मण्डनदेउपुर । काभ्रेकाे मण्डनदेउपुर नगरपालिकामा आजदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ। प्रतियोगिताको उद्घाटन शुक्रबार बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले गर्नुभयाे ।
प्रतियोगितामा नगरपालिकाका १३ सामुदायिक र ४ संस्थागत गरि १७ विद्यालयको सहभागिता रहेको छ। एथ्लेटिक्स, भलिबल, कबड्डीलगायत खेलका विभिन्न १८ विधामा २२२ पदकका लागि खेल हुनेछ। नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको कात्तिक ३० गते समापन हुनेछ।
प्रतियाेगिताकाे उद्घाटन गर्दै मन्त्री बादेले खेल मानव जीवनकाे अभिन्न अंग रहेकाे भन्दै अनुशासित भएर खेल खेल्न विद्यार्थीहरुलाई अनुराेध गर्नुभयाे । खेलमा हार-जित सामान्य भएकाे बताउँदै उहाँले हार्नेले आगामी वर्ष जित्न सक्ने हुँदा नआत्तिन आग्रह गर्दै जित्नेले पनि मनाेबल उच्च बनाएर अघि बढ्न सल्लाह दिनुभयाे । प्रदेश सरकारले खेललाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेकाे उहाँकाे भनाइ थियाे ।

कार्यक्रममा नगरप्रमुख टाेकबहादुर वाइवाले खेलकुदकाे याे कार्यक्रम नगरपालिकाकाे नियमित कार्यक्रम भएकाे बताउनुभयाे । विगत वर्षहरुमा पनि यस्ता प्रतियाेगिता हुने गरेकाे स्मरण गराउँदै उहाँले सहभागी सबै विद्यार्थीलाई शुभकामना दिनुभयाे । नगर उपप्रमुख विष्णुमणि नेपालले खेल प्रतियाेगिता नगरपालिकाकाे कुम्भमेला भएकाे उल्लेख गर्दै यसमा सबैले जित्ने बताउनुभयाे ।

कार्यक्रमकाे उद्घाटनपछि नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायतले खेलकाे शुभारम्भ गर्नुभयाे । नगरपालिकाकाे वडानम्बर ८ र ११ काे डाँडागाउँमा खेल भइरहेकाे छ । यस प्रतियाेगितामा उत्कृष्ट हुनेले जिल्लास्तरिय राष्ट्रपति रनिङ शिल्डमा भाग लिन पाउनेछन् ।

भिडियाेः
Facebook VideoLoading video...
प्रतिक्रिया