काठमाडौँ । नेपाल र युएईबीचको दुई खेलको टी-२० अन्तर्राष्ट्रिय श्रृंखलाको दोस्रो खेलमा नेपाल ८ विकेटले विजयी भएको छ । जीतसँगै श्रृंखला १-१ को बराबरीमा सकियो । पहिलो खेलमा युएईले नेपाललाई ६ विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपालले जित्याे ।
मंगलबार टियू मैदान कीर्तिपुरमा सम्पन्न खेलमा युएईले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । नेपालको जीतमा ओपनर कुशल भुर्तेलले ८४ रनको अविजित इनिङ्स खेले । उनले ५७ बलमा १२ चौका र २ छक्का प्रहार गरेका थिए ।
त्यस्तै, कप्तान दिपेन्द्रसिंह ऐरीले १७ बलमा २३ रन बनाउँदा ३ चौका प्रहार गरेका थिए भने ओपनर कुशल मल्लले १९ रन बनाए । युएईका लागि निलन्स केशवानी र मुहम्मद अर्फानले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ४८ रन जोड्दै ६ विकेट गुमाए पनि पछिल्लो क्रमका ब्याटरहरु सम्हालिँदा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रनको मध्यम स्कोर बनाउन सफल भएको थियो ।
एक समय युएईले ७.५ ओभरमा ४८ रन जोड्दा आफ्ना ६ ब्याटर गुमाएको थियो । उसका शीर्ष क्रममा रहेका दुई खेलाडीबाहेक लगातार विकेट पतन भए पनि पाँचौं नम्बरका अक्षदीपले ५३ रनको अर्धशतकीय अविजित इनिङ्स खेलेका थिए । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिँदा हेमन्त धामीले २ विकेट तथा नन्दन यादव र शाहव आलमले समान १-१ विकेट लिएका थिए ।
प्रतिक्रिया