बनेपा, काभ्रे । गत भदौ १० गते चीनतर्फबाट आएको विनाशकारी हिमपहिरो तथा त्यसबाट उत्पन्न बाढीपहिरोका कारण रसुवा, धादिङलगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो सहानुभूति प्रकट गर्दै बनेपा नगर प्याब्सनले रु. १७ लाख ५२ हजार २३५ राहत रकम संकलन गरी जिल्ला प्याब्सनलाई हस्तान्तरण गरेको छ ।
बनेपा नगर प्याब्सनमा आबद्ध विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय परिवारबाट स्वतःस्फूर्त रूपमा संकलित उक्त रकम आज दिउँसो ३ बजे केन्द्रीय प्याब्सनका प्रतिनिधिको उपस्थितिमा प्याब्सन काभ्रे जिल्ला अध्यक्षलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । प्राकृतिक विपद्का कारण पीडित बनेका नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले प्याब्सनले देशव्यापी रूपमा सञ्चालन गरेको राहत अभियानअन्तर्गत काभ्रे जिल्लाका विभिन्न पालिका प्याब्सनहरूले समेत राहत रकम संकलन गरेका छन् ।
संकलित रकम पालिका प्याब्सन हुँदै जिल्ला प्याब्सनमार्फत केन्द्रीय प्याब्सनमा पठाइनेछ । त्यसपछि केन्द्रीय प्याब्सनले सञ्चालन गरेको रु. १० करोड राहत संकलन अभियानअन्तर्गत प्रधानमन्त्री तथा शिक्षा मन्त्रीको रोहबरमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने बताइएको छ ।
बनेपा नगर प्याब्सनले विपद्को यस कठिन घडीमा मानवीय भावनाका साथ सहयोग गर्ने विद्यार्थी, शिक्षक, अभिभावक तथा सम्पूर्ण विद्यालय परिवारप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ । प्याब्सनले विपद्का समयमा शैक्षिक संस्थाहरूले शिक्षण–सिकाइसँगै सामाजिक उत्तरदायित्वसमेत निर्वाह गर्नुपर्ने मान्यताअनुसार राहत अभियानमा सहभागिता जनाएको जनाएको छ ।
विद्यार्थी तथा विद्यालय परिवारबाट संकलित यस सहयोगले पीडित परिवारलाई राहत पुर्याउन केही भए पनि योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । बनेपा नगर प्याब्सन परिवारले संकटको समयमा देखाएको यो एकता, सहकार्य र मानवीय सहयोगले सामाजिक उत्तरदायित्वको सकारात्मक उदाहरण प्रस्तुत गरेको छ ।
प्रतिक्रिया