काठमाडौँ । फागुण शुक्ल पूर्णिमाका दिन मंगलबार बेलुकी ग्रस्तोदित खण्डग्रास (उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने) चन्द्रग्रहण लाग्ने भएको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार ग्रहणले मंगलबार दिउँसो ३ बजेर ३४ मिनेटमा स्पर्श गर्नेछ ।
चन्द्र ग्रहण स्पर्श हुँदा खग्रास भए पनि नेपालमा चन्द्रोदय भएपछि भने खण्डग्रास देखिने समितिले जनाएकाे छ । बेलुकी ६ बजेर ३ मिनेट जाँदा चन्द्रोदय हुँदा नै ग्रस्तोदित खण्डग्रास भएकै अवस्थामा उदय हुनेछ । बेलुकी ७ बजेर २ मिनेटमा चन्द्रग्रहण सकिन्छ । नेपालबाट करिब एक घण्टा चन्द्रग्रहण देखिनेछ ।
पृथ्वीले सूर्यलाई पूर्णरुपमा छेक्दा पूरा चन्द्रमा ढाकिने अवस्था खग्रास चन्द्र ग्रहण हो । आधा वा केही खण्ड ढाकिने खण्डग्रास चन्द्रग्रहण हो । पृथ्वी, सूर्य र चन्द्रमा एउटै सूत्रमा पर्दा पृथ्वीको छायाँ चन्द्रमामा पर्नु नै चन्द्र ग्रहण हो । यो ग्रहण यस वर्ष नेपालबाट दोस्रो पटक देखिन लागेको हो । यसअघि गत भदौ २२ गते खग्रास चन्द्रग्रहण लागेको थियो । चन्द्र ग्रहण पूर्णिमा र सूर्य ग्रहण औंसी तिथिमा लाग्ने गर्छ ।
ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्री, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
मंगलबार नेपालमा चन्द्रोदयपछि बेलुकी ०७ः०२ बजेसम्म लाग्ने खण्डग्रास चन्द्र ग्रहण मौसमले साथ दिएमा प्रष्ट रुपले हेर्न सकिनेछ । सन् २०२६ मा नेपालबाट देख्न सकिने यो एक मात्र ग्रहण भएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएकाे छ ।
प्रतिक्रिया