काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-५ बस्ने झापा अर्जुनधारा नगरपालिका-६ घर भएका ५१ वर्षीय धर्मप्रसाद राई, काठमाडौं तारकेश्वर नगरपालिका-७ बस्ने ३५ वर्षीया निमा डोल्मा लामा, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने झापा अर्जुनधारा नगरपालिका-५ घर भएका ४२ वर्षीय गोविन्दप्रसाद निरौला र काठमाडौं महानगरपालिका-१३ बस्ने गोरखा गण्डकी गाउँपालिका-१ घर भएका ४३ वर्षीय सुरजबहादुर श्रेष्ठ रहेका छन् ।
पक्राउ मध्ये धर्मप्रसादले अष्ट्रिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ८५ हजार रूपैयाँ, निमाले बेलायत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५० लाख रूपैयाँ, गोविन्द प्रसादले टर्की पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख ३ हजार रूपैयाँ र सुरजले रोमानिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले धर्म प्रसादलाई काठमाडौं महानगरपलिका-२६ बाट र निमालाई काठमाडौं महानगरपालिका-६ बाट शुक्रबार तथा गोविन्द प्रसादलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-९ बाट र सुरजलाई काठमाडौं महानगरपालिका-२६ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
गैरकानुनीरूपमा चन्दा संकलन गर्ने कार्यमा संलग्न दुई जना पक्राउ
कास्की, गैरकानुनीरूपमा चन्दा संकलन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा माछापुच्छ्रे गाउँपालिका-२ बस्ने ३७ वर्षीय भीमसेन परियार र तनहुँ व्यास नगरपालिका-१३ छाब्दी बस्ने ३२ वर्षीय अग्नी भन्ने लक्ष्मण पाण्डे रहेका छन् ।
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई बिथोल्न कास्की जिल्लास्थित विभिन्न स्थानमा “माओवादीका कार्यकर्ता हौ” भनी डरधाक धम्की दिई गैरकानूनीरूपमा चन्दा संकलन गरेको भन्ने सूचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर चन्दा ऐनसम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया