• २०८३ जेष्ठ १६ | Sat, 30 May 2026

नेपाल प्रेस युनियन काभ्रेको साधारण सभामा शुभकामना तथा सम्मान कार्यक्रम

नेपाल प्रेस युनियन काभ्रेको साधारण सभामा शुभकामना तथा सम्मान कार्यक्रम

  • ज्ञानमणि नेपाल कालाेटाेपी

धुलिखेल । नेपाल प्रेस युनियन काभ्रेले शनिबार शुभ दीपावली, नेपाल संवत तथा छठ पर्वको शुभकामना र सम्मान तथा संस्थाको वार्षिक साधारणसभा र सय दिने सदस्यता विशेष अभियान समापन कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं विश्व विद्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल प्रमुख अतिथी हुनुहुन्थ्यो ।

शाखा अध्यक्ष नगेन्द्र अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गत वर्ष मंसिरमा सम्पन्न नेपाल पत्रकार महासंघका निर्वाचित कार्यसमिति तथा विभिन्न समयमा संस्थालाई सहयोग गर्ने संस्था तथा व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी लम्सालले श्रमजिवी पत्रकारहरुको हक, हित र अधिकारका लागि प्रेस युनियन सधैं अग्रपंक्तीमा उभिँदै आएको इतिहास सम्झाउँदै आगामी दिनमा पनि सधैं सक्रिय रहने बताउनुभयो । अहिलेको सन्दर्भमा ०७२ सालको संविधानमा उल्लेख पूर्ण प्रेस स्वतन्त्रतासहित संविधान जोगाउनका लागि पत्रकारहरुलाई चुनौती आइरहेको प्रति सचेत गराउँदै लम्सालले यसमा सबै पत्रकार सम्बद्ध संघसंस्थाहरुले अहम भूमिका निभाउन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले जेनजी आन्दोलनका सकारात्मक पक्ष भएपनि व्यक्तिलक्षित र सार्वजनिक सम्पत्तीलक्षित तोडफोड जेनजीको माग नभएको जिकिर गर्नुभयो । उहाँले व्यक्तिले गल्ती गरेको हुनसक्ने तर भवनले कुनै गल्ती नगरेको र ती भौतिक सम्पत्तीमा आगजनी गर्नु दुःखद रहेको भन्दै बनेपा नगरपालिकाले २० प्रतिशत योजनाहरु कटौती गरेको बताउनुभयो ।

शुभकामनाकै क्रममा पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष भोजराज तिमल्सिनाले पत्रकारहरु स्वतन्त्र हौं भन्ने तर कुनै राजनीतिक संस्थाका प्रतिनिधी जसरी समाचार लेख्न नहुने बताउनुभयो । उहाँले पत्रकारहरुले विशुद्धरुपमा स्वतन्त्र भएर कलम चलाउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल आदिवासी पत्रकार महासंघ काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा, समाजवादी प्रेस संगठनका अध्यक्ष दिनेश खरेल, प्रेस संगठन काभ्रेका अध्यक्ष रामप्रसाद ढकाल, प्रेस चौतारीका अध्यक्ष केदार तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्षहरु बद्रीराज तिमल्सिना, मोतिराम तिमल्सिना, नारायण सापकोटा, महेश पौडेल, भोला थापा, ईश्वरी ओझा, वर्तमान अध्यक्ष बिनोद न्यौपाने, प्रेस युनियन बागमती प्रदेशका अध्यक्ष युवराज पुरी, प्रेस युनियनका केन्द्रीय सदस्य कपिल कोइराला, रोशी गाउँपालिकाका उपाध्यक्ष मीमबहादुर वाइवा, बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङ र नेपाली कांग्रेस काभ्रेका कोषाध्यक्ष जगन्नाथ गिरीलगायतले शुभकामना दिनुभएको थियो ।

कार्यक्रमका सभापति प्रेस युनियन काभ्रे शाखाका अध्यक्ष नगेन्द्र अधिकारीले नेपाल प्रेस युनियन सबै पत्रकारहरुका पक्षमा काम गर्ने संस्था भएको उल्लेख गर्दै यसमा सबैको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो । उहाँले राजसंस्था पुनर्स्थापनाको नाममा भएको आन्दोलनका क्रममा मारिएका पत्रकार सुरेश रजकको हत्याको विरुद्धमा काभ्रेली सञ्चारकर्मी आन्दोलित हुँदा र जेनजी पुस्ताको आन्दोलनपश्चात विकसित राजनीतिक परिस्थितीपछि ‘मुलुक र संविधान जोगाउन’ भन्दै भएको प्रदर्शनमा पनि नेपाल प्रेस युनियन काभ्रेपलाञ्चोकको सशक्त भूमिका रहेको स्मरण गर्नुभयो ।

उद्घाटन सत्र सकिए लगत्तै बन्द सत्रमा अध्यक्ष नगेन्द्र अधिकारीले प्रस्तुत गर्नुभएको अध्यक्षको प्रतिवेदन, सचिव शुभराज अधिकारीले प्रस्तुत गर्नुभएको सचिवको प्रतिवेदन तथा कोषाध्यक्ष सरोज अधिकारीले प्रस्तुत गर्नुभएको कोषाध्यक्षको प्रतिवेदन पारित भएको थियो । कार्यक्रम संस्थाका सचिव शुभराज अधिकारीले संचालन गर्नुभएको थियो ।



कालोटोपी कालोटोपी    
  • २०८२ कार्तिक १, शनिबार ०८:५९
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP