काठमाडौं । दशैँको टीकाको भोलिपल्टदेखि देशका केही ठाउँमा मुसल्धारे वर्षा हुन सक्ने सम्भावना देखिएको मौसमविद्हरुले बताएका छन् ।
गत वर्ष असोजको जस्तै वर्षा हुने गरी प्रणाली विकास भइरहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विषयका सहप्राध्यापक विनोद पोखरेलले जानकारी दिए । उनका अनुसार तीन वटा प्रणाली विकास भइरहेकाले भोलिदेखि हल्का, मध्यम हुँदै विजयादशमीको बेलुकादेखि पूर्वी नेपालमा मुसल्धारे वर्षाको सम्भावना छ । यो प्रणालीको असर तीन/चार दिनसम्म देखिने सम्भावना छ ।
यस्तै जलवायु विपद् विज्ञ डा.धर्मराज उप्रेतीले पनि दशैंको टीकाको भोलिपल्टदेखि मुसल्धारे वर्षा गराउने गरी प्रणाली विकास भइरहेको जानकारी गराए। सामाजिक सञ्जाल फेसबुकमार्फत उप्रेतीले असोज १८ गतेअघि पनि ठाउँठाउँमा वर्षाको सम्भावना रहेको र १८ गतेदेखि पूर्वी नेपाल हुँदै वर्षाको अत्यधिक सम्भावना रहेको उल्लेख गरेका छन् ।

भारतको मौसम विभागले असोज १७ देखि १९ गतेसम्म सिक्किम, पश्चिम बङ्गाल, बिहारमा अत्यधिक वर्षाको चेतावनी जारी गरिसकेको छ। नेपालमा भने असोजको १७ गते रातिदेखि कोशी प्रदेशबाट प्रवेश गरी असोज १९ र २० गतेसम्म लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको तल्लो भागसम्म पुग्ने देखिएको उप्रेतीले जानकारी दिए ।
दशैँमा घर गएकाहरु फर्कने समय भएकाले फर्कनुअघि मौसम र बाटोको अवस्था बारेमा जानकारी लिन मौसमविद्को सुझाव छ । यस्तै धानलगायतका बाली भित्र्याउने समय भएकाले १७ गतेदेखि ४/५ दिन बाली नभित्र्याउन उनीहरुकाे सल्लाह छ ।
प्रतिक्रिया