काठमाडौँ । असहज परिस्थितिका कारण बन्द भएको हवाई उडान खुलेयता काठमाडौँ उपत्यकाबाट बाहिरिने हवाई यात्रु बढेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आन्दोलनका कारण उपत्यकामै रोकिएका र चाडपर्वमा थातथलो फर्किनेको चापले अहिले आन्तरिकतर्फको टर्मिनल भरिभराउ छ ।
विमानस्थल कार्यालयका प्रवक्ता रेन्जी शेर्पाले भन्नुभयो, “दुई दिन बन्द भएको उडान खुलेयता उपत्यका बाहिर जाने यात्रु बढेका छन् । दसैँलगायतका चाडपर्व नजिकिएसँगै आन्तरिकतर्फ मात्रै नभएर विदेशबाट भित्रिने यात्रुसमेत बढ्दै गएका छन् ।”
आन्तरिकतर्फ हाल काठमाडौँबाट पोखरा, नेपालगन्ज, भैरहवा, धनगढीलगायतका गन्तव्यमा यात्रुको चाप बढी रहेको जानकारी दिँदै उहाँले बिहीबार, शुक्रबार र शनिबार काठमाडौँबाट १ हजार २ सय हाराहारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान अवतरण भएको बताउनुभयो ।
उपत्यका भित्रिनेभन्दा बाहिरिने यात्रुले जहाज भरिभराउ हुन थालेपछि काठमाडौँबाट विभिन्न गन्तव्यको हवाई भाडासमेत वृद्धि हुँदै गएको छ ।गाेरखापत्रबाट
प्रतिक्रिया