• २०८३ कार्तिक ४ | Tue, 20 Oct 2026

पर्यटकीय गन्तव्य बन्दै रोशीको भूमेचुलीः नयाँ वर्षमा पर्यटकको भीड धेरै

पर्यटकीय गन्तव्य बन्दै रोशीको भूमेचुलीः नयाँ वर्षमा पर्यटकको भीड धेरै

ज्ञानमणि नेपाल कालाेटाेपी

राेशी । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं. ९ रजबास र महाभारत गाउँपालिका वडा नं. ४ को सीमानामा रहेको बुम्बगाङ(भूमेचुली)मा नयाँ वर्षको अवसरमा विशेष मेला लागेकाे छ । हरेक नेपाली नयाँ वर्षमा लाग्ने मेलामा काभ्रेका विभिन्न पालिकाका साथै छिमेकी जिल्लाहरु सिन्धुली, रामेछाप, मकवानपुरलगायतबाट आन्तरिक पर्यटक र भक्तजनहरुकाे उपस्थिती रहेकाे थियाे । राेशी गाउँपालिकाकै अग्लाे स्थानका रुपमा रहेकाे भूमेचुलीमा भुमेदेवकाे मन्दिर छ । सँगै विगत ४ वर्षदेखि आकर्षक भ्युटावर निर्माण गरिएकाे छ । यहाँबाट काभ्रेका विभिन्न पालिका, महाभारत तथा हिमालयकाे सुन्दर दृष्य अवलाेकन गर्न सकिने भएकाले आन्तरिक पर्यटककाे भीड बढ्न थालेकाे स्थानीयहरु बताउँछन् ।

यहाँ विशेषगरी हरेक नयाँ वर्ष, फागु पूर्णिमा तथा हरेक हप्ता मंगलबार र शनिबारका दिन मेला लाग्ने गरेकाे छ । रोशी र महाभारत गाउँपालिकालगायत आसपासका क्षेत्रहरुबाट सो ठाउँमा घुमेर आनन्द लिन र त्यहाँ रहेको मन्दिरमा दर्शन गर्न दर्शनार्थीहरु पुग्ने गरेका राेशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयाे । मनोकांक्षा पूरा गर्ने देवताको रुपमा सिंहदेवी गुरुजन भूमे देवताको पूजा गर्न र मनोरञ्जन लिनका लागि मानिसहरु बुम्बगाङ(भूमेचुली)मा पुग्ने गरेको उहाँले बताउनुभयो ।

परापूर्व कालदेखि नै मानिआएको देवताको रुपमा रहेको सो ठाउँमा आाफ्नो मनोकांक्षा पूरा गर्नका लागि स्थानीयहरुले पुजा गर्ने गरेकाे स्थानीय साधुराम राना मगरले जानकारी दिनुभयाे । यस क्षेत्रमा मानिसहरुले पहिलेदेखि नै आफ्नो गाउँमा कुनै पनि नराम्रो घटना र नोक्सान नहोस् र बस्तुभाउ एवं अन्नपानीको सुरक्षाको निमित्त सो ठाउँमा रहेको देवताको पूजा गर्दै आएको उहाँको भनाइ छ ।

पछिल्लो समयमा दृश्यावलोकन स्तम्भसमेत निर्माण भएकाे र बाटो पनि निर्माण भएपछि यहाँ मेला भर्न आउनेकाे संख्या बढेकाे हाे । तर वर्षायाममा भने त्यहाँ पुग्ने सडक त्यति भरपर्दाे नभएका कारण त्याे सिजनमा पर्यटकहरुकाे उपस्थिती कम हुने राेशी खाड्पाचाेकका स्थानीय छेवाङ लामाले बताउनुभयाे । पछिल्ला वर्षमा यहाँ पूर्वाधारका कामहरु भइरहेकाले आगामी दिनमा पर्यटकहरुकाे आगमन बढ्ने उहाँकाे अपेक्षा छ ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको बुम्बगाङ(भूमेचुली)मा मनोकांक्षा पूरा हुने विश्वासका साथ भाकल गरी पूजा र दर्शन गर्न जानेहरुकाे संख्या बढेकाे बताउनुभयाे । यहाँ अहिले गाउँपालिकाको समन्वय र बागमती प्रदेश सरकारको सहयोगमा त्यहाँसम्म पुग्ने मोटरबाटो र दृश्यावलोकन स्तम्भ निर्माण गरिसकेको बताउँदै उहाँले केही अधुरो रहेका पूर्वाधारलाई सम्पन्न गर्न प्रदेश पर्यटन मन्त्रालयसँग समन्वय गरेर पालिकाले थप काम गर्ने बताउनुभयो ।

‘पर्यटन र कृषि रोशीको दृष्टि’ भन्ने नाराका साथ काम गरिरहेको पालिकाले सम्भावित पर्यटकीय क्षेत्रको विकास गर्नका लागि पूर्वाधार विकासको काम गर्ने, प्रचार प्रसार गर्ने तथा मेला जात्रा लाग्ने ठाउँहरुमा संरक्षण प्रवर्द्धन र स्तरोन्नतीका लागि आवश्यक बजेटको व्यवस्थापन गर्दै आएको लामाले जानकारी दिनुभयाे । पालिकामा रहेका पर्यटकीयस्थलहरु बुम्बगाङ(भूमेचुली), ताराखसे लेक, तीनधारे झरनालगायतका पर्यटकीयस्थलको पूर्वाधार विकासका लागि पहुँचमार्ग विस्तार गरिसकेको उहाँ बताउनुहुन्छ।

बुम्बगाङ सो क्षेत्रको सबैभन्दा अग्लो ठाउँमा भएकाले सो ठाउँबाट अधिकांश हिमालहरु हेर्न सकिने र तराईका विभिन्न भूभाग एवं काठमाडौं उपत्यकाका केही भाग पनि हेर्न सकिने भएकाले सो ठाउँमा आन्तरिक पर्यटक पुग्ने गरेका हुन् । पछिल्लो समयमा विस्तारै सो ठाउँको प्रचार हुन थालेपछि टाढाटाढाका मानिसहरुसमेत त्यहाँ पुग्ने गरेका छन् । अझ सो ठाउँको धार्मिक र सांस्कृतिक पक्षको प्रचार प्रसार गर्न सकेमा पर्यटक तथा दर्शनार्थीको उपस्थिती बढ्ने स्थानीय बासिन्दाहरु बताउँछन् । तर यहाँ बिदेशी पर्यटकहरुकाे भने उपस्थिती नगन्य छ । यहाँ सबै खाले पूर्वाधारका काम सम्पन्न गर्नका लागि पालिकाले विशेष याेजना बनाइरहेकाे र आगामी दिनमा स्वदेशीका साथै बिदेशी पर्यटकहरुकाे आगमन बढाउने लक्ष्य रहेकाे अध्यक्ष लामाले जानकारी दिनुभयाे ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख १, मंगलवार १५:४२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP