै स्थानीय समुदायको सहभागितामा मुहान जोगाउने, पानीका स्रोतको पुनर्भरण बढाउने तथा उपलब्ध पानीको दिगो व्यवस्थापन गर्ने योजना अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ । “मुहान जोगाऔँ, पानी बचाऔँ र बेथानचोकको भविष्य सुरक्षित बनाऔँ” भन्ने सन्देशसहित पानीका स्रोत संरक्षणमा स्थानीय तह, समुदाय र सरोकारवाला सबैको सहकार्य आवश्यक रहेको अध्यक्ष अधिकारीले बताउनुभयो ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र ८, सोमबार १७:४५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP