पनौती । ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड, काभ्रेले आफ्नो २७औँ वार्षिक साधारण सभा आगामी कात्तिक २६ गतेदेखि ३० गतेसम्म सञ्चालन गर्ने भएको छ । संस्थाले विभिन्न सेवा केन्द्रमा छुट्टाछुट्टै मिति र स्थान तोकेर साधारण सभा गर्न लागेको हो । संस्थाको सञ्चालक समितिको असोज १६ गते बसेको १७९औँ बैठकको निर्णयअनुसार साधारण सभा आयोजना गर्न लागिएको संस्थाका सचिव बुद्ध सिंह थापाले जानकारी दिएका छन् । साधारण सभा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने जनाइएको छ। छनोट भएका एकाइ प्रतिनिधिहरूको सभा भने कात्तिक ३० गते पनौती नगरपालिका–६ स्थित संस्थाको मुख्य कार्यालयमा हुनेछ ।
संस्थाले सार्वजनिक गरेको सूचनाअनुसार कात्तिक २६ गते बेथानचोक र रोशी सदस्य सेवा केन्द्रमा, कात्तिक २७ गते बनेपा, कुशादेवी र जन्मज्योति सदस्य सेवा केन्द्रमा तथा कात्तिक २८ गते पनौती नगरपालिका–६ स्थित मुख्य कार्यालयमा साधारण सभा सञ्चालन हुनेछ। कात्तिक ३० गते छनोट भएका एकाइ प्रतिनिधिहरूको सभा हुनेछ ।
साधारण सभामा आर्थिक वर्ष २०८२/०८३ को प्रगति प्रतिवेदन, आर्थिक वर्ष २०८३/०८४ को प्रस्तावित नीति तथा कार्यक्रम र बजेटमाथि छलफल गरी पारित गर्ने प्रस्ताव गरिएको छ । त्यस्तै, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, बाह्य लेखापरीक्षण प्रतिवेदनको अनुमोदन, आगामी आर्थिक वर्षका लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने विषय पनि कार्यसूचीमा समेटिएका छन् ।
यसैगरी, संस्थाको विनियम तथा आन्तरिक नीति र कार्यविधि संशोधन, संस्था एकीकरण, शेयर लाभांश पारित, संरक्षित पुँजी फिर्ता कोष वितरण, सञ्चालक समितिको सेवा–सुविधा तथा प्रमुख कार्यकारी अधिकृतको पारिश्रमिक निर्धारणलगायतका विषयमा छलफल गरिनेछ । सदस्यका सुझाव, सञ्चालक समितिका बैठकका महत्त्वपूर्ण निर्णय र विविध विषय पनि सभाका कार्यसूचीमा रहेका छन् ।


संस्थाले साधारण सभामा सहभागी हुन आउने सदस्यलाई संस्थाको परिचयपत्र अनिवार्यरूपमा साथमा ल्याउन अनुरोध गरेको छ । परिचयपत्र नभएका सदस्यले आफ्नो परिचय खुल्ने कागजात र संस्थाले पठाएको पत्र वा फोटो टाँसिएको पासबुक ल्याउनुपर्ने सूचनामा उल्लेख छ । त्यस्तै, साधारण सभामा सहभागी हुन आर्थिक वर्ष २०८३/०८४ को असोज महिनासम्मको नियमित मासिक बचत बुझाएको हुनुपर्ने संस्थाले जनाएको छ ।
आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन कात्तिक २० गतेपछि संस्थाको वेबसाइट तथा आधिकारिक फेसबुक पेजमा उपलब्ध गराइने जनाइएको छ । सदस्यहरूलाई प्रतिवेदन अध्ययन गरी संस्थाको सुधार र आगामी योजनासम्बन्धी सल्लाह तथा सुझाव भए लिखितरूपमा उपलब्ध गराउन पनि अनुरोध गरिएको छ । संस्थाको वेबसाइट www.jmssaccos.coop.np तथा आधिकारिक फेसबुक पेजमार्फत वार्षिक प्रतिवेदन अध्ययन गर्न सकिनेछ ।
प्रतिक्रिया