• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्तः १५ सदस्यीय मन्त्रिमण्डल गठन (कसले पाए कुन मन्त्रालय ?)

प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्तः १५ सदस्यीय मन्त्रिमण्डल गठन (कसले पाए कुन मन्त्रालय ?)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बालेन्द्र शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । रास्वपाले एकल बहुमत ल्याएपछि संसदीय दलका नेता शाहलाई राष्ट्रपतिले संविधानको धारा ७६(१) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री वालेन्द्र शाहज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ ।’

गत फागुन २१ गते भएको निर्वाचनमा रास्वपाले १८२ सिट जित पारेको थियो । रास्वपाका सभापति रवि लामिछाने र शाहबीच बिहीबार मध्यरातिसम्म मन्त्रिपरिषद् टुंग्याउने विषयमा छलफल भएको थियो । शुक्रबार मध्याह्न १२:३४ बजेको शुभ साइतमा शाहले शितल निवासमा प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका थिए ।

बालेनले शुक्रबार नै मन्त्रिमण्डल गठन गरेका छन् । शितल निवासमा शपथग्रहण गरे लगत्तै शाहले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मन्त्रिपरिषदमा प्रधानमन्त्रीसहित १५ सदस्य रहेका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार अर्थमन्त्री उपसभापति डा. स्वर्णीम वाग्ले, गृहमन्त्रीमा सुधन गुरुङ, परराष्ट्रमा शिशिर खनाल, भौतिक पूर्वाधारमा सुनिल लम्साल, ऊर्जामा विराजभक्त श्रेष्ठ रहेका छन् ।

यस्तै पर्यटनमा खड्गराज पौडेल, शिक्षामा सस्मित पोखरेल, कानून न्याय तथा संसदीय मामिलामा सोबिता गौतम, सामान्य प्रशासनमा प्रतिभा रावल, सञ्‍चार तथा सूचना प्रविधिमा विक्रम तिमल्सिना, स्वास्थ्य तथा जनसंख्यामा निशा मेहता, कृषिमा गीता चौधरी, महिला तथा बालबालिकामा सीता बादी, मन्त्री दीपक शाह बनेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेर कार्यविभाजन गरेका छन् ।

जसअनुसार प्रधानमन्त्रीपछिको वरीयतामा अर्थमन्त्री स्वर्णिम वाग्ले रहेका छन् । यस्तै त्यसपछिको वरीयतामा गृहमन्त्री सुधन गुरुङ रहेका छन् । सबैभन्दा पछाडिको वरीयता महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीको रहेको छ ।



कालोटोपी कालोटोपी    
  • २०८२ चैत्र १३, शुक्रबार ११:४३
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP