• २०८३ कार्तिक ११ | Tue, 27 Oct 2026

भारी वर्षाको सम्भावनाप्रति उच्च सतर्कता अपनाउन काभ्रे प्रशासनको आग्रह

भारी वर्षाको सम्भावनाप्रति उच्च सतर्कता अपनाउन काभ्रे प्रशासनको आग्रह

काभ्रे । बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षा, मेघगर्जन, चट्याङ, हावाहुरी तथा हिमपातको सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले उच्च सतर्कता अपनाउन जिल्लावासीलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कात्तिक १० गते सूचना जारी गर्दै नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान बुलेटिनलाई आधार मानी सम्भावित विपदबाट जोगिन आवश्यक सावधानी अपनाउन र पूर्वतयारी गर्न सम्बन्धित सबैमा अनुरोध गरेको हो ।

सूचनाअनुसार कात्तिक १२ गते बिहीबारदेखि कात्तिक १४ गते शनिबारसम्म बागमती प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ । यसबाट काभ्रेपलाञ्चोक जिल्लामा समेत प्रभाव पर्न सक्ने प्रशासनले जनाएको छ । प्रशासनले धानबाली काटिसकेका किसानलाई कात्तिक १२ गते शुक्रबारअघि नै सुरक्षित स्थानमा भित्र्याउने व्यवस्था मिलाउन आग्रह गरेको छ । साथै, कात्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म धान काट्ने कार्य नगर्न तथा अत्यावश्यक नभई यात्रा नगर्न अनुरोध गरिएको छ ।

त्यसैगरी, आफ्ना आफन्त वा सम्पर्कमा रहेका व्यक्तिहरू उच्च हिमाली तथा जोखिमयुक्त क्षेत्रमा भए उनीहरूलाई सुरक्षित स्थानमा रहन सूचित गर्न प्रशासनले आग्रह गरेको छ । मौसमसम्बन्धी अद्यावधिक पूर्वानुमान, पूर्वसूचना तथा चेतावनीबारे जानकारी लिन पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ ।

अचानक बाढी आउन सक्ने खोला तथा खोल्सा नजिकका बस्ती, पहिरोको जोखिमयुक्त क्षेत्र र खोला–नदी किनारमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन भनिएको छ । जोखिमको सूचना प्राप्त भएमा तत्काल सुरक्षित स्थानमा सर्न तथा स्थानीय विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय र स्वयंसेवकले पूर्वसूचना तथा चेतावनीअनुसार आवश्यक व्यवस्थापन गर्न प्रशासनले आग्रह गरेको छ ।

जिल्लाका स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारी, प्रमुख प्रशासकीय अधिकृत, विपद् सम्पर्क व्यक्ति तथा कर्मचारीलाई आफ्नो कार्यक्षेत्रमा रही स्थानीय समुदायसँग समन्वय गर्नसमेत अनुरोध गरिएको छ । साथै, आधिकारिक निकायसँग नबुझी कुनै पनि गलत सूचना प्रवाह नगर्न प्रशासनले सचेत गराएको छ ।

विपद्का बेला उपयोगी सम्पर्क नम्बर
नेपाल मौसम विज्ञान विभाग हटलाइन: ११५५
जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र: १२३४
नेपाल प्रहरी हटलाइन: १००
सशस्त्र प्रहरी बल हटलाइन: १११४

सम्भावित वर्षा तथा प्राकृतिक विपदबाट हुने जनधनको क्षति न्यूनीकरण गर्न पूर्वतयारी, सतर्कता र आधिकारिक सूचनाको पालना गर्न जिल्ला प्रशासन कार्यालयले सबै जिल्लावासीमा अनुरोध गरेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८३ कार्तिक ११, मंगलवार १६:५०
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP