धुलिखेल । काभ्रेपलाञ्चोक जिल्लाका ३ हजार २९० किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर रोकथामका लागि जिल्लाभर एचपीभी (HPV) खोप अभियान सञ्चालन हुने भएको छ । खोप अभियान काभ्रेपलाञ्चोक जिल्लाका सबै १३ वटै स्थानीय तहहरू अन्तर्गतका विद्यालय तहमा सञ्चालन हुने जिल्ला जनस्वास्थ्य कार्यालय धुलिखेलले जनाएकाे छ।
विद्यालयमा अध्ययनरत कक्षा ६ तथा विद्यालय नजाने १० वर्ष उमेरका, साथै गत वर्षको HPV खोप अभियानमा खोप लगाउनबाट छुटेका हाल कक्षा ७–१० मा अध्ययनरत तथा विद्यालय नजाने ११–१४ वर्ष उमेर समूहका सम्पूर्ण किशोरीहरूलाई लक्षित गरी HPV खोप अभियान सञ्चालन गरिने भएकाे हाे ।
कार्यालयले दिएकाे जानकारी अनुसार माघ २७ देखि २९ गतेसम्म धुलिखेलका २५९ किशाेरीलाई खाेप लगाइनेछ । यस्तै बनेपामा माघ २७ देखि फागुन २ सम्म ९५५ जनालाई, पनौती नगरपालिकामा माघ २५ देखि २९ सम्म ५०० जनालाई खाेप लगाइनेछ ।
माघ २६ देखि २९ गतेसम्म पाँचखालका २८४ जनालाई, माघ २८ र २९ गते मण्डनदेउपुरका २३०, माघ २८ र २९ गते नमाेबुद्धका १८७ जना, भुम्लुका ८३ जनालाई माघ २६ देखि २८ गतेसम्म खाेप लगाइने तालिका छ ।

यसैगरि माघ २३ देखि २८ सम्म चाैँरीदेउरालीका ९८ जना, तेमालका ७८ किशाेरीलाई माघ २८ देखि फागुन १ सम्म, राेशीका २०३ जनालाई माघ २६ देखि फागुन १ सम्म, महाभारतका १६६ जनालाई फागुन ४ र ५ गते, खानीखाेलाका १३१ जनालाई फागुन ५ देखि ७ गते र बेथानचाेकका ११६ जनालाई माघ २८ देखि फागुन १ गतेसम्म खाेप लगाइने तालिका छ । विस्तृत जानकारीका लागि सम्बन्धित विद्यालय वा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न हुन कार्यालयले अनुरोध गरेकाे छ।
प्रतिक्रिया