काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेकाे छ । यतिबेला पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको छ भने तराईका जिल्लाहरूमा गर्मी बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली लागेकाे छ। गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षासमेत भइरहेको छ। अन्य पहाडी भेगमा आंशिक बादल लागे पनि तराई क्षेत्रको मौसम भने सामान्यतया सफा नै देखिन्छ।
विभागले शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । यी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा हुने देखिन्छ ।
यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च हिमाली भागका एक–दुई स्थानसमेत हल्का हिमपात हुन सक्नेछ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो हावाको सम्भावना रहेकाले जनजीवन प्रभावित हुन सक्ने देखिन्छ।
प्रतिक्रिया