काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–स्थित मेथिनकोट अस्पताल, भकुण्डेबेँसीमा आधारभूत फिजियोथेरापी सेवा औपचारिकरूपमा शुभारम्भ गरिएको छ ।
अस्पतालले न्यूनतम आवश्यक औजार–उपकरणको व्यवस्थापन गर्नुका साथै अस्पताल विकास समितिको स्रोतबाट दक्ष फिजियोथेरापिस्ट नियुक्त गरी यस क्षेत्रका नागरिकलाई फिजियोथेरापी सेवा उपलब्ध गराउन थालेको हो । अस्पतालका अनुसार आगामी दिनमा सेवाग्राहीको आवश्यकता र मागका आधारमा फिजियोथेरापी सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने योजना रहेको छ ।
यसैगरी अस्पतालले आँखा जाँचसम्बन्धी आवश्यक उपकरणको व्यवस्था गरी सामान्य आँखा परीक्षण सेवा पनि सञ्चालनमा ल्याएको छ । आवश्यक पावरअनुसारका चस्मा उपलब्ध गराउने व्यवस्था मिलाउनसमेत आगामी दिनमा पहल गरिने अस्पतालले जनाएको छ ।
हाल १५ शय्याको पुरानो भौतिक संरचनाबाटै ५० शय्याको प्रादेशिक अस्पतालका सेवा–सुविधा सञ्चालन गर्न चुनौतीपूर्ण अवस्था रहे पनि सम्भव भएसम्म प्रादेशिक अस्पतालले प्रदान गर्नुपर्ने सबै सेवा विस्तार गर्न अस्पताल परिवार प्रतिबद्ध रहेको जनाएको छ ।

स्थानीय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा आफ्नै क्षेत्रमा उपलब्ध गराउने उद्देश्यले अस्पतालले सेवा विस्तारलाई प्राथमिकतामा राख्दै आवश्यक पूर्वाधार, जनशक्ति तथा उपकरण व्यवस्थापनमा निरन्तर प्रयास गरिरहेको जनाएको छ ।
प्रतिक्रिया