पनौती । हरिबोधनी एकादशीमा ऐतिहासिक लड्केश्वर मेला काभ्रेपलाञ्चोकको पनाैती-११, बल्थलीमा भव्यताका साथ मनाइएकाे छ।
सत्ययुगमा सतीदेवीको मृत्युपछि महादेवले सतीदेवीलाई बोकेर भौँतारिने क्रममा उनको नाभी पनौती नगरपालिका ११, बल्थली स्थित सो ठाउँमा पतन भएपछि उक्त मेला मनाइँदै आएको किंवदन्ती पाइन्छ ।
महादेवको मन्दिर र सतीदेवीको नाभी मात्र नभई उक्त स्थलमा बसाहाहरूको साथै करिब १.५ फिटको जललहरी र तीन वटा शिवलिङ्ग छन् भने गौमाताको थुनजस्तो र अन्य देवदेवीको मूर्तिजस्तो देखिने ढुङ्गाका अनेकौं आकृतिहरूको दृश्यले दर्शनार्थीहरूका साथै पर्यटकहरूलाई समेत लोभ्याउने कलात्मक रूप पाइन्छ ।
मेलामा छिमेकी जिल्ला काठमाडौँ, सिन्धुपाल्चोक, भक्तपुर, ललितपुर, दोलखा लगायतका जिल्लाहरूका दर्शनार्थी आउने गर्दछन् । काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेलदेखि दक्षिण–पूर्व १५ किलोमिटरको दुरीमा समुद्री सतहदेखि एक हजार तीनसय ५० मिटर उचाईमा रोशी र लड्कु खोलाको सङ्गमस्थलमा अवस्थित चुनढुङ्गाभित्र लड्केश्वर महादेव अवस्थित छन् ।

धार्मिक किंवदन्तीअनुसार भक्तपुरका राजा भूपतेन्द्र मल्लले वि. सं. १७६८ माघ कृष्ण दशमीका दिन बल्थलीमा रहेको उक्त स्थानमा बास बसी लड्केश्वर महादेवको दर्शन गरेका थिए ।
रोशी र लड्कु खोलाको सङ्गमस्थल नजिक चुनढुङ्गाभित्र रहेको उक्त स्थानमा पाप र धर्मद्वार छ भने उक्त द्वारमा रहेको एउटा सानो प्वाल र ठूलो प्वालमध्ये साना प्वालमा छिरी निस्कन सक्ने धर्मात्मा र निस्कन नसकी अड्कने पापी हुने जनविश्वास रहँदै आएको छ ।

पाप र धर्मद्वार भएका कारण यस मन्दिरलाई स्वर्ग र नर्कको मापन गर्ने स्थानका रूपमा समेत लिइने गरिएको छ भने लड्केश्वर मेलामा स्थानीय महिला र पुरूषहरूले धार्मिक मान्यताअनुसार रातभर जाग्राम बसेर नाचगानका साथै भजनकीर्तन गरी भोलिपल्ट पूर्णिमासम्म पूजारीहरूद्वारा रूद्रीपाठ र पूजाअर्चना गरी मेला समापन भएको मानिन्छ ।

पछिल्ला दिनहरुमा यहाँ धार्मिक पर्यटकहरु आउने क्रम बढीरहेकाे छ । यहाँ १०८ फिट अग्लाे त्रिशुलकाे निर्माण गरिएकाे छ भने डेढ वर्ष अघि काेटीहाेम पनि लगाइएकाे थियाे । हरेक वर्ष यहाँ धार्मिक पर्यटककाे संख्या बढीरहेका भए पनि यस वर्ष भने निरन्तरकाे झरीले मेला प्रभावित भएकाे स्थानीयवासीहरुले बताए । वर्षाका कारण उक्त स्थानमा पुग्ने बाटाे कठिन बनेपछि यस वर्ष दर्शनका लागि उपस्थित हुन असहज हुने भनी पहिल्यै सूचित गराइएकाे पिठाधिश मुकुन्द हुमागाईंले जानकारी दिनुभयाे ।
तस्बीरहरुः नवराज सापकाेटा
प्रतिक्रिया