काठमाडौँ। बहुप्रतिक्षित नेपाली चलचित्र ‘माइतीघर’ को ट्रेलर सार्वजनिक भएको छ। बडा दशैँको फूलपाती अर्थात असोज १३ गतेदेखि प्रदर्शनमा आउन लागेको याे चलचित्रकाे बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गरिएको हाे ।
यस चलचित्रका निर्माता रोहित अधिकारी हुन्। मिलन तामाङले निर्देशन गरेकाे चलचित्रकाे ट्रेलरमा यसका लोकप्रिय गीत र हाँस्यदेखि भावुक क्षणहरुसमेत प्रस्तुत गरिएकाे छ।
‘पारिवारिक चलचित्र’ को रुपमा प्रस्तुत गरिएको यस चलचित्रकाे ट्रेलरमा चलचित्रका अभिनेता धिरज मगर, प्रकाश सपूत, उपासनासिंह ठकुरीका साथमा वरिष्ठ हाँस्यकलाकार केदार घिमिरे, श्यामश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामा, शिशिर वाङदेल आदि कलाकारलाई चित्रण गरिएको छ ।
हाँस्य अभिनेताबाट मुख्य अभिनेता बनिसकेका कलाकार केदार घिमिरेलाई ट्रेलरमा राम्राे स्थान दिइएको छ । विभिन्न गेटअपमा उनले ट्रेलरमार्फत नै दर्शक हँसाउन सफल देखिएका छन् ।
यस्तै, फिल्मले तामाङ संस्कृतिको कथालाई पनि बलियो रुपमा उठाएको छ । स्वर्गीय जयदेवको संगीत रहेको फिल्ममा कविराज गहतराजको र किरण थापाको कोरियोग्राफी, समिर मिया र सत्यम रानाको भीएफएक्स, साहिल खानको ट्रेलर र अष्ट महर्जनको एक्सन छ ।
चन्द्रकुमार दोङको कथा, रामशरण पाठकको पटकथा तथा संवाद रहेको फिल्ममा सुशन प्रजापतिको डीओपी र सुरेन्द्र पौडेलको सम्पादन छ। रविन शेरचन र धिरज तामाङको लगानी रहेको फिल्मका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन् । रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रले हरेक उमेरका दर्शकलाई मनोरञ्जन दिने अपेक्षा गरिएकाे छ। चलचित्रकाे ट्रेलर यस्ताे छः
प्रतिक्रिया