• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

भाेटेकाेशी बाढी प्रभावित क्षेत्रमा हालसम्म खोज, उद्धार र राहत के कसरी भइरहेकाे छ ?

भाेटेकाेशी बाढी प्रभावित क्षेत्रमा हालसम्म खोज, उद्धार र राहत के कसरी भइरहेकाे छ ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विपदबाट प्रभावित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको जीवनरक्षा र सुरक्षित भविष्यका लागि आफूले हृदयदेखि प्रार्थना गरेको बताउनुभएको छ । उहाँले विपद्को कठिन घडीमा राज्य प्रभावित प्रत्येक परिवारको साथमा रहेको र उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री शाहले आज भएका खोज, उद्धार, राहत, पुनःस्थापना तथा पूर्वाधार पुनर्निर्माणका प्रगतिबारे जानकारी दिँदै सरकारको सम्पूर्ण ध्यान अहिले प्रभावित नागरिकको उद्धार तथा राहतमा केन्द्रित रहेको बताउनुभएको हो ।

उहाँका अनुसार खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालका गरी १५ हजार ४३१ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएका छन् । नेपाल प्रहरीका ४ हजार ४७३, नेपाली सेनाका ६ हजार ७५५ र सशस्त्र प्रहरी बल नेपालका ४ हजार २०३ जना सुरक्षाकर्मी रसुवा तथा भोटेकोशी–त्रिशूली करिडोरलगायत प्रभावित क्षेत्रमा परिचालित छन् । हालसम्म ४ हजार ४५१ जनाको उद्धार गरिएको प्रधानमन्त्री शाहले जानकारी दिनुभएको छ । उद्धार गरिएकामध्ये जलविद्युत् सुरुङबाट १९१ जना तथा आज गरिएको हवाई उद्धारबाट ५१७ जना रहेका छन् । नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर परिचालन गरी धुन्चे, त्रिशूली, टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा निरन्तर हवाई उद्धार भइरहेको छ । हालसम्म ९९ वटा हवाई उडान सम्पन्न भएका छन् । पछिल्लाे जानकारी अनुसार ५७९ जनाकाे शव फेला परेकाे छ ।

उद्धारसँगै प्रभावित क्षेत्रमा राहत सामग्री पुर्‍याउने कामसमेत तीव्र पारिएको छ । हालसम्म ३२ ट्रक खाद्य तथा गैरखाद्य सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ भने हेलिकप्टरमार्फत ६ वटा उडानबाट थप राहत सामग्री पुर्‍याइएको छ । प्रभावित क्षेत्रमा सञ्चारका लागि आवश्यक सेटसमेत पठाइएको जनाइएको छ । प्रधानमन्त्री शाहले सुरुङमा फसेका नागरिक तथा कामदारको उद्धारलाई उच्च प्राथमिकता दिइएको बताउनुभएको छ। Upper Trishuli Hydropower Project, रसुवागढी जलविद्युत् केन्द्र तथा अन्य जोखिमयुक्त सुरुङमा फसेकाको खोज तथा उद्धार जारी रहेको र आवश्यक विशेष उद्धार उपकरणसमेत परिचालन गरिएको उहाँको भनाइ छ ।

बेपत्ता नागरिक तथा शवको खोजी कार्यलाई तल्लो तटीय क्षेत्रमा समेत विस्तार गरिएको छ । रसुवादेखि नुवाकोट, धादिङ हुँदै गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्मको त्रिशूली–नारायणी नदी करिडोरमा थप सुरक्षाकर्मी परिचालन गरी खोजी कार्य भइरहेको छ । विदेशी नागरिकको खोज, उद्धार तथा पहिचानका लागि पनि विशेष समन्वय भइरहेको प्रधानमन्त्री शाहले बताउनुभएको छ । हालसम्म १२९ जना विदेशी पर्यटक तथा नागरिकको उद्धार तथा पहिचान भएको र परराष्ट्र मन्त्रालयले सम्बन्धित दूतावास तथा परिवारसँग समन्वयका लागि Emergency Control Room सञ्चालन गरेको जानकारी दिइएको छ ।

विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक रहेको प्रधानमन्त्री शाहले स्पष्ट पार्नुभएको छ । भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र सामग्रीबारे निरन्तर समन्वय भइरहेको उहाँले बताउनुभएको छ । हेलिकप्टर परिचालन गर्दा हवाई सुरक्षा, भौगोलिक पहुँच र वास्तविक आवश्यकतालाई ध्यानमा राखिएको उहाँको भनाइ छ । भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनःबाढीको जोखिमलाई ध्यानमा राख्दै निरन्तर निगरानी भइरहेको छ । सम्भावित जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना तथा सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गरिएको छ । जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ भने २ लाखभन्दा बढी SMS Alert मार्फत पूर्वसूचना दिइएको छ ।

प्रधानमन्त्री शाहका अनुसार राहत तथा उद्धार कार्यको प्रत्यक्ष नेतृत्व र समन्वयलाई प्रभावकारी बनाइएको छ । गृहमन्त्री स्वयं प्रभावित जिल्लामा स्थलगत रूपमा उपस्थित भई सुरक्षा निकाय, स्थानीय प्रशासन, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गर्दै आवश्यक निर्देशन दिइरहनुभएको छ । सडक सम्पर्क पुनःस्थापनालाई पनि तीव्रता दिइएको छ । वैकल्पिक सडकमार्ग सञ्चालनमा ल्याई साना चारपाङ्ग्रे सवारीसाधन चल्न थालेका छन् । काठमाडौं–मुग्लिङ सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ ।

त्यस्तै, रसुवालाई पुनः सडक सञ्जालसँग जोडिएको छ । काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चेसम्मको वैकल्पिक सडक साना चारपाङ्ग्रे सवारीसाधनका लागि सञ्चालनमा आएको छ । क्षतिग्रस्त पुलमा बाइपास खोल्ने कामसमेत सुरु गरिएको छ । नियमित सडक सम्पर्कका लागि भारत तथा चीनबाट ४८ मिटर लम्बाइका १० वटा Bailey Bridge उपलब्ध गराउन औपचारिक पहल गरिएको छ ।

प्रभावित क्षेत्रमा खानेपानी, इन्धन तथा सरसफाइको तत्काल व्यवस्था गरिएको छ । नुवाकोटमा KUKL का चार वटा वाटर ट्याङ्कर परिचालन गरिएको छ भने सुरक्षित खानेपानीका लागि ९०० केजी ब्लिचिङ पाउडर प्रभावित क्षेत्रमा पठाइएको छ । नुवाकोटका विभिन्न आयल स्टोरमा डिजल ४१ हजार लिटर र पेट्रोल २४ हजार लिटर मौज्दात रहेको तथा १७ हजार लिटर हवाई इन्धन नुवाकोट पठाइएको जानकारी दिइएको छ ।

प्रभावित क्षेत्रको क्षतिको विस्तृत मूल्यांकनसमेत सुरु गरिएको छ । सडक, पुल, विद्युत्, खानेपानी, दूरसञ्चार, जलविद्युत् तथा अन्य संरचनाको क्षति मूल्यांकनका लागि Sectoral Groups तथा १५ वटा प्राविधिक टोली परिचालन गरिएको छ । स्वास्थ्य सेवा निरन्तर राख्न स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र सक्रिय गरिएको छ । वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, धुलिखेल अस्पताललगायतबाट मेडिकल टोली परिचालन गरिएको छ भने ६ वटा अस्पताललाई standby अवस्थामा राखिएको छ । आवश्यक औषधि तथा स्वास्थ्य सामग्री प्रभावित क्षेत्रमा पठाइनुका साथै कम्तीमा ५ हजार जनसंख्यालाई लक्षित गरी टेन्ट तथा आपतकालीन स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको छ ।

