पनौती, काभ्रे । पनौती स्वास्थ्य चौकीमा बिहीबार वातानुकूलित (एयर कन्डिसन्ड) खोप केन्द्रको उद्घाटन गरिएको छ । यससँगै पनौती स्वास्थ्य चौकी काभ्रे जिल्लाको तेस्रो तथा बागमती प्रदेशकै तेस्रो वातानुकूलित खोप केन्द्र सञ्चालन गर्ने स्वास्थ्य संस्था बनेको छ ।
कार्यक्रमका अवसरमा खोपासी अस्पताल, सुनथान प्राथमिक स्वास्थ्य केन्द्र (PHC) तथा कुशादेवी स्वास्थ्य चौकीमा नियमित खोप कार्यक्रम तथा VPD Surveillance सम्बन्धी संयुक्त अनुगमनसमेत गरिएको थियो ।
जनस्वास्थ्य कार्यालय काभ्रेका खोप अधिकृत पार्थमणि न्यौपानेका अनुसार पनौती स्वास्थ्य चौकीमा वातानुकूलित खोप केन्द्र सञ्चालनमा आउनु जिल्लाको खोप सेवाको गुणस्तर सुधारका लागि महत्वपूर्ण उपलब्धि हो । यस अवसरमा उहाँले पनौती नगरपालिका तथा स्वास्थ्य संस्थाको सम्पूर्ण परिवारलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
यसअघि काभ्रेको मण्डनदेउपुर नगरपालिका र बनेपा नगरपालिका वडा नं १, मा यस्ता वातानुकूलित खोप केन्द्र सञ्चालनमा आइसकेका छन् । अब पनौती स्वास्थ्य चौकी थपिएसँगै जिल्लामा यस्ता केन्द्रको संख्या तीन पुगेको छ ।
वातानुकूलित खोप केन्द्र सञ्चालनमा आएपछि खोपलाई आवश्यक तापक्रममा सुरक्षित राख्न सहज हुने, खोपको गुणस्तर कायम रहने तथा नागरिकले अझ सुरक्षित र प्रभावकारी खोप सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया