काठमाडौं । देशका अधिकांश स्थानहरूमा तापक्रम बढ्ने क्रममा छ । जल तथा मौसम विज्ञान विभागले केही दिनदेखि तराई क्षेत्रमा तापक्रम बढेसँगै गर्मी पनि बढिरहेको जनाएको छ । विभागले बिहीबार तराई भागमा तातो दिन तथा तातो लहर र हिमाली क्षेत्रमा वर्षाको पूर्वानुमान गरेको छ ।
विभागका अनुसार, दिउँसो देशका हिमाली भागमा साधारणतया बादल लाग्ने, पहाडी भागमा आंशिक बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
मधेसलगायत कोशी, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेको विभागले जनाएको छ ।
राति, कोशी प्रदेशका हिमाली र पहाडी भागलगायत वागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भागमा मौसम मुख्यतया सफा रहनेछ ।
प्रतिक्रिया