दूरसञ्चार सेवाको पुनःस्थापनामा पनि प्रगति भएको छ । प्रभावित १९८ टावर/साइटमध्ये १४५ वटा सञ्चालनमा आएका छन् । नेपाल टेलिकमका १२० मध्ये ८२ र एनसेलका ७८ मध्ये ६३ वटा साइट सञ्चालनमा आएका छन् । बाँकी साइटमा पनि आवश्यक प्राविधिक तथा ऊर्जा स्रोत परिचालन गरी सेवा पुनःस्थापनाको काम भइरहेको छ । विद्युत् सेवा पुनःस्थापनातर्फ नुवाकोटमा करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा सुचारु भएको छ । धुन्चेमा विद्युत् सेवा सञ्चालनका लागि आवश्यक काम भइरहेको जनाइएको छ ।

जोखिममा रहेका परिवारका लागि सुरक्षित बसोबास तथा आवतजावतको व्यवस्था पनि अघि बढाइएको छ । Emergency Shelter का लागि स्थल पहिचान तथा Relocation को काम भइरहेको छ । सडक तथा पुल अवरुद्ध भएका बस्तीमा पहुँच सहज बनाउन रसुवा तथा नुवाकोटका करिब १० स्थानमा तुइन निर्माणको काम अघि बढाइएको छ । राहत, उद्धार तथा पुनःस्थापनाका लागि आर्थिक स्रोतसमेत परिचालन भइरहेको छ। बाढी तथा विपद्बाट प्रभावित १५ वटा स्थानीय तहलाई तत्काल राहत तथा उद्धारका लागि कुल ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराइएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो करिब ३६ घण्टामा १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको जानकारी दिइएको छ ।

प्रभावित व्यक्ति, परिवार तथा व्यवसायका लागि राहत तथा पुनःस्थापना प्याकेज तयार गर्ने काम भइरहेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थालाई लक्षित Business Recovery Package तयार गर्ने कामसमेत अघि बढाइएको छ । प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूको एक महिनाको तलब तथा पारिश्रमिक उद्धार कोषमा जम्मा गर्ने व्यवस्था अघि बढाइएको जनाइएको छ । राहत, उद्धार तथा पुनःस्थापनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगलाई एकीकृत रूपमा परिचालन गरिएको छ । सुरक्षा निकाय, स्वास्थ्य संस्था, रेडक्रस, नेपाल स्काउट, स्वयंसेवी संस्था, निजी क्षेत्र तथा विकास साझेदारसँग समन्वय गरी आवश्यक स्रोतसाधन परिचालन भइरहेको प्रधानमन्त्री शाहले बताउनुभएको छ ।

यसैबीच, नेपाली MMA खेलाडी रवीन्द्र ढाँटले ‘Road to UFC’ मा जित हासिल गर्दै फाइनलमा प्रवेश गर्नुभएकोमा प्रधानमन्त्री शाहले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ । नेपालमा आएको विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुभएकोमा उहाँलाई नेपाल सरकारको तर्फबाट धन्यवाद दिँदै प्रधानमन्त्री शाहले रवीन्द्रको सफलता सम्पूर्ण नेपाली खेलप्रेमी तथा राष्ट्रकै लागि गौरवको विषय भएको बताउनुभएको छ । प्रधानमन्त्री शाहले विपद्को यस कठिन समयमा सरकार मैदानको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र स्रोतसाधन त्यहीअनुसार परिचालन गर्ने गरी निरन्तर काम गरिरहेको बताउनुभएको छ । “सरकारको सम्पूर्ण ध्यान अहिले प्रभावित नागरिकमै केन्द्रित छ। उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ,” प्रधानमन्त्री शाहको सन्देशमा भनिएको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र १२, शुक्रबार २०:४५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    भर्खरै
    TOP