• २०८३ असार ३१ | Wed, 15 Jul 2026

जलवीरेमा स्वास्थ्य शिविर, ७६० ले लिए सेवाः जनशक्ति उत्पादनमा प्रदेशले जोड दिने

जलवीरेमा स्वास्थ्य शिविर, ७६० ले लिए सेवाः जनशक्ति उत्पादनमा प्रदेशले जोड दिने

सिन्धुपाल्चाेक । सिन्धुपाल्चाेककाे बलेफी गाउँपालिका-१ जलवीरेमा स्वास्थ्य शिविर सम्पन्न भएको छ । एकीकृत जनस्वास्थ्य तथा पोषण प्रवर्द्धन अभियान अन्तर्गत सेवा प्रवाह गरिएको हो । विशेषज्ञ चिकित्सकसहित जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा बलेफी गाउँपालिका लगायतको समन्वयमा जलवीरे प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित शिविरमा सामान्य चिकित्सा, बालरोग, नाक, कान, घाँटी, आँखा, दाँत, मुख, क्षयरोगको स्कृनिङ, एक्सरे सेवा, स्त्री तथा प्रसूति, स्वास्थ्य परीक्षण, उपचार र परामर्श सेवा तथा औषधि प्रदान गरिएको छ ।

शिविरको पहिलो दिन ७ सय ६० जनाले सेवा लिएको जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईले जानकारी दिनुभयो । ग्रामीण भेग र आर्थिक अभावका कारण अस्पताल जान नसकेका बिरामीले शिविरबाट लाभ लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख चेतन घिमिरेले बताउनुभयो । बिहीबार बलेफीको वडा नं ४ मा शिविर आयोजना गरिने उहाँले बताउनुभयो ।

कार्यक्रममा सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले स्वास्थ्य शिविरमा परिक्षणपछि कुनै रोग देखिए प्रदेश सरकारले सहयोग गरेर उपचार गरिने बताउनुभयो । बर्षौदेखिको रोगको उपचार होस भनेर शिविर बिगत बर्षझैँ आयोजना गरिएको उहाँको भनाइ छ । जलवीरे प्राथमिक स्वास्थ्य केन्द्रको भौतिक संरचना बनेको बताउँदै अब आधारभूत अस्पतालको रुपमा सन्चालन गर्न जनशक्ति, उपकरण लगायतका लागि छिमेकी पालिकाहरुलाई समन्वय सहकार्य गरेर अघि बढ्न आग्रह गर्दै यसमा प्रदेश सरकारले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जनशक्ति उत्पादनका लागि पढाई सुरु गरेको र व्यवस्थापन गरेर स्थानीय तहमा पुर्याउने उहाँकाे भनाइ थियाे ।

प्रदेश सरकारले बिभिन्न कार्यक्रममार्फत स्वास्थ्य क्षेत्रमा काम गरिरहेको बताउँदै मन्त्री थापा मगरले एक जिल्ला एक स्वास्थ्य शहर, एक पालिका एक नमुना स्वास्थ्य संस्था लगायत कार्यक्रम प्रदेशले सन्चालन गर्न थालेको जानकारी दिनुभयो । ९८ प्रकारका निःशुल्क औषधि कसरी प्रदेशका नागरिकलाई सहज र प्रभावकारीरुपमा पुर्याउन सकिन्छ भनेर सरकार लागि परेको उहाँको भनाइ छ । त्यस्तै कार्यक्रममा सम्बोधन गर्नुहुँदै बागमती प्रदेशसभा सदस्यहरु सरल सहयात्री पौडेल तथा अमृता नेपालले शिविर आयोजकप्रति धन्यवाद ज्ञापन गर्दै गाउँगाउँमा स्वास्थ्य शिविर सन्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँहरुले प्रदेश सरकारले यस क्षेत्रमा स्वास्थ्य संस्थाका लागि पर्याप्त जनशक्ति र उपकरण उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो ।

जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईंले मन्त्रालय तथा पालिकाको सहयोगमा गाउँगाउँमा शिविर सन्चालन गरिएको बताउँदै थप उपचारका लागि चौतारा, भक्तपुर, धुलिखेल लगायत अस्पतालमा रिफर गरिने बताउनुभयो । गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले अस्पतालको भौतिक संरचना भएपनि आधरभूत अस्पतालको रुपमा सन्चालनका लागि जनशक्ति र श्रोत अभाव रहेकाले प्रदेश सरकारलाई सहयोगका लागि आग्रह गर्नुभयो । उहाँले आवश्यक चिकित्सक, कर्मचारी तथा उपकरण उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्नुहुदैँ वडा नं १ का अध्यक्ष एवं जलवीरे प्राथमिक स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष हुपबहादुर खड्काले अस्पतालको भौतिक संरचना निर्माणसँगै अब आधरभूत अस्पतालको रुपमा सन्चालनका लागि आवश्यक जनशक्ति र उपकरणको अभाव रहेको बताउनुभयो ।



कालोटोपी कालोटोपी    
  • २०८३ बैशाख ९, बुधबार १५:२२
  • प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    सम्बन्धित समाचार
    TOP