धुलिखेल । जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेले वैशाख १५ गतेदेखि राष्ट्रिय पोषण लेखाजोखा अभियान–२०८३ शुरु गरेको छ । अभियान वैशाख ३० गतेसम्म संचालन हुनेछ ।
यस अभियानमा जिल्लाका २३ हजार २८४ जना बालबालिकाहरुलाई सहभागी गराइँदैछ । जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका जनस्वास्थ्य अधिकृत दिपेन्द्रकाजी श्रेष्ठले दिनुभएको जानकारी अनुसार अभियान अन्तर्गत ६ महिनादेखि ५९ महिनासम्म उमेर समूहका बालबालिकाको पाखुरा नाप, उमेर अनुसारको तौल र उमेर अनुसारको उचाईका आधारमा पोषणको लेखाजोखा गरिन्छ ।
यस्तै ६ महिनादेखि २३ महिनासम्मका ७ हजार ४२७ जना बालबालिकालाई बालभिटासमेत वितरण गरिने बताइएको छ । स्वास्थ्य संस्थाबाट तोकिएको समय र मितिमा सेवा लिन कार्यालयले सबैमा अनुरोध गरेको छ ।
जनस्वास्थ्य अधिकृत श्रेष्ठका अनुसार ६ महिनादेखि ५९ महिनासम्म उमेर समूहका बालबालिका जिल्लाको चौंरीदेउराली गाउँपालिकामा ७६१ जना रहेका छन् । यस्तै भुम्लु गाउँपालिकामा ८१२ जना, मण्डनदेउपुर नगरपालिकामा २ हजार ३४ जना, बनेपामा ४ हजार ४८५ जना, धुलिखेलमा २ हजार २१६ जना र पाँचखालमा २ हजार २८७ जना रहेका छन् ।

यसैगरि तेमालमा ९६४ जना, नमोबुद्धमा १ हजार ६९९ जना, पनौतीमा ३ हजार २४६ जना, बेथानचोकमा १ हजार २१ जना, रोशीमा १ हजार ४५९ जना, महाभारतमा १ हजार २५१ जना र खानीखोलामा १ हजार ५९ जना गरि २३ हजार २८४ जना रहेका छन् । उल्लेखित बालबालिकाहरुलाई यस अभियानमा समेट्ने गरि कार्यक्रम अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया