• २०८३ भाद्र १६ | Tue, 01 Sep 2026

५१ वर्षको पर्खाइपछि धुलिखेल-८ की पुतली मिजारको परिवारले पायो जग्गाधनी पूर्जा

५१ वर्षको पर्खाइपछि धुलिखेल-८ की पुतली मिजारको परिवारले पायो जग्गाधनी पूर्जा

कालाेटाेपी डटकम
काभ्रे । काभ्रेको धुलिखेल नगरपालिका–८ निवासी पुतली मिजारको परिवारले ५१ वर्ष लामो पर्खाइपछि आफ्नो जग्गाको जग्गाधनी पूर्जा प्राप्त गरेको छ । पुस्तौँदेखि भोगचलन गर्दै आएको करिब ६ रोपनी जग्गाको स्वामित्वसम्बन्धी कागजात प्राप्त भएपछि परिवारमा खुसी छाएको छ ।

वि.सं. २०३२ सालमा तत्कालीन समयमा रु. ६५० मा करिब ६ रोपनी जग्गा राजीखुसी खरिद गरी राजीनामा पास गरेर लिएको भए पनि मिजार परिवारले लामो समयसम्म जग्गाधनी पूर्जा प्राप्त गर्न सकेको थिएन । मालपोतमा लिखत भए पनि जग्गा दर्ता हुन नसक्दा परिवारले वर्षौँदेखि आफ्नै जग्गाको कानुनी स्वामित्वको प्रमाणपत्र पाउन सकेको थिएन । पूर्जा प्राप्तिका लागि परिवारले वि.सं. २०४५ सालदेखि निरन्तर प्रयास गर्दै आएको थियो । लामो समयसम्म विभिन्न प्रक्रियामा अल्झिएको उक्त विषय अन्ततः धुलिखेल नगरपालिका–८ का वडा अध्यक्ष विनोद गौतमको पहल तथा सम्बन्धित निकायको सहजीकरणमा टुंगिएको हो ।

वडा अध्यक्ष गौतमका अनुसार करिब एक वर्षअघि पुतली मिजारका छोरा मानबहादुर वडा कार्यालयमा आएर आफूहरू पुस्तौँदेखि बसोबास गर्दै आएको जग्गाको पूर्जा नपाएको गुनासो गरेका थिए । त्यसबेला मानबहादुरले आफू ५० वर्षको भइसकेको र आफू जन्मनुभन्दा एक वर्षअघि बुवाले खरिद गरेको जग्गाको पूर्जा अहिलेसम्म प्राप्त गर्न नसकेको बताएका थिए। परिवारको समस्या सुनेपछि वडा अध्यक्ष गौतमले आफ्नो कार्यकालमै उक्त विषय टुंगोमा पुर्‍याउने प्रतिबद्धता जनाएका थिए । लामो प्रयासपछि अहिले परिवारले जग्गाधनी पूर्जा प्राप्त गरेको गौतमले बताए । “आज एउटा परिवारले आफ्नो घरबासको कानुनी सुरक्षा पाएको छ । ५१ वर्षदेखिको अधुरो सपना पूरा भएको छ । एउटा परिवार सुकुम्बासी बन्नबाट जोगिएको छ,” वडा अध्यक्ष गौतमले कालाेटाेपी डटकमसँग भने ।

गौतमले उक्त कार्यमा काभ्रे मालपोत कार्यालयका प्रमुख हरिकृष्ण सुवेदीको महत्वपूर्ण भूमिका रहेको बताए । उनका अनुसार सुवेदीले प्रक्रियालाई सहजीकरण गर्दै लामो समयदेखि रोकिएको विषय टुंग्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यस्तै, जग्गादाता मानकुमारी बडालका छोरा विष्णु बादलले समेत जग्गा दर्ता प्रक्रियामा आवश्यक सहयोग र सहजीकरण गरेको गौतमले जानकारी दिए । दर्ता प्रक्रियामा लेखापढी व्यवसायी यादव गिरी, सम्बन्धित फाँटका कर्मचारी तथा पटक–पटक फिल्डमा पुगेर मुचुल्का तयार गर्ने र आवश्यक सहजीकरण गर्ने कर्मचारीहरूको समेत योगदान रहेको वडा अध्यक्ष गौतमले बताए ।

मिजार परिवार आर्थिक रूपमा विपन्न तथा दलित समुदायको परिवार भएकाले लामो समयदेखि स्वामित्वविहीन अवस्थामा रहेको जग्गाको पूर्जा प्राप्त हुनु विशेष महत्वको विषय भएको गौतमको भनाइ छ । “कसैको जीवनमा सानो भए पनि सकारात्मक परिवर्तन ल्याउन सक्नु नै सार्वजनिक सेवाको सबैभन्दा ठूलो उपलब्धि हो भन्ने लाग्छ,” गौतमले भने, “यो परिवारले ५१ वर्षदेखि देखेको एउटा सपना आज पूरा भएको छ । व्यक्तिगत रूपमा पनि यो काम गर्न पाउनु मेरो लागि ठूलो पुण्यकर्म र अविस्मरणीय खुसीको दिन हो ।” उनले पूर्जा उपलब्ध गराउन सहयोग गर्ने मालपोत कार्यालयका प्रमुख हरिकृष्ण सुवेदीसहित जग्गादाता परिवार, लेखापढी व्यवसायी, सम्बन्धित कर्मचारी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

५१ वर्षसम्म कागजमा स्वामित्व स्थापित हुन नसके पनि घर बनाएर निरन्तर बसोबास गर्दै आएको परिवारले अन्ततः आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेको हो । लामो संघर्षपछि हातमा जग्गाधनी पूर्जा परेपछि मिजार परिवारका लागि यो दिन जीवनकै महत्वपूर्ण खुसीको क्षण बनेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ भाद्र १६, मंगलवार २१:४५
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP