सिन्धुपाल्चाेक । हेलम्बु गाउँपालिका वडा नं. ३ मा सञ्चालन भइरहेको पाल्चोकीमाइ किसान हाटबजारले स्थानीय कृषकलाई आफ्नै उत्पादन आफ्नै मूल्यमा बिक्री गर्ने स्थायी मञ्च प्रदान गरेको छ।
प्रत्येक शनिबार नियमितरूपमा सञ्चालन हुँदै आएको हाट बजारका कारण किसानहरू उत्पादन र बजार दुवैप्रति थप उत्साहित भएका हुन् । हेलम्बु गाउँपालिका र जस्ट नेपाल फाउन्डेसनको सहयोगमा स्थापना गरिएको यस हाट बजारमा अर्गानिक तरकारी, फलफूल तथा घ्यूलगायतका स्थानीय उत्पादनहरू प्रत्यक्षरूपमा बिक्री वितरण हुँदै आएका छन् ।
बजारमा किसान र उपभोक्ता प्रत्यक्ष सम्पर्कमा आउन थालेपछि कृषकले उत्पादनको उचित मूल्य पाउन थालेका छन् । पाल्चोकी माई मन्दिर दर्शन गर्न आउने भक्तजन तथा हेलम्बु–मेलम्ची क्षेत्रका स्थानीय उपभोक्ताको नियमित उपस्थितीले हाट बजारलाई थप सक्रिय बनाएको छ । हाट बजार व्यवस्थापन समिति संयोजक गोपाल गिरीका अनुसार, किसानकै मूल्यमा सामग्री बिक्री हुँदा उपभोक्ता सन्तुष्ट हुनुका साथै किसानको मनोबल उल्लेखनीयरूपमा बढेको छ।
स्थानीय उत्पादनको बजारीकरण, कृषकको आय वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरण गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको पाल्चोकीमाइ किसान हाट बजारलाई दीर्घकालीन कृषक–केन्द्रित बजार संरचनाको सफल अभ्यासका रूपमा हेरिएको छ।
प्रतिक्रिया