कालोटोपी डटकम
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा अवैध रूपमा बालुवा बोकेर हिँडिरहेका ६ वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएका टिपरलाई आवश्यक कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा पठाएको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार साउन २६ गते प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरी टोलीले पाँचखाल नगरपालिका–४, तामाघाटस्थित सडकखण्डबाट अवैध बालुवा बोकेर ल्याउँदै गरेका ६ वटा टिपर नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएका टिपरमा बा.प्र. ०८–००१ ख ०२२३, बा.प्र. ०१–००४ क २०६५, बा ३ क ३५२३, बा.प्र. ०१–००१ ख २६७८, बा ५ ख २१२०, बा.प्र. ०३–००१ ख ४९०१, लगायतका नम्बरका टिपर रहेको प्रेस नोटमा उल्लेख गरेको छ । नियन्त्रणमा लिइएका टिपरलाई आवश्यक कारबाहीका लागि भुम्लु गाउँपालिकाको कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ । गाउँपालिकाले प्रत्येक टिपरलाई २० हजार रुपैयाँका दरले जरिवाना गरेको छ ।
६ वटा टिपरबाट गरी कुल १ लाख २० हजार रुपैयाँ (एक लाख बीस हजार रुपैयाँ) जरिवाना गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।
प्रहरीले नदीजन्य तथा प्राकृतिक स्रोतको अवैध उत्खनन, ओसारपसार तथा बिक्री–वितरण नियन्त्रणका लागि निगरानीलाई निरन्तरता दिइरहेको जनाएको छ । अवैध रूपमा बालुवा, गिट्टी तथा ढुंगा ओसारपसार गर्ने सवारीसाधनमाथि कारबाहीलाई थप प्रभावकारी बनाइने प्रहरीको भनाइ छ ।
प्रतिक्रिया